नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारीले दिए राजीनामा


काठमाडौं । नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारीले राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिव अधिकारीले दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ। अब उनको ठाउँमा रक्षा मन्त्रालयका सहसचिव आलोकचन्द्र श्रेष्ठको बढुवा हुनेछ।

नेपाल न्याय सेवा/कानुन समूहका सचिव अधिकारी ५८ वर्षे उमेर हदका कारण मंसिर २८ गते घर जाने सूचीमा थिए । तर, उनले ६ महिना अगाडि नै सचिवबाट राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन नभएको भए वरिष्ठ सहसचिवको हैसियतमा उनै सचिवमा बढुवा हुने थिए । तर, उनको दुःखद निधन भएकाले श्रेष्ठ सचिव बढुवाका लागि सिफारिस हुने भएका छन् ।

२०७७ चैत ५ गते सचिवमा बढुवा भएका अधिकारीले झन्डै ३ वर्ष ४ महिना सचिव भएर काम गर्ने अवसर पाए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगमा सचिवको भूमिकामा काम गरे । संखुवासभाली अधिकारीले के कारणले राजीनामा दिए त्यस्तो विशेष कारण भने खुलाएका छैनन् । अधिकारीको कानुन सचिव बन्ने धोको पूरा भएन ।

कानून समूहकी सचिव लीलादेवी गड्तौलाले अहिले कामु मुख्यसचिवको जिम्मेवारी पाएकी छिन् । उनी ५८ वर्षे सेवा अवधिका कारण भदौं १५ गते अनिवार्य अवकाशमा जाँदैछिन् । गड्तौलाको रिक्त ठाउँमा पाराश्वर ढुंगाना सचिव बन्नेछन् । ढुंगाना नेपाल कानुन आयोगको सहसचिव हुन् ।

नेपाल कानुन समूहका ४ जना सचिव रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त समूहकी गड्तौला सचिव थिइन् । उनले कायममुकायम मुख्यसचिव बन्ने सौभाग्य प्राप्त गरिन् । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा फणीन्द्र गौतम र सत्य निरुपण तथा मेलमिलाप आयोगमा उदयराज सापकोटा सचिव रहेका छन् । नेपाल कानुन आयोगमा भने कानुन समूहका तोयानाथ अधिकारी सचिव थिए । अधिकारीले राजीनामा दिएपछि नेपाल कानुन आयोगमा सचिव खाली भएको छ । अब आलोकको बढुवा भएपछि कानुन आयोगले नयाँ सचिव पाउनेछ ।

क्याटेगोरी : समाचार
ट्याग : ##उदयराज सापकोटा, #आलोकचन्द्र श्रेष्ठ सहसचिव रक्षा मन्त्रालय, #तोयानाथ अधिकारी सचिव नेपाल कानुन आयोग, #पाराश्वर ढुंगाना सहसचिव नेपाल कानुन आयोग, #फणीन्द्र गौतम सचिव कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, #लीलादेवी गड्तौला कायममुकायम मुख्यसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ