यी हुन् सचिव हुने लाइनमा रहेका २ दर्जन बढी सहसचिवहरू


काठमाडौं । चालू आर्थिक वर्षमा गृह, अर्थजस्ता महत्त्वपूर्ण मन्त्रालयसहित झन्डै एक दर्जन सचिव अवकाश हुँदैछन् । उक्त रिक्त स्थानमा बढुवाका लागि वरिष्ठ सहसचिवहरू तम्तयार देखिन्छन् । ११ वर्ष सहसचिवमा काम गरेकाहरू सचिव हुने ‘ट्रेन्ड’ बन्दै गएको छ । कतिपय सचिवले ५ वर्ष पूरा अवधि चलाउँदा सचिव बढुवामा ढिला पालो आउन थालेको हो ।  ५८ वर्ष उमेर हदका कारण आधा जस्तो सचिवहरू ५ वर्ष नपुगी घर जानेमा पनि पर्छन् ।

अहिले २०७० सालमा सहसचिव बनेकाहरु सचिव भइरहेका छन् । आगामी दुई वर्षभित्र २०७०/७१ का सहसचिवहरू सचिवमा बढुवा भइसक्ने सम्भावना छ । २०७० चैत २१ गते नेपाल सरकारको सहसचिव बनेका गोविन्दबहादुर कार्कीले बागमती प्रदेशको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी पाएका छन् । उनकै ब्याची महादेव पन्थ लुम्बिनी प्रदेशको निमित्त प्रमुख सचिवको भूमिकामा छन् । उनीहरू अहिले सचिव बढुवाको लाइनमा देखिन्छन् । कार्की र पन्थ डेढ दुई महिनाभित्रै सचिवमा बढुवा हुनेछन् ।

कार्की र पन्थसँगै एकैदिन सहसचिव भएका निर्वाचन आयोगमा कार्यरत रघुराम विष्ट र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत सहसचिव बाबुराम अधिकारी सचिव बढुवामा उनीहरूलाई पछ्याइरहेका छन् । ५८ वर्षे उमेर हदका कारण पन्थले झन्डै अढाई वर्ष मात्रै सचिव बन्न पाउनेछन् । विष्ट भने एक वर्ष पनि सचिव हुन नपाउनेमा पर्छन् । उनी २०८२ जेठ २८ गते ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश हुँदैछन् । अधिकारीले भने डेढ वर्ष बढी सचिव चलाउन पाउने देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत काम गरिसकेका सहसचिव मदन भुजेल पनि चालू आर्थिक वर्षभित्रै सचिवमा बढुवा हुनेछन् । अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहसचिव रहेका भुजेल २०८१ सालमै सचिवमा बढुवा हुने निश्चित छ । भुजेल २०७० चैत २६ गते सहसचिव बनेका थिए ।

भुजेलसँगै सहसचिव बनेका चन्द्रकला पौडेल, शोभकान्त पौडेल र भूपाल बराल पनि चालू आर्थिक वर्षभित्रै सचिव बढुवा हुनेछन् । चालू आर्थिक वर्षभित्र झन्डै १ दर्जन सचिव घर जाने भएकाले उनीहरू सचिवमा बढुवा हुने भएका हुन् । चन्द्रकला अहिले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा छिन् । शोभाकान्त अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र र भूपाल वातावरण विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका छन् ।

चालू आर्थिक वर्षभित्रै सचिव बन्नेमा वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे पनि हुन् । २०७१ माघ २७ गते सहसचिव भएका घिमिरे चालू आर्थिक वर्षभित्रै सचिव हुनेछन् । उनीसँगै सहसचिव भएका रामचन्द्र ढकाल भने यहीँ असोजमा घर जाने भएकाले सचिव हुन पाउने छैनन् ।

शिक्षा समूहका सहसचिव खगेन्द्रप्रसाद सुवेदी, कृष्णप्रसाद काप्री, बैकुण्ठप्रसाद अर्याल र इमानारायण श्रेष्ठ पनि सचिव हुने लाइनमा छन् । खगेन्द्र र कृष्ण २०७१ माघ २८ गते शिक्षाका सहसचिव भएका थिए भने बैकुण्ठ र इमानारायण १ दिन पछाडि माघ २९ गते सहसचिव बनेका थिए । कृृष्ण अहिले चिकित्सा शिक्षा आयोगको सदस्य-सचिवको भूमिकामा छन् । उनीहरु पनि चालू आर्थिक वर्षभित्रै सचिव हुने सम्भावना छ ।

२०७१ माघ २९ गते सहसचिव भएका काली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली पनि सचिव बढुवाको लाइनमा बसेका छन् । कालीका ब्याचका सहसचिवहरु भने सचिव बढुवाका लागि आगामी आर्थिक वर्ष पखर्नु पर्ने भएको छ । कालीसँगै सहसचिव भएका राजेन्द्रप्रसाद पौडेल, कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, श्रीकृष्ण नेपाल, विनोदबहादुर कुँवर पनि २ वर्षभित्र सचिव हुने लाइनमा छन् । उनीहरूसँगै सहसचिव भएका रुद्रसिंह तामाङ भने भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन् ।

कमल अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक छन् भने इन्दु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन् । श्रीकृष्ण अर्थ मन्त्रालय र विनोद स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको महाशाखा प्रमुख छन् ।

२०७१ फागुन १ गते सहसचिव भएका नारायणप्रसाद भट्ट, उत्तरकुमार खत्री पनि २ वर्षभित्र सचिव बढुवा हुने लाइनमा देखिन्छन् । नारायण अहिले महावाणिज्यदूत खान परराष्ट्र मन्त्रालयलाई ‘ट्रान्जिट’ बनाएर बसेका छन् । उत्तर भने अर्थ मन्त्रालयको प्रवक्ता हुन् ।

नारायण र उत्तरसँगै सहसचिव बनेका आभा श्रेष्ठ, चक्रबहादुर बुढा र जयनारायण आचार्य सचिव बन्ने उमेर समूहमै पर्छन् । उनीहरु पनि दुईदेखि ३ वर्षभित्र सचिव बन्नेछन् । आभा अहिले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, चक्र राजस्व अनुसन्धान विभागको महानिर्देशक र जयनारायण कारागार व्यवस्थापन विभागको महानिर्देशकमा कार्यरत छन् । यीनै सहसचिवहरू नेपाल सरकारका भावी सचिवहरू हुन् ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ