विदेशी पिआर/नागरिकता प्रकरण

पूर्वमन्त्री, रक्षासचिव, उपसचिव र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. मकाजु सतर्कताको निगरानीमा


काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, अर्थ मन्त्रालयका उपसचिव डा. रामप्रसाद मैनाली र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ मकाजु श्रेष्ठलाई निगरानीमा राखेको छ । विदेशी पिआर/ नागरिकता लिएर सरकारी सार्वजनिक पद धारण  गरेकाे आशंकामा उनीहरुलाई सतर्कताले निगरानीमा राखेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद समेत रहेकी सुमना  श्रेष्ठ, रक्षासचिव किरणराज शर्मा, अर्थ मन्त्रालय अन्तर्गत सार्वजनिक वित्त तालिम केन्द्रमा कार्यरत उपसचिव डा. रामप्रसाद मैनाली र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ मकाजुमाथि छानबिन थालेको छ । राष्ट्रिय सतर्कता केन्द्र स्रोतका अनुसार उनीहरुलाई पत्रचार नै गरेर छानबिन प्रक्रिया अघि बढाएको हो ।

पोल्याण्डको नागरिकसँग बिबाह गरेकी पूर्वमन्त्री श्रेष्ठसँग युरोपेली मुलुकको पिआर/ नागरिकता रहेको आरोप छ । रक्षा सचिव शर्मासँग अमेरिकाको पिआर रहेको र राजस्वका उपसचिव डा. मैनाली बेलायती नागरिक रहेको राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीमा दाबी गरिएको छ । अस्ट्रियन नागरिक एहेफ्राउ एन्ड्रियासँग बिबाह गरेका धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. मकाजु दम्पतीसँग पनि उतैको नागरिकता रहेको उजुरीकर्ताले दाबी गरेका छन् । दोहोरो नागरिकता दुरुपयोग गरेको समेत आरोप लगाइएको छ । यो विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरिरहेको पाइन्छ ।

राष्ट्रिय सतर्कता केन्द्र स्रोतका अनुसार सांसद सुमना श्रेष्ठले आफूसँग कुनै विदेशी देशको पिआर/नागरिकता नरहेको जवाफ फर्काएकी छिन् । रक्षा सचिव किरणरज शर्माले भने आफूले अमेरिकाको पिआर त्यागिसकेको दाबी गरेको स्रोतको भनाइ छ ।

राजस्वका उपसचिव डा. रामप्रसाद मैनाली र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ मकाजु श्रेष्ठले भने सतर्कता केन्द्रले पठाएको पत्रको अहिलेसम्म जवाफ दिएका छैनन् । सतर्कता केन्द्रका एक अधिकारीका अनुसार उपसचिव मैनाली अहिले नेपाल बाहिर छन् । उनी अहिले बेलायतमै रहेको ती अधिकारीको दाबी छ । ६/७ वर्ष बेलायत बसेर नेपाल फर्किएका उपसचिव मैनाली बेलायत आउने-जाने गरिरहन्छन् ।  मैनालीलाई नजिकबाट चिन्नेहरु उनको तन नेपालमा भएको बेला पनि मन बेलायतमै हुने गरेको बताउँछन् । मैनाली अहिले पनि बेलायतमै मस्ती मारिरहेका छन् ।

अस्ट्रिया पढेका र अस्ट्रियन नागरिकसँग बिबाह गरेका धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. मकाजुको विषयमा पनि सतर्कता केन्द्रले छानबिन गरिरहेको छ । उनले अहिलेसम्म केन्द्रलाई कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरूको पिआर खोज्न सतर्कता केन्द्रले परराष्ट्र मन्त्रालयसँग समेत सहयोग मागेको छ ।

नेपालको संविधानको धारा २९१ मा विदेशी पिआर भएको व्यक्ति कुनै पनि निर्वाचन, मनोनयन वा नियुक्त हुन नसक्ने व्यवस्था रहेको छ ।  त्यसैले अख्तियारदेखि सतर्कता केन्द्रसम्मले पिआरमा चासो देखाउँन थालेका छन् ।

अख्तियारको छानबिनपछि पिआरधारी समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारी र नलगाड हाडड्रोपावार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाशबहादुर शाही राजीनामा दिएर भागिसकेका छन् । मोनिकासँग अमेरिका र प्रकाशसँग अस्ट्रेलियाको पिआर रहेको पाइएको छ । अमेरिकाका पिआरधारी विकल पौडेललाई त अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेर विशेष अदालतबाट समेत दोषी ठहर भइसकेका छन् ।  सतर्कता केन्द्रले छानबिन गर्दा को-कोसँग पिआर भेटाउँछ हेर्न बाँकी छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव डा. रामप्रसाद मैनाली, #डा. रामकण्ठ माकाजु, #धुलिखेल अस्पताल, #पिआरधारी, #प्रकाशबहादुर शाही, #मोनिका अधिकारी भट्टराई, #रक्षा सचिव किरणराज शर्मा, #राष्ट्रिय सतर्कता केन्द्र, #विकल पौडेल, #सुमना श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ