८ जना वरिष्ठ सचिवलाई पछि पार्दै मुख्यसचिव बनेकी लीलादेवी गडतौला


काठमाडौं । ८ जना वरिष्ठ सचिवलाई पछि पार्दै लीलादेवी गडतौला मुख्यसचिव बनेपछि निजामती सेवामा वरिष्ठता र योग्यताक्रमको बहस सुरु भएको छ। महिलाको नारा दिएपनि वरिष्ठतालाई तिलाञ्जली दिएर मुख्यसचिव बनाएपछि कर्मचारीतन्त्रमा उकुसमुकुसको अवस्था आएको देखिन्छ। मुख्यसचिव निजामती सेवाको सर्वोच्च पद हो।

पूर्वप्रशासनहरु डेढ वर्ष पछाडि सचिव भएका व्यक्तिको अन्डरमा बसेर काम गर्दा मातहतमा बसेर काम गर्दा वरिष्ठ सचिवहरुको ‘मोराल’ गिर्ने बताउँछन्। ‘लीलाजीभन्दा डेढ वर्ष अगाडि सचिव भएकाहरु अझै सेवामा रहेका छन्, उनीहरुलाई आफुभन्दा धेरै जुनियरलाई मुख्यसचिव मान्न सकस भइरहेको हुनुपर्छ।’, एक पूर्वमुख्यसचिवले भने ।

कतिपयले भने ८ औं नम्बरका सचिव लीलामणि पौडेल मुख्यसचिवमा बढुवा भएको प्रसंगलाई लीलादेवी गडतौलासँग जोड्छन्। त्यो बेला एकै दिन सचिवमा बढुवा भएकामध्ये लीलामणि ८ नम्बरमा थिए । त्यो बेला एकै दिन १ नम्बरमा बढुवा भएका सचिव शंकरप्रसाद कोइरालाले जुनियरलाई मुख्यसचिव बनाएको भनेर राजीनामा दिएका थिए। अहिले डेढ वर्ष पछाडि सचिव भएकी लीलादेवी मुख्यसचिव बन्दा पनि १ नम्बरमा रहेका तोयानारायण ज्ञवालीलगायतका सचिवहरू मौन छन्। यसले स्थायी सरकार मानिने निजामती प्रशासन अस्तव्यस्त र ध्वस्त बन्ने टिप्पणी हुन थालेको छ । निजामती प्रशासनमा यो पहिलो घटना समेत हो।

स्वास्थ्य सेवाका सचिव डा. रोशन पोखरेल र संसद् सेवाका सचिव सुदर्शन खड्कालाई समेत वरियतामा राख्दा मुख्यसचिव लीलादेवी एघारौं नम्बरमा पर्छिन्। तर, उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा नआउने भएपछि प्रशासन र कानुन गरी ८ सचिवपछिको वरियतामा उनी रहेकी छिन्। सरकारले कनिष्ठलाई मुख्यसचिव बनाएपछि वरिष्ठ सचिवहरू नैतिक संकटमा परेको चर्चा हुन थालेको छ। यसले निजामती प्रशासनमा वेथिति भित्रिएको टिप्पणी सुरू भएको हो। यद्यपि लीलादेवी क्षमताको हिसाबले अब्बल नै देखिन्छिन्।

तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, टेकनारायण पाण्डे, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा र मधुकुमार मरासिनीपछि मात्र लीलादेवी गडतौला सचिवमा बढुवा भएकी हुन्। उनै कनिष्ठ सचिव गडतौलालाई घर जाँदाजाँदै मुख्यसचिव बनाएपछि निजामती प्रशासनमा नयाँ बहस सुरु भएको छ। कतिपय पूर्व प्रशासकहरूले भने केपी शर्मा ओली नेतृत्वको सरकारले स्थायी सरकार मानिने निजामती प्रशासनमा गरेको हस्तक्षेपका रूपमा अर्थ्याएका छन्।

यी हुन् वरिष्ठताक्रममा रहेका नेपाल सरकारका सचिवहरू

 

१, तोयानारायण ज्ञवाली, (सचिवमा बढुवा २०७६ भदौं २२ गते),

– हाल राष्ट्रिय योजना आयोगमा कार्यरत,

२, रामकृष्ण सुवेदी, (सचिवमा बढुवा २०७६ कात्तिक ५ गते),

– हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत,

३, दिनेश भट्टराई, (सचिवमा बढुवा २०७६ माघ २० गते),

– हाल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत,

४, टेकनारायण पाण्डे, (सचिवमा बढुवा२०७६ फागुन १२ गते),

– हाल कारागारमा हावा खाँदै,

५, एकनारायण अर्याल, (सचिवमा बढुवा२०७६ फागुन १८ गते),

– हाल गृह मन्त्रालयमा कार्यरत,

६, अर्जुनप्रसाद पोखरेल, (सचिवमा बढुवा २०७७ बैशाख २),

– हाल राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत

७, उदयराज सापकोटा, (सचिवमा बढुवा २०७७ जेठ २८ गते),

-हाल सत्य निरुपण तथा मेलमिलाप आयोग सचिव

८, मधुकुमार मरासिनी,  (सचिवमा बढुवा २०७७ साउन १२ गते)

– हाल अर्थ मन्त्रालयमा कार्यरत,

९, लीलादेवी गडतौला, (सचिवमा बढुवा २०७७ कार्तिक २७ गते)

– हाल मुख्यसचिव

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ