अर्थ मन्त्रालयका महाशाखा प्रमुख हेरफेरको तयारी
काठमाडौं । अर्थ मन्त्रालयभित्र महाशाखा प्रमुख हेरफेरको तयारी सुरु भएको छ। अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय, राजस्व व्यवस्थापन, प्रशासन, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय, योजना, अनुगमन तथा मूल्यांकन जस्ता महाशाखा प्रमुख हेरफेरको तयारी भइरहेको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार रानाको जिम्मेवारी खोसेर श्रीकृष्ण नेपाललाई उक्त महाशाखा हेर्ने गरी तोकेका छन्। नेपाल अहिले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको भूमिकामा छन्। अर्थमन्त्री वर्षमान पुन बजेट महाशाखा प्रमुख बनाएका राना अहिले बरण्डामा पुगेका छन्।
नेपाललाई बजेट तथा कार्यक्रम प्रमुख बनाएका अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी भने धनिराम शर्मालाई दिने तयारी गरेको बुझिएको छ। शर्मा अहिले राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका छन्।
शर्मालाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बनाएपछि राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी उत्तरकुमार खत्रीले पाउने सम्भावना छ। खत्री अहिले योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख छन्। खत्रीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय प्रमुख बनाएर उक्त महाशाखा प्रमुख नारायणप्रसाद रिसाललाई राजस्वमा लाने सम्भावना पनि उत्तिकै छ। रिसाल प्रशासन महाशाखा प्रमुखका लागि पनि सम्भावित पात्र हुन्। राजस्व व्यवस्थापन महाशाखा वा अन्य कुनै महाशाखा लिएर आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेल पनि मन्त्रालय छिर्न खोजिरहेका छन्।
अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रामप्रसाद आचार्य तत्काल योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख हुने वा मन्त्रालबाट बाहिरिने दुबै सम्भावना देखिन्छ। अर्थमन्त्री पौडेलले एक हप्ताभित्रै सेट परिवर्तन गर्न खोजिरहेको पाइन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस