यी हुन् कांग्रेसबाट मन्त्री बन्ने सम्भावित अनुहार, स्वास्थ्यमा प्रदिप जान सक्छन्


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहीँ असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिन कार्यतालिका रहेको छ ।

कांग्रेस र एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्व सरकार गठन गर्ने सहमति गरिसकेका छन् । त्यसैले ‘प्रचण्ड’ले विश्वासको मत पाउन कुनै सम्भावना देखिँदैन । कुनै चमत्कार नभए ओली चौथोपटक नेपालको प्रधानमन्त्री बन्दै छन् ।

ओली नेतृत्वको सरकारमा जानका लागि नेपाली कांग्रसभित्र तीव्र दौडधुप सुरु भएको छ । कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जानका लागि प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइरालालगायतका व्यक्तिको नाम चर्चामा आएको छ ।

१४ औं महाधिवेशनमा देउवालाई प्रधानमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेका प्रकाशमानले कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने सम्भावना प्रवल छ । प्रचण्ड नेतृत्व कै सरकारमा प्रकाशमानको नाम आएको थियो । तर, उपसभापति पूर्णबहादुर खड्काले बाटो छेकेपछि देउवाले अर्कोपटक भनेर प्रकाशमानलाई आश्वासन दिएको चर्चा थियो । त्यसैले अहिले प्रकाशमान सम्भावित पात्र हुन् । कृष्णप्रसाद सिटौलाले आफू सरकारमा जाने पक्षमा नरहेको सार्वजनिक अभिव्यक्ति दिएकाले पनि प्रकाशमानलाई सहज भएको छ ।

एमाले-कांग्रेस गठबन्धन बनाउन मुख्य भूमिका खेल्ने रमेश लेखक ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने निश्चित जस्तै देखिन्छ । उनी गृहमन्त्रीका प्रमुख दाबेदार हुन् । ज्ञानेन्द्रबहादुर कार्की तत्काल मन्त्री बन्ने सम्भावना नरहेकाले गृहमा लेखक कै सम्भावना रहेको कांग्रेस नेताहरु बताउँछन् ।

कांग्रेस नेतृ आरजु राणा ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने लबिइङमा छिन् । उनी परराष्ट्रमन्त्री बन्ने चर्चा छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारमा आरजुलाई सहभागी गराउँदा विवाद हुने भएकाले ओली नेतृत्वको सरकारमा पठाउने प्रवल सम्भावना छ ।

डा. शशांक कोइराला आफै सरकारमा नगए दिपक खड्का मन्त्री बन्ने सम्भावना छ । डा. शशांकसँग राम्रो सम्बन्ध भएका दिपक गिरी र दिपक खड्कामध्ये एक जना मन्त्री बनाउँदा खड्काले नै बाजी मार्ने सम्भावना देखिन्छ ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मन्त्री नबने प्रदिप पौडेलको भाग्य चम्किने देखिन्छ। गगन र विश्वले आफूहरू नबनेको खण्डमा प्रदिपलाई मन्त्री बनाउने निश्चित जस्तै छ । कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परे प्रदिप नै स्वास्थ्यमन्त्री बन्ने प्रवल सम्भावना छ ।

डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार, डा. सुनिल शर्माहरु मन्त्री बन्ने लबिइङमा छन् । विनोद चौधरी नै उद्योगमन्त्रीका लागि दौडधुप गरिरहेको चर्चा छ । बद्री पाण्डे, किशोरसिंह राठौर, जितजंग बस्नेत, उदय शम्शेर राणा, चन्द्र भण्डारी, तेजुलाल चौधरी, ईश्वरी न्यौपानेलगायतका सांसदहरू कांग्रेसबाट मन्त्री बन्ने सम्भावित उम्मेदवार हुन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ