प्रकाशमानका लागि स्वास्थ्य, सहरी र पर्यटनमध्ये एक मन्त्रालय उपयुक्त
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबार बिहान ११ बजे सपथ ग्रहण हुँदैछ । त्यसका लागि शीतल निवासले सम्पूर्ण तयारी पूरा गरेको छ ।
प्रधानमन्त्री ओलीले सपथ ग्रहणलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने छन् । उनको मन्त्रिमण्डलमा २ जना उपप्रधानमन्त्री रहने लगभग टुंगो लागेको छ । ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसका तर्फबाट प्रकाशमान सिंहले नेतृत्व गरेर जाने तय भएको छ । तर, उनले कुन मन्त्रालय पाउने अझै टुंगो लागेको छैन ।
नेपाली कांग्रेसको भागमा परेको शक्तिशाली मन्त्रालय गृह रमेश लेखकले पाउने निश्चित जस्तै छ । परराष्ट्रमा आरजु राणा देउवा जाने कुरा छ । त्यो बाहेक प्रकाशमानले अन्य मन्त्रालय रोज्नु पर्ने देखिन्छ ।
गृह र परराष्ट्रबाहेक कांग्रेसको भागमा स्वास्थ्य तथा जनसंख्या, सहरी विकास ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा, जलस्रोत तथा सिंचाई, कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय परेको चर्चा छ ।
काठमाडौंका रैथाने प्रकाशमानका लागि स्वास्थ्य, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमध्ये १ उपयुक्त हुने देखिन्छ । मुलुकको राजधानी काठमाडौंमा धेरै स्वास्थ्य संस्था भएको र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन र सुधार गर्नुपर्ने भएकाले स्वास्थ्य मन्त्रालय उनका लागि अयुक्त हुन्छ । उपेन्द्र यादवले पनि उपप्रधानसहित स्वास्थ्य मन्त्रालय सम्हालेकाले प्रकाशमानले उक्त मन्त्रालयमा गएर धेरै थोक गर्न सक्छन् ।
स्वास्थ्यपछि काठमाडौं उपत्यकाको विकासका लागि उपयुक्त रहेको सहरी विकास प्रकाशमानका लागि सबैभन्दा उपयुक्त हो । प्रकाशमानको क्षेत्रमा रहेको धोबीखोला र बागमती करिडोर तथा उक्त क्षेत्रको विकास र विस्तारका लागि सहरी विकास मन्त्रालयले काम गर्दै आएको छ । बागमती सभ्यता र समग्र सहरी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिने सहरी विकास मन्त्रालय भएकाले प्रकाशमानका लागि सहरी विकास मन्त्रालय पनि उपयुक्त हुन्छ ।
स्वास्थ्य र सहरीबाहेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि प्रकाशमानका लागि उपयुक्त हुन्छ । काठमाडौं कला संस्कृति, पर्यटन, सम्पदा र परम्पराले भरिपूर्ण ठाउँ हो । पशुपतिनाथदेखि स्वयम्भु, पाटनदेखि भक्तपुर काठमाडौं उपत्यकामै पर्छ । धर्मकर्ममा पनि प्रकाशमान उत्तिकै रूचि राख्छन् । त्यसैले काठमाडौं उपत्यका प्रभावशाली नेता प्रकाशमानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि उपयुक्त नै देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस