बाबु कै नियति भोगे निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्यालले


काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचार अभियोग लागेर हाल निलम्बनमा परेका छन् । सुरक्षण मुद्रण केन्द्र मार्फत छपाइ प्रक्रिया अघि बढाइएको अन्त:शुल्क स्टिकर ठेक्कामा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएपछि हाल उनी निलम्बनमा परेका हुन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव विकास समितिको अध्यक्ष हुने व्यवस्था छ । त्यहीँ बेला आईटी माफिया विकल पौडेलसँग मिलेर बदमासी गर्दा बैकुण्ठ अर्याल फेला परेका हुन् । इतिहासमै पहिलोपल्ट भ्रष्टाचार मुद्दा लाग्ने मुख्यसचिवमा दर्ज भएका अर्याल दर्जन बढी भ्रष्टाचारका उजुरीमा अख्तियार धाइरहेका छन् ।

हुलाक सेवाबाट सरकारी सेवामा छिरेका बैकुण्ठ मुख्यसचिव बनेपछि भ्रष्टाचारमा डामिएका छन् । हुलाकबाटै सरकारी सेवामा छिरेर न्यायाधीश बनेर बदमासी गरेपछि राजीनामा दिएर सुइँकुच्चा ठोकेका आफ्नै बाबु रघुनाथको पदचाप पछ्याउँदा बैकुण्ठले त्यहिँ नियति भोग्नुपरेको छ ।

बाबुले जस्तो राजीनामा त बैकुण्ठले दिएनन् । तर, कर्म र फल भने उस्तै प्राप्त गरेका छन् । हुलाक सेवा कर्मचारीबाट अदालतको सहायक सचिव हुँदै पाल्पा जिल्ला न्यायाधीश बनेका काठमाडौं फर्पिङका रघुनाथ अर्याल (जो बैकुण्ठका बुवा हुन्) न्याय परिषद्को कारबाहीबाट जोगिन राजीनामा दिएर हिँडेका थिए ।

२०५७ सालतिर शिद्धबाबा घुम्न आएका २ जना भारतीयमध्ये एकजना भीरबाट खसेर मरेका थिए । अर्को साथीले नियतवस भीरबाट झारेर मारेको प्रहरी अनुसन्धानबाट पुष्टि भएपछि पाल्पा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भयो । तर, विदेशी नागरिक त्यो पनि ३ वर्षभन्दा बढी कैद सजाय माग दावी भएको कर्तव्य ज्यान मुद्दामा तत्कालीन जिल्ला न्यायाधीश रघुनाथले धरौटीमा छाड्ने आदेश दिएका थिए । त्यो आदेशविरुद्ध न्याय परिषद्‌मा गम्भीर न्यायिक विचलनको आरोपमा उजुरी परेपछि उनीमाथि छानबिन प्रक्रिया अघि बढ्यो । छानबिन समितिले न्यायाधीश रघुनाथलाई बर्खास्त गर्ने तयारी गरेपछि जागिर जाने निश्चित जस्तै थियो । त्यसको सुईको पाएका जिल्ला न्यायाधीश रघुनाथले पेन्सन जोगाउन र कारबाहीबाट जोगिन २०५८ वैशाख ५ गते न्यायाधीश पदबाट राजीनामा दिएर टाप ठोकेको पाइन्छ ।

रघुनाथका छोराको बैकुण्ठको नियति पनि त्यस्तै त हुन पुगेको देखिन्छ ।  बैकुण्ठकी छोरी र बहिनीज्वाईं अस्ट्रेलियामा बस्दै आएका छन् । उनीहरुलाई भेट्न बैकुण्ठ र उनका बाबुआमा अस्ट्रेलिया गइरहन्छन् । त्यसका लागि बैकुण्ठले ‘सी-लिंक ट्राभल एन्ड टुर’ मार्फत हवाइ टिकट काट्ने गरेका छन् । त्यो बापतको पैसा पनि पछिल्लो समय उनीसँगै भ्रष्टाचारमा प्रतिवादी बनेका विकल पौडेलले उक्त ट्राभलको खातामा जम्मा गरिदिएको प्रमाण सार्वजनिक भएको छ ।

बैकुण्ठ-विकलको लेनदेनमा जोडिएका ट्राभल सञ्चालकसहित विभिन्न व्यक्तिमाथि अख्तियारले बयान समेत लिइसकेको छ । बैकुण्ठमाथि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनमा समेत अनुसन्धान गरिरहेको पाइन्छ । उनको परिवारका अधिकांश सदस्य अस्ट्रेलिया बस्ने भएकाले त्यतै घर सम्पत्ति जोडेको समेत आशंका गर्ने प्रशस्तै आधारहरू देखिन्छन् ।

आईटी माफिया विकल पौडेलले उनीसँग आईटीका खरिद र लेनदेनमा जोडिएका प्रभावशाली राजनीतिज्ञ र उच्च प्रशासकहरूलाई दुबईमा भिल्ला समेत जोडिदिएको चर्चा सुनिन्छ । विकलले सिंगापुर र दुबईका कम्पनी मार्फत घुस लिने गरेका छन् । आईटीका ठूला खरिदमा विकललाई महत्त्वपूर्ण साथ दिएका बैठकुण्ठले उनीबाट लाभ लिएनन् भन्न सकिने अवस्था छैन ।

 

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #डा. बैकुण्ठ अर्याल, #निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #रघुनाथ अर्याल (तत्कालीन जिल्ला न्यायाधीश), #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ