सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदूत अस्वीकार गर्नुको अन्तर्य


काठमाडौं । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले दक्षिण कोरियामा सुशील प्याकुरेलसहित राजदूतका लागि ८ जनाको नाम सिफारिस गऱ्यो । इन्सेक नामको एनजीओको संस्थापक अध्यक्ष प्याकुरेलसहित नेकपा एमालेका तर्फबाट ३ जना एनजीओकर्मी राजदूतमा सिफारिस भएका थिए । राजदूतमा सिफारिस हुने एनजीओकर्मीमा गैर-सरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष डा. नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र सिविनकी कार्यकारी निर्देशक सुम्निमा तुलाधर (डेनमार्क) रहेका थिए ।

एमालेले राजनीतिलाई जस्तै कुटनीतिलाई पनि एनजीओकरण गरेको आरोप लाग्न थालेको छ । यसैबीच दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले प्रेस विज्ञप्ति जारी गर्दै उक्त देशको राजदूत बन्न अस्वीकार गरेको उल्लेख गरेका छन् ।  उनले राजदूत पद अस्वीकार गरेपछि वाहीवाहीती कमाइरहेका छन् ।

‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु’, दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका प्याकुरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा राजनीतिक तथा मानवअधिकार विज्ञ सल्लाहकार रहिसकेका प्याकुरेलले रुचि अनुसारको देशको राजदूत नपाएपछि अस्वीकार गरेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतमा अनुसार प्याकुरेलले भारत वा अमेरिकामध्ये एक देशको राजदूत खोजेका थिए । तर, उनलाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै त्यहाँ नजाने घोषणा गरेका छन् । भारतकाे राजदूतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएपछि प्याकुरेल रुष्ट बनेको स्रोतको भनाइ छ ।

राष्ट्रपतिको सल्लाहकार भइसकेको आफ्नो पृष्ठभूमिलाई अवमूल्यन गरेर भारत वा अमेरिकाको राजदूत नबनाइ दक्षिण कोरियाका लागि सिफारिस गरेको भन्दै प्याकुरेलले दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार गरेको पाइन्छ । सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श गरेर मात्र आफूलाई राजदूत सिफारिस गर्नु पर्ने उनको आशय छ ।  एमालेमा आफ्नो जतिको योगदान नै नभएका तरमारा तथा अवसरवादी रेग्मी र घिमिरेलाई महत्त्वपूर्ण देश दिएर आफूलाई तुलानात्मक रूपमा सामान्य देशको राजदूतमा सिफारिस गरेको भन्दै प्याकुरेलले राजदूत नखाने बताएको उनी निकट व्यक्ति हरू बताउँछन् ।

एनजीओकर्मी भएकाले कामदार पठाउने देश दक्षिण कोरियामा राजदूत हुँदा उक्त देशबाट प्याकुरेलले खासै लाभ लिन सक्ने देखिँदैन । राजनीति हिसाबले भारत र अन्य हिसाबले अमेरिका र बेलायतको राजदूत हुन खोजिरहेका प्याकुरेल दक्षिण कोरियामा सिफारिस भएपछि हिच्किचाएका हुन् । त्यसैले उनले दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार गरेका छन् । स्वार्थविपरीतको देशमा राजदूत सिफारिस भएपछि अस्वीकार गरेका प्याकुरेलले समाजिक सञ्जालमा बेफ्वाकमा प्रशंसा बटुलिरहेका छन् ।  सरकारले एनजीओवालालाई राजदूत जस्ता राजनीतिक र संवैधानिक नियुक्तिमा निषेध गर्न जरुरी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेल, #एनजीओकर्मी, #राजदूत दक्षिण कोरिया

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ