स्वास्थ्यकी देवकुमारीका दाइ महेन्द्र गुरागाईं कोशी लोकसेवा आयोगको अध्यक्ष बने


काठमाडौं । स्वास्थ्य सचिवबाट अवकाश भएकी देवकुमारीका दाइ महेन्द्र गुरागाईं कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा बनेका छन् ।  कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।

लोकसेवा आयोगको दोहोऱ्याएर सचिव भएका महेन्द्रलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले आईतबार नै प्रदेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेको थियो । मुख्यमन्त्रीको अध्यक्षमा हुने सिफारिस समितिमा सभामुख र विपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको उक्त समितिको बैठकले गरेको सिफारिसका आधारमा गुरागाईंलाई प्रदेश प्रमुख खापुङले कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।

नवनियुक्त लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले आइतबार नै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभन्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनी ६ वर्ष कोशी प्रदेश लोकसेवा आयोग अध्यक्षको भूमिकामा रहने छन् ।

गुरागाईं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव हुँदा  कोभिड १९ क्राईसिस म्यानेजमेन्ट कमिटी(सिसिएमसी)को संयोजक समेत रहेका थिए । उक्त समयमा स्वास्थ्य र सेना राम्रोसँग बुझेका गुरागाईं स्वास्थ्य र रक्षा मन्त्रालयको सचिव बन्ने अवसर छाडेर लोकसेवा आयोग नै फर्किएका थिए । लामो समय लोकसेवाको सचिव बनेर प्रधानमन्त्री कार्यालयमा पुगेर गुरागाईं मन्त्रालय सम्हाल्ने आँट नभएपछि फेरि लोकसेवा नै फर्किएको चर्चा हुँदै आएको छ । उनी प्रदेश लोकसेवा आयोग कै अध्यक्ष हुन सफल भएका छन् ।

कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षको चर्चामा रहेका सुरेश अधिकारी प्रतिनिधि सभा सचिव बनेपछि जनकराज दाहाल र गुरागाईंबीच मुख्य प्रतिस्पर्धा थियो । सूर्य गौतमले खासै रुचि नदेखाएपछि गुरागाईंको भाग्य चम्किएको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी समेत रहिसकेका आँटिला दाहाललाई हुती नभएका गुरागाईंले उछिनेर कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्ष बन्न सफल भएका छन् ।

कोशी प्रदेश लोकसेवा आयोग बन्नका लागि गुरागाईं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला, उद्धवप्रसाद थापालगायतलाई भेट्न पुगेका थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीदेखि अन्य नेतालाई मनाएर उनले लोकसेवा आयोगको अध्यक्ष पड्काएरै छाडे । गुरागाईं संघीय लोकसेवा आयोगको सचिवदेखि कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षसम्मको यात्रा तय गरेका छन् । लोकसेवा आयोगका पूर्वसचिव गुरागाईं कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्ष बनेर नयाँ परिचय दिलाउन सफल भएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #कोशी प्रदेश लोकसेवा आयोग, #कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, #महेन्द्र गुरागाईं, #स्वास्थ्य सचिव देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ