नक्कली भुटानी शरणार्थी काण्डमा बेचन झा समातिएपछि आरजुको दौडधुप बढ्यो
काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका भारतीय मुलक व्यक्ति बेचन झा समातिएपछि कांग्रेस नेतृ आरजु राणा देउवाको दौडधुप बढेको छ । उक्त काण्डमा कांग्रेस नेताहरूलाई समन्वय गरेका झा समातिएपछि नेपाली कांग्रेसको शीर्ष तहमा भुईंचालो गएको हो ।
नेपालीलाई नकक्ली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन बिचौलिया रामशरण केसीमार्फत करोडौंको चेक र रकम झाले बुझेको प्रमाण प्रहरीमा पुगेको छ । उनले मन्त्रिपरिषद्बाट निर्णय गराउने भन्दै पैसा लिएको आरोप छ । नेपाली कांग्रेसका केही नेताले समेत झामार्फत पैसा बुझेको चर्चा छ । फरार रहेका झालाई पक्राउ गरेसँगै हल्लिखल्ली मच्चिएको हो ।
यता झा समातिएसँगै कांग्रेस नेतृ आरजु राणा देउवाले राजनीति दौडधुप बढाएकी छिन् । पति समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेकी हुन् । आरजु कै जोडबलमा देउवा बालकोट पुगेको चर्चा छ । उनीहरूबीच भएको साढे दुई घण्टे भेटघाटमा के कुराकानी भयो भन्ने स्पष्ट कुरा बाहिर आइसकेको छैन ।
नक्कली भुटानी शरणार्थी काण्डमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पनि झासँगै पक्राउ परेका छन् । बादल गृहमन्त्री हुँदा स्वकीय सचिव रहेका प्रतिक पक्राउ परेसँगै उक्त काण्डको अनुसन्धान रोचक मोडमा पुग्ने देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस