संघीय सरकारलाई थाहै नदिई हुम्लाका गाउँपालिका अध्यक्षहरू भारत घुमेर आए


काठमाडौं । संघीय सरकारलाई थाहै नदिई हुम्ला जिल्लाका तीन गाउँपालिका अध्यक्षहरू भारत घुमेर आएको पाइएको छ। हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही र सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायसहित १० सदस्यीय प्रतिनिधिमण्डल हालै भारत घुमेर फर्किएको हो।

नेपालस्थित भारतीय दूतावासकाका अनुसार उनीहरू १० दिने लामो अध्ययन भ्रमण पूरा गरी भर्खरै भारतबाट फर्किएका हुन्। हुम्लाका तीन गाउँपालिका अध्यक्षको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डल १० दिने अध्ययन भ्रमणका शिलशिलामा भारतको दिल्ली, हापुड्, शिम्ला, अहमदाबाद र अयोध्या घुमेर आएको हो।

भारत सरकारले आयोजना गरेको १० दिने भ्रमणमा हुम्लाका गाउँपालिका अध्यक्षको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले नेपाल र भारतबीच बहुमूल्य ज्ञान आदानप्रदान गरेको जनाइएको छ। उक्त प्रतिनिधिमण्डलले कृषि, पूर्वाधार र सहरी विकासका पहलहरूमा छलफल गर्दै उपयोगी अनुभव समेत सेयर गरेको पाइन्छ। तर, उनीहरू यस्तो महत्त्वपूर्ण भ्रमणमा भारत गएको विषयमा संघीय सरकारलाई जानकारी गराएको पाइँदैन।

स्थानीय तह समन्वय गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका संघीय मामिला महाशाखा प्रमुख (सहसचिव) सुमन दाहालले मन्त्रालयबाट उनीहरूले भारत भ्रमणको स्वीकृति नलिएको स्पष्ट पारे।  भारतका विभिन्न सहर घुमेर आएका सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले पनि संघीय सरकारबाट भारत भ्रमण स्वीकृत नगराएको स्वीकारे। भारत सरकारले उसैको खर्चमा भारत घुमाएर ल्याएको अध्यक्ष भण्डारीको दाबी छ।

स्थानीय तहका पदाधिकारीहरुको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ को बुँदा नम्बर ४(१)(ख) अनुसार स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणका लागि मनोनयन गर्ने अधिकार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको हुने उल्लेख छ । जिल्ला समन्वय समितिका सभापति र महानगरपालिकाको प्रमुखको हकमा भ्रमण स्वीकृति नेपाल सरकार मन्त्रीपरिषद् र अन्य पदाधिकारीको हकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले भ्रमण स्वीकृत (मनोनयन) गर्नुपर्छ। उक्त निर्देशिकाविपरीत स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान मिल्दैन। तर, भारत सरकारको निमन्त्रणा र व्यवस्थापनमा हुम्लाका जनप्रतिनिधिहरू संघीय सरकारलाई सुइको समेत नदिई १० दिने लामो भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। भारतबाट फर्किएको हुम्ली टोली अहिले पनि काठमाडौंमै रमाइरहेको छ। उनीहरू भारतबाट फर्किएको एकहप्ता हुन लागेको हो।

हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधि हुन् । चङ्खेली गाउँपालिका अध्यक्ष शाही स्वतन्त्रबाट निर्वाचित हुन भने हुम्लाको दक्षिण भेगको सर्केगार्ड गाउँपालिकाका अध्यक्ष रोकाया कांग्रेसबाट निर्वाचित  भएका थिए । उनीहरू संघीय सरकार र कानुनलाई चुनौती दिएर हालै भारत भ्रमण सकेर फर्किएका छन्। उनीहरू भारत घुमेको कुरा भारतीय दूतावासले सार्वजनिक गरेपनि नेपाल सरकार वेखबर छ।

संघीय सरकारको स्वीकृति नलिई भारत भ्रमणमा गएको काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलमाथि प्रश्न उठेको थियो। महालेखा परीक्षकको कार्यालय उनीहरूले लिएको भ्रमण भत्ता समेत बेरुजु औंल्याएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति नै नलिई सरकारी कोषबाट हवाई टिकट र दैनिक भ्रमण भत्ता लिई उक्त टोलीले अनियमितता गरेको महालेखाले ठहर छ। फेरि हुम्लाका स्थानीय तहका जनप्रतिनिधि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति नै नलिई भारत गएका हुन्। हवाई टिकट र दैनिक भ्रमण भत्ता नलिए पनि उनीहरूले कानुनविपरीत भारत भ्रमण गरेका छन्।

पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि घुमाउनका लागि भारत र चीनबीच प्रतिस्पर्धा चलेको छ। भारतले चीनसँग जोडिएका उत्तरी जिल्ला हुम्ला, जुम्ला, गोर्खा, सिन्धुपाल्चोक जस्ता जिल्लाका स्थानीय जनप्रतिनिधि घुमाउन थालेको छ भने चीनले भारतसँग सीमाना जोडिएका पूर्वका झापा, मोरङ र सुनसरीका स्थानीय जनप्रतिनिधिलाई बढी घुमाउन थालेको देखिन्छ। विदेश घुम्न भनेपछि ‘सति’ जान पनि तयार हुने नेपाली मानसिकता र प्रवृत्तिलाई स्थानीय तहका जनप्रतिनिधिले पनि उजागर गरेको पाइन्छ।

अनुशासनहीन स्थानीय तहका जनप्रतिनिधिलाई संघीय सरकारले लगाम नलगाउने हो भने अराजकता बढ्ने देखिन्छ। यस्तै मनपरी हुँदै जाने हो भने संघीय सरकारले हेर्ने परराष्ट्र मामिला स्थानीय तह आफैंले ‘डिल’ गर्ने अवस्था आउँछ। त्यस्ता जनप्रतिनिधिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल स्पष्टीकरण सोधेर कारबाहीको दायरामा ल्याउन जरूरी छ। संघीय सरकारको स्वीकृति नलिई आफूखुसी अध्ययन, अवलोकन भ्रमणमा विदेश जान कडाई गर्नुपर्ने आवश्यकता देखिन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #चङ्खेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, #भारत भ्रमण, #भारतीय दूतावास, #समुन दाहाल सहसचिव, #सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया, #सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, #हुम्ला जिल्लाका जनप्रतिनिधिहरु

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ