कोटा प्रयोग गरेर सहसचिव हुने पुरूषहरू


काठमाडौं। निजामती र स्वास्थ्य सेवाको उपल्लो पद सहसचिवमा आरक्षण (कोटा) प्रयोग गर्ने पुरूषहरू दर्जनौं पुगेका छन्। स्वास्थ्य लाइभको खोजीमा कोटा प्रयोग गरेर सहसचिव हुने पुरूषहरू दुई दर्जन बढी फेला परेका हुन्। हाम्रो जानकारीमा नआएको यो संख्या अझ ठूलो हुन सक्छ।

लोकतान्त्रिक आन्दोलनपछि जारी भएको नेपालको अन्तरिम संविधान, २०६३ ले आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि परेकालाई आरक्षण दिने परिकल्पनाको गरेको थियो। तर, संविधानको मर्म र भावनाविपरीत आरक्षण प्रणालीको प्रयोग भएको पाउन सकिन्छ। स्वास्थ्य लाइभले सार्वजनिक गरेको आरक्षण लिने यी पुरूष सहसचिवहरू आर्थिक, सामाजिक र शैक्षिक रूपले साँच्चिकैं पछाडि परेका वर्गभित्र पर्छन् त? त्यो बहस र अध्ययनको विषय हो।

आरक्षण प्रणाली अभ्यास भएको १७ वर्ष भइसककाले अब यसमा पुनरावलोकन गर्नुपर्ने आवाज पनि उठ्न थालिसकेको छ। आरक्षण भनेको रोजगारी दिने कुरा हो। सहसचिव रोजगारी मात्र होइन। सहसचिव हुनका लागि आर्थिक, सामाजिक र शैक्षिक रूपले अगाडि भएकै व्यक्ति आउने हुन्। सहसचिवमा पुग्दासम्म एउटा स्तर कायम भइसकेको हुन्छ। त्यसैले सहसचिवमा आरक्षण दिने परिपाटी अब भने अन्त्य गर्नुपर्ने देखिन्छ।

सरकारी सेवामा एउटा व्यक्तिलाई एक पटक आरक्षण दिएर राज्यले सामाजिक न्याय गर्ने हो। त्यो पनि अधिकृत तहको सेवा प्रवेश (इन्ट्री प्वाइन्ट)मा मात्र दिनु पर्ने हो। अधिकृतमा आरक्षणको सुविधा नलिएकाले उपसचिवमा लिन सक्ने सम्मको व्यवस्था गर्दा उपयुक्त नै होला। लक्षित वर्गले मात्र उक्त आरक्षण सुविधा पाउने मापदण्ड तय गर्न जरूरी छ। तर, सहसचिव जस्तो नीतिगत तह र सरकारी सेवाको अन्तिम विन्दु (एक्जिक्ट प्वाइन्ट)मा आरक्षणको सुविधा दिनु सर्वथा गलत र अनुपयुक्त देखिन थालेको छ। यसमा थप बहस र छलफल गरेर कानुनी र नीतिगत रुपमै परिमार्जन गर्नु पर्ने र रोक्नु पर्ने बेला भइसकेको देखिन्छ।

स्वास्थ्य लाइभको खोजी र अध्ययनमा सहसचिवमा आरक्षणको लाभ लिने पुरूषहरू आदिवासी/जनजाति समुदायका बढी फेला परेका छन्। त्यसपछि मधेशी, दलित, अपांग र पिछडिएको क्षेत्रका रहेका छन्। यहाँ राजपत्राङ्कित पद शाखा अधिकृत र उपसचिवमा आरक्षण लिने पुरूषहरू उल्लेख छैनन्। उपसचिव र सहसचिव, शाखा अधिकृत र सहसचिव वा शाखा अधिकृत, उपसचिव र सहसचिव तीनवटै पदमा आरक्षणको लाभ लिने पुरूषहरू पनि यहाँ समेटिएका छैनन। तिनीहरूको विषयमा स्वास्थ्य लाइभले यस अघि नै सार्वजनिक गरिसकेको छ। यसमा सहसचिवमा मात्र आरक्षण लिने पुरूषहरुको हामीले चर्चा गर्न खोजेका छौं।

आरक्षणका नाममा तरमारा वर्ग कै व्यक्तिहरूको रजाइँ र हालिमुहाली भइरहेको चर्चा-परिचर्चा भइरहेको छ। सहसचिवमा कोटा प्रयोग गर्ने यी पुरुषहरूको पृष्ठभूमि हेर्दा आरक्षण प्रणाली सदुपयोग वा दुरुपयोग भएको छुट्याउने जिम्मा पाठकहरूलाई नै छाडेका छौं।

सहसचिवमा आदिवासी/जनजातिबाट पहिलो आरक्षण लिने पहिलो व्यक्ति गणेश राई हुन्। २०६५ चैतमा आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका उनी सचिवमा बढुवा नभइ ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन्। गणेशपछि आदिवासी/जनजाति कोटा प्रयोग गरेर सहसचिव भएका दोस्रो व्यक्ति वीरबहादुर राई सचिव हुँदै लोक सेवा आयोगको सदस्य बन्न सफल भएका छन्। उनी २०६७ चैतमा आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका थिए।

 

दलित समुदायबाट आरक्षणको लाभ लिने पहिलो सहसचिव मानबहादुर बी. के. हुन्। २०६७ फागुनमा दलित कोटाबाट सहसचिव भएका बी. के. दलितबाट सचिव समेत बनेर अर्को ‘रेकर्ड’ कायम गरे। बी. के.ले २०७७ साउन १२ गतेदेखि २०७८ वैशाख ५ गतेसम्म करिब ९ महिना बागमती प्रदेशको प्रमुख सचिवको भूमिकामा रहेर काम गरेका थिए।

मधेशी समुदायबाट पहिलोपटक कोटा प्रयोग गरेर सहसचिव हुने वीरेन्द्रकुमार यादव हुन्। २०६७ साल असोजमा मधेशी कोटाबाट सहसचिव बनेका यादव अहिलेसम्म सचिवमा बढुवा भएका छैनन्। २०३१ साल असारमा सर्लाहीमा जन्मिएका यादव अहिले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको सचिवको भूमिकामा छन्। यादवसँगै सहसचिव बनेका लक्ष्मीराम पौडेल, बैकुण्ठ अर्याल, यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, बुद्धिबहादुर खड्का सचिव बनेर अवकाश पाइसकेका छन्। उनी भने अहिले पनि सहसचिवमै रूमलिरहेको पाइन्छ।

दिपक काफ्ले अपांग कोटाबाट सहसचिव बन्ने पहिलो व्यक्ति हुन्। २०६९ चैतमा अपांग कोटाबाट सहसचिव बनेका थिए। २०२९ साल जेठमा धनकुटामा जन्मिएका काफ्ले अहिले शिक्षा विज्ञान तथा प्रविधि सचिवको भूमिकामा रहेका छन्। उनी शिक्षण पेशा छाडेर नेपाल शिक्षा सेवाबाट निजामती प्रशासनमा छिरेका हुन्।

पिछडिएको क्षेत्रबाट पहिलो पटक सहसचिव बन्ने व्यक्ति हुन् चक्रबहादुर बुढा। २०७१ साल फागुनमा सहसचिव बनेका बुढा अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहमा रहेर राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पुऱ्याइएका छन्। २०३४ साल मंसिरमा जाजरकोटमा जन्मिएका बुढा शिक्षण पेशा छाडेर निजामती प्रशासनमा छिरेका हुन्। शिक्षण पेशाबाट आएर उनी निजामती सेवाको शाखा अधिकृत, उपसचिव हुँदै सहसचिव बनेका हुन्।

सचिव बढुवाको लाइनमा रहेका मदन भुजेल आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका हुन्। उनी २०७० चैतमा आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका थिए। २०२८ साल मंसिरमा मकवानपुरमा जन्मिएका भुजेल अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुख छन्।

इमनारायण श्रेष्ठ २०७१ माघमा आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका हुन्। २०२४ साल चैतमा पाल्पामा जन्मिएका श्रेष्ठ शिक्षा प्रशासन तर्फका सहसचिव हुन्। श्रेष्ठ अहिले पाठ्यक्रम विकास केन्द्रको महानिर्देशक छन् ।

दिपक श्रेष्ठ पनि आदिवासी/जनजाति कोटाबाट सहसचिव भएका थिए। उनले आदिवासी/जनजाति कोटाबाट २०७१ मा नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहको सहसचिवमा नाम निकालेका थिए। भक्तपुरमा जन्मिएका श्रेष्ठ सरकारी सेवाबाट अवकाश पाइसकेका छन्। प्राविधिक सहसचिव उनले सडक विभाग र मातहतका निकायमा बसेर काम गरेका थिए।

जितेन्द्र बस्नेत आरक्षणबाट सहसचिव बनेका हुन्। उनी २०७३ साल बैशाखमा अपांग कोटाबाट सहसचिव बनेका थिए। २०३० साल साउनमा ओखलढुङ्गामा जन्मिएका बस्नेत अहिले गृह मन्त्रालयमा छन्। उनी हालै काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भएर गृह मन्त्रालय पुगेका हुन्।

उदय राना मगर आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका हुन्। २०७३ साल फागुनमा आदिवासी/जनजाति कोटाबाट मगर प्रशासन सेवाको सहसचिव भएका थिए। २०३० साल असारमा नुवाकोटमा जन्मिएका उनी सचिव हुने लाइनमा छन्। मगर अहिले हङकङको महावाणिज्यदूत रहेका छन्।

मोहनकुमार शाक्य पनि आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका हुन्। उनी २०७३ साल फागुनमा आदिवासी/जनजाति कोटाबाट इन्जिनियरिङ सेवाको सिभिल समूह, इरिगेसन उपसमूहको सहसचिव बनेका थिए। संखुवासभाका शाक्य अहिले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा कार्यरत छन्।

आस्मान तामाङ पनि आदिवासी/जनजाति कोटाबाट सहसचिव बन्नेमा पर्छन्। उनी २०७४ असारमा आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका हुन्। तामाङ २०३० साल फागुनमा काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएका हुन्। तामाङ अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयकाे प्रमुखको जिम्मेवारीमा रहेका छन्।

धीरेन्द्रकुमार प्रधान आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका हुन्। उनी नेपाल वन सेवा, जनरल फरेष्ट्री समूहका सहसचिव हुन्। गोरखाका प्रधान २०७५ साल वैशाखमा आदिवासी/जनजाति कोटाबाट वन सेवाको सहसचिव बनेका थिए। प्रधान अहिले बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिवको भूमिकामा छन्।

आनन्द सारू आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका हुन्। उनी २०७५ जेठमा आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका थिए। २०३३ साल कात्तिकमा सुर्खेतमा जन्मिएका सारू अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कार्यरत छन्। उनी कर्णाली प्रदेशमै गएर सेवा गरिरहेका छन्।

सन्तबहादुर सुनार दलित कोटाबाट सहसचिव भएका थिए। दैलेखका सुनार २०७५ जेठमा दलित कोटाबाट सहसचिव भएका थिए। सारूसँगै सहसचिव भएका सुनारले ५८ वर्षे उमेरहदका कारण अवकाश पाइसकेका छन्।

रामकुमार श्रेष्ठ आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका हुन्। उनी २०७७ असारमा आदिवासी/जनजाति कोटाबाट इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूहको सहसचिव बनेका थिए। गोरखामा जन्मिएका श्रेष्ठ सानो उमेरमै सहसचिव बन्न सफल भएका हुन्। उनी अहिले खानेपानी विभागको महानिर्देशक हुन्।

प्रभातकुमार झा मधेशी कोटाबाट सहसचिव भएका हुन्। उनले मधेशी कोटाबाट २०७७ असारमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहको सहसचिवमा नाम निकालेको पाइन्छ। सप्तरीका झाले सडक विभागको उपमहानिर्देशक एवं प्रवक्ताको भूमिकामा रहेर समेत काम गरिसकेका छन्। झा अहिले सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक हुन्।

श्यामकृष्ण थापा अपांग कोटाबाट सहसचिव भएका हुन्। उनी २०७८ चैतमा अपांग कोटाबाट सहसचिव भएका थिए। थापा अहिले पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन्।

डा. प्रज्वल श्रेष्ठ आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका हुन्। उनी २०७८ साल मंसिरमा आदिवासी/जनजाति कोटाबाट नेपाल स्वास्थ्य सेवा मेडिसिन समूह, जनरल मेडिसिन उपसमूह एघारौं तह (सहसचिव) बनेका थिए। सिन्धुपाल्चोकका श्रेष्ठ अहिले राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक रहेका छन्।

डा. पुजन बल्ल पनि आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका हुन्। उनी २०७८ साल चैतमा नेपाल स्वास्थ्य सेवा एनेस्थेसियोलोजी समूह एघारौं तह (सहसचिव) बनेका थिए। भक्तपुरका बल्ल अहिले कर्णाली प्रदेशमा कार्यरत छन्।

रमेशकुमार सिंह मधेशी कोटाबाट सहसचिव बनेका हुन्। उनी २०७९ वैशाखमा मधेशी कोटाबाट इन्जिनियरिङ सेवाको सिभिल समूह, इरिगेसन उपसमूहको सहसचिव बनेका थिए। मोरङका सिंह चल्तापूर्जा लोकसेवा पढाउने प्राविधिक सहसचिव हुन्। सिंह अहिले बागमती सिंचाईं आयोजना, सर्लाहीका आयोजना निर्देशकको जिम्मेवारीमा पुगेका छन्।

कुवेर नेपाली दलित कोटाबाट सहसचिव बनेका हुन्। उनले २०७९ चैतमा दलित कोटाबाट नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहको सहसचिवमा नाम निकालेका थिए। पाँचथरका नेपाली पनि सानो उमेरमै सहसचिवमा नाम निकाल्नेमा पर्छन्। नेपाली अहिले पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयका आयोजना प्रमुख छन्।

रोशन श्रेष्ठ आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका हुन्। उनी २०७९ चैतमा आदिवासी/जनजाति कोटाबाट नेपाल इन्जिनियरिङ सेवा सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका सहसचिव बनेका थिए। ललितपुरका श्रेष्ठ लकडाउनको बेलामा गाडी र महिलासहित स्वयम्भु पुगेपछि चर्चामा आएका थिए। श्रेष्ठ अहिले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको क्षेत्रीय सहरी विकास आयोजनाका प्रमुख छन्।

श्रीराम ठाकुर मधेशी कोटाबाट सहसचिव भएका हुन्। उनी २०८१ जेठमा मधेशी कोटाबाट प्रशासन सेवाको सहसचिव बनेका हुन्। ठाकुर अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रमका प्रमुख छन्।

आरक्षणबाट सहसचिव बन्नेहरू

१, गणेश राई (आदिवासी/जनजाति)

२, वीरेन्द्रकुमार यादव (मधेशी)

३, वीरबहादुर राई (आदिवासी/जनजाति)

४, मानबहादुर बी. के. (दलित)

५, दिपक काफ्ले (अपांग)

६, मदन भुजेल (आदिवासी/जनजाति)

७, चक्रबहादुर बुढा ( पिछडिएको क्षेत्र)

८, इमनारायण श्रेष्ठ (आदिवासी/जनजाति)

९, दीपक श्रेष्ठ (आदिवासी/जनजाति)

१०, जितेन्द्र बस्नेत (अपांग)

११, उदय राना मगर (आदिवासी/जनजाति)

१२ मोहनकुमार शाक्य (आदिवासी/जनजाति)

१३, आस्मान तामाङ (आदिवासी/जनजाति)

१४, धिरेन्द्रकुमार प्रधान (आदिवासी/जनजाति)

१५, आनन्द सारू (आदिवासी/जनजाति)

१६, सन्तबहादुर सुनार (दलित)

१७, रामकुमार श्रेष्ठ (आदिवासी/जनजाति)

१८, प्रभातकुमार झा (मधेशी)

१९, श्यामकृष्ण थापा (अपांग)

२०, प्रज्वल श्रेष्ठ (आदिवासी/जनजाति)

२१,पुजन बल्ल (आदिवासी/जनजाति)

२२, कुवेर नेपाली (दलित)

२३, रोशन श्रेष्ठ (आदिवासी/जनजाति)

२४, रमेशकुमार सिंह (मधेशी)

२५, श्रीराम ठाकुर (मधेशी)

 

क्याटेगोरी : समाचार
ट्याग : ##मदन भुजेल, #आनन्द सारू, #आरक्षण, #आस्मान तामाङ, #इमनारायण श्रेष्ठ, #उदय राना मगर, #कुवेर नेपाली, #कोटा प्रणाली, #चक्रबहादुर बुढा, #जीतेन्द्र बस्नेत, #दिपक काफ्ले, #दिपक श्रेष्ठ, #धिरेन्द्रकुमार प्रधान, #पुजन बल्ल, #प्रज्वल श्रेष्ठ, #प्रभातकुमार झा, #मानबहादुर बिके, #मोहनकुमार शाक्य, #रमेशकुमार सिंह, #रामकुमार श्रेष्ठ, #रोशन श्रेष्ठ, #वीरबहादुर राई, #वीरेन्द्रकुमार यादव, #श्यामकृष्णा थापा, #श्रीराम ठाकुर, #सान्तबहादुर सुनार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ