प्रहरी महानिरीक्षक र काठमाडौंका सिडिओको पक्षमा प्रचण्डको चट्टानी अडान, रविले के गर्लान् ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सार्वजनिक मञ्चबाटै प्रहरी महानिरीक्षक (आईजीपी) नफेरिने अभिव्यक्ति दिए । चितवनबाटै उनले एक कदम अगाडि बढ्दै आईजीपी फेरिने कुरा हल्ला मात्रै भएको टिप्पणी गरे ।

प्रधानमन्त्री दाहालले ३ वटै प्रहरी संगठनका प्रमुखलाई बोलाएर ढुक्कसँग काम गर्न निर्देशन दिएको स्मरण गराए । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरलाई हटाउने चर्चाका बीच प्रधानमन्त्री दाहालको अभिव्यक्ति आएको हो । त्यो पनि गृह जिल्ला चितवन पुगेर । जसरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई विराटनगर पुगेर अभिव्यक्ति दिएका थिए । प्रचण्डले त्यहिँ शैली अपनाएका छन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आईजीपी कुँवरलाई हटाएर श्यामलाल ज्ञवाली ल्याउन लागेको चर्चा चलिरहेको छ । त्यसैले प्रचण्डको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर निर्वाचन आयोगको  आयुक्तमा पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठ निकट कृष्णमान प्रधानलाई सिफारिस गरेका प्रचण्डले कांग्रेस निकट भनेर परिचित कुँवरको पक्षमा चट्टानी अडान लिएका छन् । बजेटमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्टि र रास्वपाका मन्त्रीहरुको खल्तीमा राजीनामा प्रकरणले प्रचण्ड झस्किएका छन् । त्यसैले उनको हिमचिम देउवासँग बढ्दै गएको अनुमान लगाउन सकिन्छ ।

रविले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई पनि हटाउन खोजेका छन् । उनको ठाउँमा भीष्मप्रसाद भुसाललाई पठाउने उनको तयारी बुझिन्छ । तर, प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई नहटाउन दबाब दिएका छन् । यसले पनि प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच टसल सुरु भएको संकेत मिल्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #गृहमन्त्री रवि लामिछाने, #जितेन्द्र बस्नेत, #बसन्त कुँवर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ