प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त


काठमाडौं । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रतिनिधि सभाको सचिव नियुक्त गरेका हुन् ।

सोमबार सभामुख देवराज घिमिरेले अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सभामुख घिमिरेको सिफारिस अनुसार उनलाई राष्ट्रपति पौडेलले मंगलबार प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन् ।

विद्यमान कानुन अनुसार अधिकारीले २ वर्ष प्रतिनिधि सभाको सचिवका रूपमा काम गर्नेछन् । प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डे महासचिव बनेपछि उक्त पद रिक्त थियो । उक्त ठाउँमा सोमबार मात्र अधिकारी सिफारिस भएका थिए । मंगलबार उनलाई सचिवमा नियुक्त गरिएको हो ।

गत बैशाख १७ गते शिक्षा सचिवबाट अवकाश पाएका अधिकारी कोशी प्रदेशको लोकसेवा आयोग अध्यक्ष बन्ने चर्चा थियो । तर, उनी प्रतिनिधि सभाको सचिव बन्ने भएका हुन् । केही समय अगाडि मुख्यसचिव बन्ने चर्चामा रहेका अधिकारी तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई ढिला भ्रष्टाचारको मुद्दा लाग्दा उक्त अवसरबाट बञ्चित भएका थिए । उनले प्रतिनिधि सभाको सचिव हुने मौका पाएका छन् । उस्तै परे अधिकारी प्रतिनिधि सभाको महासचिव समेत बन्न सक्छन् ।

कोशी प्रदेशको प्रमुख सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, संघीय मामिला तथा सामन्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतका सचिव बनेर काम गरिसकेका अधिकारी निकै सरल प्रशासक हुन् । उनी समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिका रूपमा परिचित छन् । अधिकारी संखुवासभाका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ