काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईं, परियारको सञ्चारमा सरूवा


काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरोजप्रसाद गुरागाईंको सरूवा भएको छ। सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा गर्दै गुरागाईंलाई काठमाडौं महानगरपालिकामा पठाएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को आयोजना प्रमुख रहेका गुरागाईं काठमाडौं महानगरपालिका पुगेका छन् । संघीय सरकारले काठमाडौं महानगरपालिकासँग समन्वय नै नगरी गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको हो। ललितपुर जावलाखेलका गुरागाईं झन्डै दुई वर्ष समृद्धि आयोजना चलाएर काठमाडौं महानगरपालिका सरूवा भएका हुन्।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को रोजाइँमा प्रदिप परियारलाई काठमाडौं महानगरपालिका लगिएको थियो। मन्त्रिपरिषद्को बैठकले उनलाई सञ्चारमा सरूवा गर्दै गुरागाईंलाई काठमाडौं महानगरपालिका पठाएको हो। परियारलाई ८ महिनामै काठमाडौं महानगरपालिकाबाट झिकिएको छ। गुरागाईंले बालेनको ‘स्पिरिट’मा काम गर्न सक्छन् सक्दैनन् हेर्न बाँकी छ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक (सहसचिव) बलराम रिज्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्दै परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पठाइएको हो। परियारलाई सूचना तथा प्रसारण विभागका महानिर्देशक बनाउने सम्भावना छ।

त्यस्तै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको पनि सरूवा गरिएको छ । अपांग कोटाबाट सहसचिव भएका थापालाई गृह मन्त्रालय सरुवा गर्दै राष्ट्रिय दलित आयोगका सचिव (सहसचिव) शिवराज चौलागाईंलाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको हो। यातायात व्यवस्था विभागले विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरुवा गर्दै यातायात व्यवस्था विभागको महानिर्देशकमा मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव राजिव पोखरेललाई ल्याइएको छ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गर्दै त्यहाँका सहसचिव सुमन घिमिरेलाई गृह मन्त्रालय सरुवा गरिएको हो। गृह मन्त्रालयमा गण्डकी प्रदेशकाे सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सचिव प्रकाश पौडेल, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाल र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव उमेशकुमार ढकाल भित्रिएका छन्।

अर्थ मन्त्रालय अन्तर्गतका सहसचिव सम्भुप्रसाद मरासिनी ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालय पुगेका छन्। ऊर्जाका तोयनारायण सुवेदी उपराष्ट्रपति कार्यालय सरुवा भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विदुरप्रसाद खनाल, लोकसेवा आयोग जलेश्वर कार्यालयमा प्रमुख तुलसीनाथ गौतम र मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव केशवराज सुवेदी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्। लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव कृष्ण पौडेल थारू आयोग सरुवा भएका छन् भने कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन आयोगका सचिव राष्ट्रिय दलित आयोग आएका छन्।

भ्रष्टाचार मुद्दाबाट सफाई पाएका वीरेन्द्रदेव भारती जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका छन्। गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव पुरुषोत्तम शर्मा लोकसेवा आयोग आएका हुन्। गण्डकी प्रदेश प्रमुखको कार्यालका सचिव सेवन्तकराज दाहाल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सुरुवा भएका छन्।

प्राविधिक तर्फका सहसचिव पनि ठूलो संख्यामा सरुवा गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ