अर्थ सचिवमा रामप्रसाद घिमिरेको सम्भावना


काठमाडौं । अर्थ सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने सम्भावना बढेको छ। हाल राजस्व सचिव रहेका घिमिरेलाई अर्थ सचिवको जिम्मेवारी दिएर राजस्वमा भने वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेलाई ल्याउने तयारी भइरहेको छ।

अर्थ सचिवका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल र रामप्रसाद घिमिरेबीच तीव्र प्रतिस्पर्धा थियो। दंगाल रक्षा सचिवमा जाने सम्भावना प्रवल छ। रक्षा नभए उनी वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवका लागि पनि सशक्त दाबेदार हुन्। अर्थ सचिवको जिम्मेवारी भने राजस्व सचिव रामप्रसाद घिमिरेले पाउने निश्चित जस्तै छ । रामप्रसादलाई अर्थ सचिव बनाउन कै लागि दिनेशलाई राजस्वमा ल्याउन खोजिएको बुझिन्छ।

अर्थ सचिव मधुकुमार मरासिनी र रक्षा सचिव किरणराज शर्मालाई भने कम भूमिका हुने ठाउँमा सरूवा गर्ने तयारी छ । अर्थ सचिव मरासिनीको सरूवा उपराष्ट्रपति कार्यालय हुन सक्ने सम्भावना देखिन्छ।

यता गृह सचिवका लागि भने मुकुन्दप्रसाद निरौला, बिनोदप्रकाश सिंह र कृष्णहरि पुष्कर कर्णबीच तीव्र प्रतिस्पर्धा छ। निरौला हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंह महालेखा नियन्त्रक कार्यालय र कर्ण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव छन्।  सरकारले ठूलो संख्यामा सचिव सरुवाको तयारी थालेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ