मुख्यमन्त्री दीर्घराज सोडारीकी पत्नी गीता भ्रष्टाचारी ठहर, सोडारी पनि अख्तियार धाउँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीकी पत्नी गीता सोडारी नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा दोषी ठहर भएकी छिन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सोडारीलाई दोषी ठहर गरेको हो । गीतालाई ६ महिना कैद र १० हजार जरिवाना हुने विशेष अदालतको फैसाला छ ।
गीता धनगढी-९ स्थित शिव माविमा शिक्षिका गीतामाथि नक्कली प्रमाणपत्र पेश गरेर शिक्षकको जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। उनले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको प्रमाणपत्र पेश गरेको र उक्त प्रमाणपत्र नक्कली भएको अख्तियारको दाबी थियो । विशेष अदालतले अख्तियारको दाबी सही ठहर्याएको छ ।
अख्तियारले मुख्यमन्त्री सोडारीमाथि पनि भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेशको समाजिक विकास र भौतिक पूर्वाधार विकासमन्त्री हुँदा विभिन्न विकास आयोजना तथा कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारले उनीमाथि विस्तृत अनुसन्धान गरिरहेको छ । सोडारी पटकपटक अख्तियार पुगेर बयान समेत दिएका छन् ।
हाल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री रहेका सोडारीकी श्रीमती भने विशेष अदालतबाट बिहीबार दोषी ठहर भएकी छिन् । अब भ्रष्टाचारको मुद्दा लाग्ने पालो मुख्यमन्त्री सोडारीको रहेको अख्तियार स्रोतको दाबी छ ।
सोडारी नेकपा एकीकृत समाजवादीका नेता समेत हुन् । २०७७ सालमा महिलासँगको अश्लील संवाद बाहिरिएपछि उनी मन्त्रीबाट हटाइएका थिए। तत्कालीन नेकपाले उनलाई निलम्बन गरेको थियो। नेकपाबाट एमाले हुँदै एकीकृत समाजवादीमा पुगेपछि सोडारी फुक्काफाल भएका थिए । उनलाई एमालेले मुख्यमन्त्रीमा समर्थन नगर्ने जनाएपनि अन्तिममा बाध्य भएर स्वीकार गरेको थियो । अहिले सोडारीको मुख्यमन्त्री पद मात्र धरापमा परेको छैन श्रीमतीको जागिर पनि चैट भएको छ । सोडारी आफै भ्रष्टाचार मुद्दाको सम्मुखमा देखिन्छन् ।
क्याटेगोरी : समाचारट्याग : #गीता सोडारी, #दीर्घ सोडारी मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश, #नक्कली शैक्षिक प्रमाणपत्र
तपाईको प्रतिक्रिया दिनुहोस