नक्कली प्रमाणपत्रका आधारमा जागिर खाने होमियोप्याथी चिकित्सक साहविरुद्ध मुद्दा दायर
काठमाडौं । नक्कली प्रमाणपत्रका आधारमा जागिर खाने होमियोप्याथी चिकित्सक संगिताकुमारी साहविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरेको हो ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वर, महोत्तरीमा होमियोप्याथी चिकित्सक (अधिकृत आठौं) पदमा कार्यरत साह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
यस्तो छ अख्तियारको प्रेस विज्ञप्ति
जिल्ला महोत्तरी, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वरमा आठौँ तहको होमियोप्याथी चिकित्सक सेवा करार पदको विज्ञापनमा उत्तीर्ण संगिता कुमारी साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज संगिता कुमारी साहले बिहार संस्कृत शिक्षा बोर्डद्वारा संचालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तिर्ण गरेको भनी झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वर, महोत्तरीमा होमियोप्याथी चिकित्सक (अधिकृत आठौं) पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस