सुशासन कायम गर्ने जिम्मेवारी अख्तियारको मात्रै हो कि मुख्यसचिवको पनि ?


काठमाडौं । टेरामक्स, बिलिङ सिस्टमदेखि अन्त:शुल्क स्टिकर खरिद घोटालामा जोडिएका डा. बैकुण्ठ अर्याल नेपाल सरकारको मुख्यसचिव पदमा कार्यरत छन् । तत्कालीन सञ्चारमन्त्रीको हैसियतमा उनी विभिन्न घोटालामा बयान दिन लगातार अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेका व्यक्ति हुन् ।

मुख्यसचिव अर्याल केही दिन अगाडि टेरामक्स काण्डमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भैंसेपाटीस्थित निवासमा रात्रीभोजमा सरिक भएपछि उनको भूमिकामाथि थप प्रश्न उठेको छ । पूर्वमन्त्री कार्कीले आमाको जन्मदिनको अवसरमा आफन्तलाई बोलाएका थिए । ‘गोरू बेचेको साइनो’ पनि नभएका मुख्यसचिव अर्याल रात्रीकालीन जमघटमा कार्की निवास भैंसेपाटी पुगेका हुन् ।

कार्की र अर्याल दुबै जना टेरामक्स खरिद घोटालामा अख्तियार पुगेर बयान दिएका पात्र हुन् । उनीसँगै मुछिएका कार्कीको निवासमा खुसुखुसु जानुले मुख्यसचिव अर्यालको भूमिकामाथि प्रश्न उठेको छ । सुशासन कायम गर्ने मुख्य भूमिका नै मुख्यसचिवको हो । तर, अख्तियारले सुशासनका लागि पठाएका पत्र र गरेका परिपत्रलाई मुख्यसचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै गायबै बनाइदिने गरेको आरोप लाग्दै आएको छ । यसले सुशासन कायम गर्ने जिम्मेवारी अख्तियारको मात्रै हो कि मुख्यसचिवको पनि भन्ने प्रश्न उठ्न थालेको हो ।

कार्की निवासमा आयोजित रात्रीभोजमा मुख्यसचिव कार्की र पूर्वरक्षा सचिव रेश्मिराज पाण्डे, महेश गुरागाईं, पूर्व प्रहरी महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र धीरजप्रताप सिंहलगायतका भीआईपीहरुको उपस्थिति रहेको थियो । अख्तियारको आयुक्त ताकिरहेका पूर्वआईजीपी सिंह पनि मुख्यसचिव अर्याल जस्तै अख्तियारको छानबिन दायरामा रहेका व्यक्ति हुन् ।

अख्तियारको अहिलेको टिमलाई हटाएर राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी खनाललाई प्रमुख आयुक्त र सिंहलगायतलाई आयुक्त बनाउने समूह नै पूर्वमन्त्री कार्की निवासमा आयोजित रात्रीभोजमा रमाएको स्रोतको दाबी छ । अझ रोचक त प्रहरी संगठनभित्र हुँदा एकअर्कालाई मन नपराउने उपेन्द्रकान्त अर्याल र धीरजप्रताप सिंह एकै ठाउँमा भेला हुनुलाई धेरैले अचम्म मानेका छन् ।

शासन र प्रशासनमा सुशासन कायम गर्ने पहिलो जिम्मा मुख्यसचिवको हो । तर, कुशासनले घेरिएका र अख्तियारको छानबिन दायरामा रहेका अर्याल मुलुकको मुख्यसचिव रहेका छन् । अख्तियारका सम्भावित अभियुक्तहरु रात्रीभजमा एक ठाउँमा उभिनुले उनको भूमिकाको आलोचना सुरु भएको छ । यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तत्काल ध्यानाकर्षण हुन जरूरी देखिन्छ ।

 

 

क्याटेगोरी : विविध, समाचार, सुशासन
ट्याग : #मुख्यसचिव डा. बैकुण्ठ अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ