सरुवाको दौडमा रहेका एक दर्जन स्वास्थ्यका अधिकारी, एक साताभित्र भाग्यको फैसला 


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सरुवा साँझ बिहान भएको छ । मोटामोटी कर्मचारी सरुवाको खाका बनेको छ । उक्त खाका केही हेरफेर हुनेबाहेक मान्छेको नाम करिब-करिब टुङ्गोमा पुगेको छ । उक्त नाम कति खेर फुत्त बाहिर निस्कन्छ भन्नेमा मात्रै कौतुहलता देखिएको छ ।

तन्नेरी मन्त्री प्रदीप पौडेलले पनि विगतका मन्त्रीको जस्तो पुरानै अनुहारलाई हेरफेर गर्ने देखिएको छ । छिटफुट नयाँ पर्नेबाहेक कुनै नौलो सरुवा हुने देखिँदैन । सरुवाको दौडमा भने एक दर्जन कर्मचारी छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुख्य महाशाखा र केन्द्रहरूमा को पठाउने भन्नेमा आजपनि औपचारिक, अनौपचारिक छलफल भएको थियो । सातदेखि दश दिनभित्र सरुवा गर्ने तयारी रहेकाले को को लाग्ने हो, लाग्नु भनेर सचिवस्तरबाटै कर्मचारीहरूलाई ‘रुलिङ’ भइसकेको छ । सोही अनुसार नयाँ कार्यालयको जिम्मेवारीमा जान इच्छा जाहेर गर्ने व्यक्तिहरूको दौडधुप सुरु भएको हो ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तनको कुरा सुस्त गतिमा भएको छ । महानिर्देशक डा. सङ्गीता कौशल मिश्रलाई जनताले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रम ल्याउन र खरिदमा सबैको पहुँच कायम गराउन मन्त्रीले निर्देशक दिएका थिए । त्यो काम हेरेर उनलाई राख्ने या नराख्ने निर्णय मन्त्रालयले लिने देखिएको छ । तर, मिश्रले भने सर्भाइकल क्यान्सरको परीक्षण र ब्रेथ क्यान्सरको मात्रै कुरा गर्दै आएको मन्त्रालयका अधिकारीले बताए । यदि महानिर्देशक परिवर्तन गर्नु परेको खण्डमा टङ्क बराकोटी वा डा. विकास देवकोटामध्ये एक पठाउने तयारी भएको छ । टङ्कलाई प्रधानमन्त्रीस्तरबाट संरक्षण रहेको अधिकारीहरूले बताएका छन् ।

त्यस्तै नीति योजना महाशाखामा वीर अस्पतालका चिकित्सक डा. सरोज शर्मा, हालका प्रवक्ता डा. प्रकाश बुढाथोकी लागेका छन् । विगतमा डा. रुद्र मरासिनी पनि लागिपरेका थिए । तर, प्रदीप यादवको पालामा सार्वजनिक रूपमै दरबन्दी नमिलेका कारण आफूलाई सरुवा गर्न भनेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट दरबन्दी रहेको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । त्यसैले उनका लागि नीति योजना दरबन्दी मिल्ने महाशाखा हैन । इज्जत र प्रतिष्ठा भएका चिकित्सकभित्र पर्ने कारण उनले दरबन्दी नमिल्ने शाखा महाशाखा लिएर आफ्नो नैतिकतालाई तिलान्जली पक्कै दिँदैनन् ।

हाल नीति योजना महाशाखामा रहेका डा. कृष्ण पौडेल कुनै प्रदेशको सचिव भएर जान खोजेको बुझिएको छ । कर्मचारीमा सिनियर भएपनि १२ तहका लागि दुर्गम अनिवार्य रहेको छ । सचिव हुने लाइनमा रहेका पौडेल काठमाडौँ बाहिर नजादासम्म १२ तहमा सिफारिस हुने छैनन् । त्यसैले उनका लागि गण्डकी प्रदेशको स्वास्थ्य सचिव हुन हाल उपयुक्त सयम छ ।

यता गुणस्तर मापन तथा नियमन महाशाखामा डा. रुणा झा, नीति योजना नपाएको अवस्थामा डा. सरोज शर्मा, हालका प्रवक्ता डा. प्रकाश बुढाथोकी पनि लागेका छन् । डा. रुणा पनि कोरोना महामारीको समयमा कुशलतापूर्वक जिम्मेवारी निभाएकी कर्मचारी हुन् । उनको तुलनामा एनपिएचएलमा अहिलेसम्म काम हुन सकेको छैन ।

त्यसैगरी समन्वय महाशाखामा हालै सहसचिव भएका भिम सापकोटा जाने बुझिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. रोशन पोखरेलका परम मित्र सापकोटालाई स्वास्थ्य क्षेत्रमा सानो सचिव समेत भनेर माया गरिन्छ । स्वास्थ्य क्षेत्र राम्रो बुझेका व्यक्तिभित्र सापकोटाको समेत नाम आउँने गरेको छ ।

समन्वय महाशाखाका प्रमुख डा. चुमन लाल दासलाई भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पठाउने कुरा उठेको छ । त्यहाँ रहेका डा. यधुचन्द्र घिमिरेलाई तालिम केन्द्रको प्रमुख बनाउने चर्चा छ । तालिम केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर र त्यहाँ कार्यारत डा. प्रज्जव श्रेष्ठलाई उपचारात्मक महाशाखा ल्याउने अनौपचारिक छलफल भएको छ ।

उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. अनुप बाँस्तोलालाई शुक्रराज अस्पताल टेकुको निर्देशक बनाउने चर्चा भएको छ । यता उपसचिव भवनाथ खतिवडा, मातृका दाहाल, फणिन्द्र गिरीको पनि सरुवा हुने बुझिएको छ । निर्णय नभएकाले यी चर्चामा रहेका नामलाई हामीले बाहिर ल्याएका हौं । यति भएपछि शक्तिको आडमा रहेर खेल्ने ठाउँहरु कर्मचारीका लागि प्रशस्तै भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##mohp nepal

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ