मुख्यसचिवको खोजीमा प्रधानमन्त्री प्रचण्ड, कसले मार्ला बाजी ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ मुख्यसचिवको खोजीमा लागेका छन् । गत असार दुई गते (आईतबार) मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेपछि निमित्तको भरमा चलिरहेको छ ।

निमित्त मुख्यसचिवको जिम्मेवारी कानुन तर्फकी सचिव लीलादेवी गड्तौलाले पाएकी छिन् । निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगका विशेष दरबन्दी सिर्जना गरेर नयाँ मुख्यसचिव बनाउने बाटो खोलिसकिएको छ । यस्तो अवस्थामा मुख्यसचिव निमित्तलाई धेरै छाड्नु हुँदैन भन्ने कुरामा प्रधानमन्त्री प्रचण्ड स्पष्ट रहेको उनी निकट स्रोत बताउँछ । त्यसैले आगामी मन्त्रिपरिषद्को बैठकले नयाँ मुख्यसचिव बनाउने सम्भावना रहेको स्रोतको दाबी छ ।

नयाँ मुख्यसचिवका लागि निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र गृह मन्त्रालयका सचिव एकनारायण अर्यालबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।

निमित्त मुख्यसचिव गड्तौला ५८ वर्षे उमेरहदका कारण यहीं भदौ १५ गते घर जाँदैछिन् । गृह मन्त्रालयका सचिव अर्याल अर्को मंसिरमा घर जाँदैछन् । उनी २०८२ मंसिर १० गते ५८ वर्ष पुग्नेछन् । त्यसैले अर्याल डेढ वर्ष पनि मुख्यसचिव नबन्ने देखिन्छ । राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली र सञ्चार सचिव रामकृष्ण सुवेदी मुख्य सचिव भए उनीहरु पनि साढे दुई वर्ष मात्र खाने देखिन्छन् । ३ वर्ष पुरा खाने भट्टराई मात्र देखिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले चाहेको व्यक्ति मुख्यसचिव हुने भएकाले उनले कसलाई चाहेका छन् मुख्यसचिव नियुक्ति गरेपछि थाहा हुनेछ । तर, उनी पूरा समयावधि चलाउनेलाई मुख्यसचिव बनाउनु पर्छ भन्नेमा स्पष्ट रहेको स्रोतले बतायो ।

क्याटेगोरी : समाचार
ट्याग : #गृहसचिव एकनारायण अर्याल, #तोयानारायण ज्ञवाली, #दिनेश भट्टराई, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #रामकृष्ण सुवेदी, #लीलादेवी गड्तौला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ