गोविन्दबहादुर कार्की बने वाणिज्य तथा आपूर्ति सचिव


काठमाडौं। बागमती प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्की वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा भएका छन्।  बागमती प्रदेशको प्रमुख सचिव कार्की वाणिज्य तथा आपूर्ति सचिव बनेका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई वाणिज्य तथा आपूर्ति सचिवमा सरूवा गर्ने निर्णय गरेको हो।

एक हप्ता अगाडि मात्र बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। एक हप्तापछि उनी संघीय मन्त्रालयमा सरुवा हुने भाग्यमानी सचिव बनेका छन्। वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीको राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव गोकर्णमणि दुवाडीको गृह सचिवमा सरुवा भएपछि उक्त कार्यलयमा बुर्लाकोटी आएका हुन्। वाणिज्य तथा आपूर्ति सचिवमा भने बागमती प्रदेशका प्रमुख सचिव कार्की आएका छन्।

ल्हासाको महावाणिज्यदूत भइसकेका इमान्दार र भद्र सम्भावनाका भोजपुरे कार्कीलाई वाणिज्य सचिव बनाउने मन्त्रिपरिषद्को निर्णयलाई ‘राईट पर्सन राईट प्लेस’को रूपमा लिइएको छ।  ल्हासाको वाणिज्यदूत भएपछि १४ महिना बढी कोशी प्रदेशको सामाजिक विकास सचिव भएका कार्की त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएर जिम्मेवारी सम्हालेका थिए।  २०२७ साल पुसमा भोजपुरमा जन्मिएका कार्की २०७० सालमा सहसचिव भएका थिए। बागमती प्रदेशको कायममुकायम प्रमुख सचिव हुँदै प्रमुख सचिव बनेका उनी छोटो समयमै संघमा सरूवा भएका छन्।

उदयपुरका कृष्णबहादुर राउत उद्योग सचिवको जिम्मेवारी रहँदा भोजपुरका कार्कीले वाणिज्य सचिवको जिम्मेवारी पाएका हुन्। कार्कीसँग वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रदेशमा समेत बसेर काम गरेको अनुभव छ। उनले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सुधारका लागि इमान्दार प्रयास गर्ने अपेक्षा राखिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णबहादुर राउत, #गोविन्दबहादुर कार्की, #मधुसुदन बुर्लाकोटी, #वाणिज्य तथा आपूर्ति मन्त्रालय, #सचिव मधुसुदन बुर्लाकोटी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ