दातृ निकाय प्रति “गरम” बन्दै स्वास्थ्यमन्त्री


काठमाडौँ ।  गरिब देश भएको फाइदा उठाउँदै बिभिन्न दातृ निकायले खुलेआम हस्तक्षेप गर्न थालेपछी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप कुमार यादव केही “गरम” बन्दै गएका छन् । राज्यलाई आएको रकमको दुरुपयोग रोक्न उनले मन्त्रालय मातहतका प्रमुखहरूलाई बोलाएर निरन्तर छलफल चलाएका छन् । 

पछिल्लो समय ग्लोबल फन्डको विषयमा पनि मन्त्री आक्रोशित बनेका छन् । फ्रेमवर्क सम्झौतालाई लिएर उनले सरकारको तर्फबाट विरोध जनाएको सोमबार आयोजित एक कार्यक्रममा बताए । फ्रेमवर्क सम्झौताको विषय स्वास्थ्य लाइभले उठाए लगत्तै मन्त्रीले उक्त निर्णय लिन पहल कदमी थालेका हुन् । 

पत्रकार सम्मेलनमा मन्त्री यादवले फ्रेमवर्क सम्झौता नगर्ने र ग्लोबल फन्डको बजेट समेत आवश्यकता नरहेको भन्दै सहमति भङ्ग गर्न स्वास्थ्यको तर्फबाट निर्णय गरि पठाउने बताए । ग्लोबल फन्डको ६ अरब रुपैयाँ मध्ये राज्यले थोरै मात्रै पाएको भन्दै उनले बिचौलिया राखेर राज्यले सम्झौता गर्न नसक्ने दाबी गरे । नेपाली मिडिया जगतमा स्वास्थ्य लाइभले मात्रै दातृ निकायको बदमासीबारे निरन्तर आवाज उठाउँदै आएको छ । 

स्वास्थ्यमन्त्री यादवले आफ्ना कुरा राख्नुभन्दा पनि पत्रकारबाट राय सल्लाह लिएर अगाडि बढ्नका लागि कार्यक्रम आयोजना गरेका थिए । आफू आएपछि सुधारका अभियानहरू निरन्तर अगाडि बढाएको उनको दाबी छ । वर्षौ देखि एकै स्थानमा जरा गाडेर बसेका कर्मचारीहरूको सरुवा नहुँदा सम्म नतिजा नदेखिने निश्चित भएपछि मन्त्रीले लामो समय एकै स्थानमा बस्ने कर्मचारीलाई हटाउने बताएका छन् । उनले सल्लाह गरेरै कर्मचारी हटाउने भएकाले अहिल्यै तयारी भएर बस्न अनुरोध समेत गरेका छन् । 

मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले दुई अतिरिक्त सचिवको संयोजकत्वमा छुट्टा छुट्टै समिति गठन गरेका छन् । उक्त समितिले दिएको टिपोटका आधारमा निर्णय लिएर अगाडि बढ्ने बताए । उनले नागरिकको स्वास्थ्यका विषयमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे । औषधिको गुणस्तरमा कठोर भएर लागेको समेत प्रतिक्रिया दिएका छन् । आफूलाई केही समय काम गर्न दिएर मात्रै टिका टिप्पणी गर्न मन्त्रीले भनेका छन् । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ