सुन तस्कर दाबासँग कनेक्सन भएका माओवादी सत्ताका तरमारा सहसचिव झलकरामलाई रविले किन जोगाए ?


काठमाडौं । तत्कालीन अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी सुन तस्कर दाबा छिरिङसँग कनेक्सनमा रहेको प्रमाण रवि लामिछानेले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएका थिए । रविले उक्त कुरा संसदमा समेत उठाएका थिए । तर, रवि गृहमन्त्री भएर आएपछि झलकराम अधिकारी फुक्काफाल भएका छन् । उल्टै उनलाई जोगाइएको छ ।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले विवादमा आउनेवित्तिकै झलकरामलाई अध्यागमनको महानिर्देशकको जिम्मेवारीबाट हटाएर प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)मार्फत अनुसन्धान गर्न लगाएका थिए । यद्यपि महान्यायाधिवक्ता दिलमणि पोखरेलको चलेखेलमा सरकारी वकील कार्यालयबाट उनलाई प्रतिवादीबाट नाम हटाएर उन्मुक्ति दिएको थियो । अहिले त झन् सिआईबीबाटै जोगाइएको आरोप लागेको छ ।

ठमेलको भियना होटलका सञ्चालक नेपाली नागरिकता लिएका चाईनिज दाबा छिरिङको ह्वाट्सएपमा पानीको कललगायतको फोटो झलकरामले पठाएको प्रमाण सार्वजनिक भएको थियो । उक्त प्रमाण सार्वजनिक गराउन हालका गृहमन्त्री रवि लामिछानेको महत्त्वपूर्ण भूमिका रहेको चर्च  छ । तर, उनै झलकराम अहिले सुदूरपश्चिम प्रदेशको अर्थ सचिव बनेर गएका छन् ।

झलकरामले सचिवमा बढुवा हुनका लागि चाहिने एसइडिपी (सिनियर एक्जुकेटिभ डेभलपमेन्ट प्रोग्राम) तालिममा लिइरहेका बेला गृहमन्त्रीको जिम्मेवारी रविले पाएका थिए । त्यसैबेला उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले उनीमाथि समेत अनुसन्धान गर्न सिफारिस गरेको तथ्य सार्वजनिक भएको थियो । न त उक्त प्रतिवेदन नै सार्वजनिक भयो न त झलकराममाथि अनुसन्धान नै ।

नारायणकाजीका पालामा अनुसन्धानको दायरामा ल्याएर जिम्मेवारीबिहीन बनाइएका माओवादी सत्ताका तरमारा सहसचिव झलकराम रविका पालामा अनुसन्धान नै नभइ प्रदेश अर्थ सचिवको जिम्मेवारी पाउन सफल भएका छन् । यो हिसाबले सुशासनका सवालमा रविभन्दा नारायणकाजी अगाडि रहेछन् भन्ने प्रस्ट हुन्छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा एसइडिपी तालिम लिएका सहसचिवहरू अवलोकन भ्रमणका लागि चिनको बेइजिङ जाने कार्यक्रम तय भइसकेको थियो । त्यसैबीचमा सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्री रवि लामिछाने समक्ष प्रतिवेदन बुझाएपछि सहसचिव झलकराम अधिकारी गायब भए । उनले सबैतिर सेटिङ मिलाएपछि चीन जाने अन्तिम दिन भिसा प्रोसेसिङका लागि झुल्किएका थिए । सुन आयोगको प्रतिवेदन कार्यान्वयन गर्छु भनेर गृहमन्त्री रवि तातेपछि झलकराम एक्कासी लापत्ता भएका थिए । तर, प्रतिवेदन अनुसार समातिएका कृष्णबहादुर महरा छुटेपछि पनि झलकराम चीनतर्फ प्रस्थान गरे । रवि सेलाएपछि अहिले त नेपाल ट्रष्टको कार्यालयबाट उनी सुदूरपश्चिम प्रदेशतिर प्रस्थान गरेका छन् ।

मुद्दाबाट जोगिदै आएका माओवादी सत्ताका तरमारा सहसचिव झलकराम अध्यागमनको महानिर्देशक मात्र होइन ठूला करदाता कार्यालयका प्रमुखदेखि झलकराम राजस्व अनुसन्धान विभागको महानिर्देशक समेत पड्काएका व्यक्ति हुन् । उनी आफू जोगिन जुनसुकै हदसम्म जान पनि तयार रहेका व्यक्तिका रूपमा परिचित छन् । त्यसैले उनलाई सुन तस्कार दाबा छिरिङको कनेक्सनबाट जोगाएर रिफ्रेसमेन्ट’का लागि सुदूरपश्चिम पठाइएको चर्चा छ ।

झलकरामको माओवादीसँग मात्र होइन कांग्रेस नेतृ आरजु राणा देउवासँग पनि उत्तिकै राम्रो सम्बन्ध रहेको बुझिन्छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, #गृहमन्त्री रवि लामिछाने, #झलकराम अधिकारी सहसचिव, #दाबा छिरिङ, #सुन तस्करी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ