प्रदिप यादव पुनः स्वास्थ्यमन्त्री बन्लान् त ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट राजीनामा दिएका प्रदिप यादव पुन: स्वास्थ्यमन्त्री बन्ने दौडधुपमा रहेको चर्चा छ । त्यसका लागि उनी हुनेवाला प्रधानमन्त्री केपी शर्मा ओलीसँग नियमित सम्पर्कमा रहेको बुझिन्छ ।

तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटाएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन गरी उनी स्वास्थ्यमन्त्री बनेका थिए । उपेन्द्र यादवलाई सत्ताबाट हटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदिपलाई स्वास्थ्यमन्त्री बनाए । उनै प्रदिप दाहाल नेतृत्वको सरकारबाट राजीनामा दिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा फेरि स्वास्थ्य बन्ने दौडमा लागेको चर्चा छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल एमाले अध्यक्ष ओलीले फुटाइदिएको आरोप लाग्दै आएको छ । एमाले सत्ताबाट हट्नेवित्तिकै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि प्रचण्डको साथ छाडेर बाहिरिएको हो । त्यसैले उक्त आरोपमा दम देखिन्छ ।

ओलीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई सरकारमा समेट्ने आश्वासन दिएका छन् । त्यसैले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्डको साथ नछाड्दा जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिइसकेको छ । उक्त पार्टीबाट मन्त्री बनेका प्रदिप यादव, नवलकिशोर साह सुडीले प्रधानमन्त्री पुचण्डलाई राजीनामा बुझाएर बाहिरिसकेका छन् । यसमा ओलीको आश्वासनले काम गरेको स्रोतको दाबी छ ।

ओलीले उपेन्द्र यादवलाई खासै रुचाएका छैनन् । त्यसको विकल्पका रुपमा उनले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई अघि सार्न खोजेका छन् । त्यसैले ओली नेतृत्वको सरकारमा उक्त पार्टीले स्वास्थ्य मन्त्रालय पाए मन्त्री बन्ने प्रदिप कै समभाव बढी देखिन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ