स्वास्थ्यमन्त्री प्रदिप यादव राजीनामा दिने तयारीमा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादव राजीनामा दिने तयारीमा छन् । स्वास्थ्यमन्त्री यादवको जनता समाजवादी पार्टी (जसपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने भएसँगै उनले राजीनामा दिने तयारी थालेका हुन् ।

जसपाका महासचिव मोहम्मद इस्तियाक राईका अनुसार आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन लगाइने छ । कांग्रेस र एमालेबीच भएको गठबन्धलाई आफ्नो पार्टीले पनि समर्थन जनाउने भन्दै उनले जसपाका मन्त्रीले आजै राजीनामा दिने सम्भावना रहेको उनले बताए । अशोक राईले नेतृत्व गरेको उक्त पार्टीको पदाधिकारीको बैठक पनि बोलाउने तयारी छ । सम्भवतः पदाधिकारी बैठकबाट मन्त्रीलाई राजीनामा दिन लगाउने निर्णय हुनेछ ।

जसपाबाट प्रदिप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहेका छन् । उनीहरूको बिहीवार नै राजीनामा आउने सम्भावना छ । यद्यपि स्वास्थ्यमन्त्री यादवले भने राजीनामा दिने निर्णय भइनसकेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरू राजीनामा दिएर बाहिरिसकेका छन् । रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी भएका एमालेका मन्त्रीहरूले पार्टीको निर्देशन अनुसार बुधवार नै राजीनामा दिएका हुन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारबाट नहट्ने भएको छ । राजीनामा दिन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू प्रधानमन्त्री दाहालले सहयोग गर्नु पऱ्यो भनेपछि राजीनामा नदिई फर्किएका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्यमन्त्री प्रदीप यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ