अख्तियारको नजरदेखि व्यापारीको आँखा लागेकासम्म महानिर्देशक बन्ने चर्चा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन गर्ने मन गरेका छन् । तर, उपयुक्त पात्र फेला पारेका छैनन् । निमित्त महानिर्देशक बनाउँदा विवाद आउँने भएकाले उनी स्वास्थ्यमा बसेर विवाद हुने काम गर्ने पक्षमा छैनन् ।
प्रमुख विशेषज्ञको दरबन्दी रहेको महानिर्देशकमा हाल बाहिर रहेका तीन जनामध्ये कसलाई बनाउने भन्नेमा टुंगो लागेको छैन । माफियाहरू भने आफू अनुकूलको व्यक्ति महानिर्देशक बनाउन लागेका छन् ।
व्यापारीहरू प्रमुख विशेषज्ञ डा. विकास देवकोटालाई बनाउन लागेका छन् । उनी महानिर्देशक र विभागको पुरै टिम परिवर्तन गरे १० करोडसम्म खर्च गर्ने बचन केही व्यापारीले मन्त्रीलाई दिएको बुझिएको छ । केही हप्ता अगाडि मात्रै बानेश्वरको एभरेष्ट होटलमा यस विषयमा व्यापारीसहितको छलफल भएको थियो । तर, मन्त्री पैसामा नियुक्ति गर्ने भन्दा पनि नतिजा देखाउने पक्षमा उभिएको देखिएको छ ।
‘बोकेको कुकुरले मृग मार्दैन’ भन्ने नेपाली उखान जस्तै व्यापारीले बोकेर हिँडेको व्यक्तिले स्वास्थ्यमा नतिजा दिन नसक्ने भन्दै डा. विकासलाई महानिर्देशक बन्ने बाटो तत्काललाई रोकिएको बुझिएको छ । विकास नेपाली कांग्रेस समर्थक भएकाले पनि उनलाई माफियाबाहेक अरुले यही सरकारको पालामा महानिर्देशक बनाउँन पहल गर्दैन ।
यता केही अन्तर्राष्ट्रिय माफिया र मन्त्रालयकै केही व्यक्ति अख्तियारले डाम्न लागेका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहलाई बनाउँदा हुने पक्षमा उभिएका छन् ।
बिनाप्रतिस्पर्धा एक अन्तर्राष्ट्रिय माफिया “युनोप्स” र तिनका मतियार नेपाल कन्ट्री मेनेजर कोमल कार्की र बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंका हेर्ने चाल्र्स रोचफर्डलाई ५४ करोड बढी सीधै दिएका थिए । उक्त डकुमेन्टहरू स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ । अझै ११ करोड बढीको केही काम भएको छैन । उक्त पैसाले थप खरिद गर्न पनि दिपेन्द्र जस्ता व्यक्तिको विभागमा खाँचो भएको विज्ञहरूले व्यङ्ग्य गरेका छन् । हुन त बुझ्ने भए दिपेन्द्र आफै जानेर पनि विभाग जाँदैनन् ।
यता नेकपा एमाले भने प्रमुख विशेषज्ञ डा. टङ्क बराकोटीलाई महानिर्देशक बनाउन लागेको छ । टङ्कको विषयमा भने मन्त्री र उनका नजिककाहरू केही लयल भएको बुझिएको छ । सचिव हुने दौडमा रहेका विकास, टङ्क र डा. संगीता मिश्र तिनै जनाले विभागको नेतृत्व लिन जरुरी भने छ । अहिलेसम्मको अवस्था हेर्दा वर्तमान महानिर्देशक डा. संगीता सचिव पदको गरिमा जोगाउन अब्बल देखिएकी छन् ।
नियम कानुनको परिधिभित्र रहेर उनले ‘तेरो मेरो’ नभनी काम गरेको अधिकारीहरू बताउँछन् । विभाग राम्रोसँग सञ्चालन गर्ने व्यक्ति सचिव भएर चलाउन सक्ने स्वास्थ्यका जानकारहरू बताउँछन् । भोलिको दिनमा को सचिव हुन्छ, अहिले भन्न सक्ने अवस्था छैन । त्यसैले महानिर्देशक नभएकाहरूले पनि यसको नेतृत्व लिएर अनुभव बटुल्न जरुरी छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस