विकल र सुनिलको मतियार बन्दा तेस्रो भ्रष्टाचार मुद्दा लागेका सफल श्रेष्ठ


काठमाडौं । आईटी माफिया सुनिल पौडेल र विकल पौडेलको मतियार बन्दा सूचना प्रविधि केन्द्रका निलम्बित निर्देशक सफल श्रेष्ठले भ्रष्टाचारको तेस्रो मुद्दा झेल्नु परेको छ । सुनिल र विकलको ‘एस-म्यान’ बन्दा उनलाई अहिलेसम्म तेस्रो भ्रष्टाचारको मुद्दा लागेको हो ।

सुनिल पौडेल जोडिएको ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ गेटवेमा पहिलो भ्रष्टाचार मुद्दा लागेका सफल विकल पौडेलसँग जोडिएका दुईवटा भ्रष्टाचारका मुद्दामा पनि प्रतिवादी बनेका छन् । हालै मुख्यसचिव डा. बैकुण्ठ अर्याल जोडिएको अन्तःशुल्क स्टिकर छपाइ ठेक्काको भ्रष्टाचार मुद्दामा पनि सफल प्रतिवादी बनेका हुन् ।  त्यस अगाडि सुरक्षण मुद्रण केन्द्रले अकबर हुसेनको म्याक्स इन्टरनेसनलसँग ४१ करोडको उपकरण खरिद गर्दा भएको भ्रष्टाचार मुद्दामा पनि सूचना प्रविधि केन्द्रका निर्देशकको भूमिकामा उनी प्रतिवादी बनेका थिए । उक्त भ्रष्टाचार मुद्दा विकलका लागि तेस्रो र सफलका लागि दोस्रो थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको अन्त:शुल्क स्टिकर छपाइ घोटालामा पनि सफललाई प्रतिवादी बनाएपछि उनी तेस्रो भ्रष्टाचारको मुद्दा झेल्न बाध्य भए ।सुनिलले दुईवटा भ्रष्टाचारको मुद्दा भेट्दा उनी मातहतमा काम गर्ने सफल तेस्रो भ्रष्टाचारको मुद्दा खेप्न बाध्य भएका हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको तर्फबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि भएर गएका सफललाई त्यहाँ पनि दुईवटा भ्रष्टाचारका मुद्दा लागिसकेको छ । अझै केही थान मुद्दा जाने सम्भावना छ । सफलसँगै शाखा अधिकृत हरिबल्लब घिमिरेमाथि पनि विशेष अदालतमा दुईवटा भ्रष्टाचारका मुद्दा दायर भइसकेको छ ।

सुनिल पौडेल जोडिएको ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा सफल र अर्का सहायक निर्देशक रमेश पोखरेलले सफाइ पाइसकेका छन् । सुनिल र विकलले सफल र रमेशलाई औधी दुरुपयोग गर्ने गरेका थिए । जागिर छाड्ने कि हस्ताक्षर गर्ने भन्नेसम्मको धम्कि दिएर उनीहरुबाट पौडेलबन्धु सुनिल र विकलले काम लिने गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका भुक्तभोगीहरु नै बताउँछन् ।

गोरखा घर भएका सफल श्रेष्ठ केही समय राष्ट्रिय सूचना प्रविधि केन्द्रमा काम गरेर ‘मास्टर्स’ गर्न दक्षिण कोरिया गएका थिए । कोरियाबाट आईटीमा ‘मास्टर्स’ गरेपछि हुवावे जस्ता कम्पनीमा काम गरेर फेरि उनी नेपाल फर्किए । नेपाल फर्किएर राष्ट्रिय सूचना प्रविधि केन्द्रको निर्देशक बनेर काम गर्न थाले । सुनिल र विकलले जे अह्रायो त्यहिँ काम गर्ने गरेका सफल अहिले आफै भ्रष्टाचार मुद्दा लागेर अह्ररिएका छन् । छलकपट नगर्ने र छक्का पञ्जा नजान्ने गोरखाली सफल श्रेष्ठ आईटी माफियाको फन्दामा परेर धन्दा चलाउन थालेपछि भ्रष्टाचारको तेस्रो शिकार बनेका हुन् ।

आईटी माफिया विकल र सुनिलले अरुलाई प्रयोग गरेर राम्रै फाइदा लिएको देखिन्छ । म्याक्स इन्टरनेसनलका अकबर हुसेनले पनि सफललाई भरपुर उपयोग गरेको पाइन्छ । सुनिलपछि राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बन्ने लोभमा सफलले उनीहरूले अह्राएको सबै काम तमाम गरे । तर, केन्द्रको कार्यकारी निर्देशक भने तत्कालीन मुख्यसचिव (हाल राष्ट्रिय सुरक्षा सल्लाहकार) शंकरदास बैरागी खनालका सालीका छोरा प्रदीप शर्मा पौडेलले पड्काइदिए । कार्यकारी निर्देशकको लोभमा परेर विकल र सुनिलको मतियार बनेका सफल हेरेको हेरै भए । उनले उल्टै भ्रष्टाचार मुद्दा झेले ।

सफलले अझैं कतिवटा भ्रष्टाचार मुद्दा खेप्नु पर्ने हो थाहा छैन । आईटी माफिया विकल र सुनिलको संगतले सफलको जिन्दगी असफल बन्न पुगेको छ ।

 

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अकबर हुसेन, #अन्तःशुल्क स्टिकर भ्रष्टाचार, #राष्ट्रिय सूचना प्रविधि केन्द्र, #विकल पौडेल, #सफल श्रेष्ठ, #सुनिल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ