स्वास्थ्य गुमाएका सचिव बुर्लाकोटीले वाणिज्य पाए, पिआर विवादमा परेका शर्मा वित्त आयोगमा पुगे


काठमाडौं । उपेन्द्र यादव स्वास्थ्यमन्त्रीबाट हटेर प्रदीप यादव आएसँगै छोटो समयमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुमाएका मधुसूदन बुर्लाकोटी वाणिज्य तथा आपूर्ति सचिव बनेका छन् ।

उपेन्द्र यादव स्वास्थ्यमन्त्री बनेपछि उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा ल्याइएको थियो। पहिलोपटक मन्त्रालय पाएका बुर्लाकोटीले मन्त्री ‘चेन्ज’ हुनेवित्तिकै स्वास्थ्य मन्त्रालय गुमाएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन हेर्ने गरी जिम्मेवारी पाएका सचिव बुर्लाकोटी दुई महिना नपुग्दै स्वास्थ्यबाट हटाइएका थिए। उनी त्यसपछि राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको सचिवको भूमिका थिए। वित्त आयोगबाट पनि दुई महिना नपुग्दै सचिव बुर्लाकोटीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ। वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको अर्थ मन्त्रालयको राजस्व सचिवमा सरूवा भएपछि उक्त ठाउँमा बुर्लाकोटीलाई लगिएको हो।

स्वास्थ्यमन्त्री भएर प्रदीप आएपछि बुर्लाकोटीको टिमलाई नै स्वास्थ्यबाट हटाइएको थियो। उनका विश्वासपात्र छानीछानी हटाएर नयाँ टिम खडा गरियो। बुर्लाकोटीको ठाउँमा महालेखा नियन्त्रक हरिप्रसाद मैनालीलाई लगियो।

बुर्लाकोटीको ठाउँ वित्त आयोगको सचिवमा भने रक्षा मन्त्रालयका सचिव किरणराज शर्माको सरुवा भएको छ। अमेरिकाको पिआर विवादमा परेपछि आलोचित भएका रक्षा सचिव शर्मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगेका छन्। रक्षा मन्त्रालयको सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामेश्वर दंगाल आएका छन्। दंगाल हक्की र स्पष्ट स्वभावका सचिव हुन्। बुर्लाकोटी पन त्यो मामिलामा उस्तै सचिवका रूपमा परिचित छन्। शर्मा भने खासै खुल्ने स्वभावका सचिव होइनन्।

क्याटेगोरी : समाचार
ट्याग : #किरणराज शर्मा रक्षा सचिव, #दिनेशकुमार घिमिरे, #प्रदीप यादव, #रामेश्वर दंगाल, #सचिव मधुसुदन बुर्लाकोटी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ