को बन्ला डेमोक्र्याट वकिलबाट सर्वाेच्चको न्यायाधीश? 


काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिको अन्तिम कसरत भइरहेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ यहीं असोज २० गते अवकाश हुने भएपछि त्यस अगाडि नै न्यायाधीश नियुक्तिका लागि सिफारिसको तयारी भइरहेको हो। अहिले सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सिफारिस नगर्ने हो भने ६ महिना पछाडि धकेलिन्छ। सर्वाेच्च अदालतको आदेशका कारण पनि तत्काल न्यायाधीश नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउनु पर्ने अर्को बाध्यता रहेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र संवैधानिक परिषद्बाट हालै प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउत सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न अग्रसर छन्। कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरसिया पनि थाइल्याण्डबाट फर्किसकेका छन्। न्याय परिषद्का अर्का सदस्य रामप्रसाद श्रेष्ठ पनि डेढ/दुई महिना पछि बिदाई हुने भएकाले न्यायाधीश नियुक्तिमा सबैको स्वार्थ मिलेको छ। विश्वम्भरप्रसाद घर जाने भएपछि र उनको ठाउँमा राउत उक्लिने भएपछि न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ।

सर्वोच्च अदालतमा उच्च अदालबाट र कानुन व्यवव्यवसायीबाट न्यायाधीश ल्याउने विषयमा विवाद छ। कांग्रेस निकट डेमोक्र्याट वकिलबाट एकजना र एमाले निकट वकिलबाट एकजना वकिल सर्वोच्च अदालतमा लगिने लगभग निश्चित छ। ३ जना उच्चका न्यायाधीशबाट र ३ जना कानुन व्यवसायी वा ४ जना उच्चबाट २ जना कानुन व्यवसायीबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने गरी दुई विकल्पमा छलफल भइरहेको न्याय परिषद् स्रोतले बतायो।

एमाले निकट वकिलबाट महान्यायाधिवक्ता रमेश बडालले ठाउँ छाडे ईश्वरी भट्टराई सर्वोच्च जाने उच्च सम्भावना देखिन्छ। उच्च अदालतबाट नृपध्वज निरौला, रमेशप्रसाद राजभण्डारी, शान्ति सिंह थापा, लोहितचन्द्र शाह, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेल सर्वोच्चमा आउने दौडधुपमा छन्। महिलाबाट थापाको सम्भावना उच्च देखिन्छ।

सर्वोच्चमा जान डेमोक्र्याट वकिलहरूबीच भने तीव्र प्रतिस्पर्धा रहेको पाइन्छ। उक्त समूहबाट विजयप्रसाद मिश्र, केदार कार्की, मोहन इङनाम, खम्बबहादुर खाती, अरुण पौडेल सर्वोच्चको न्यायाधीश बन्ने चर्चामा छन्। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पनि सर्वोच्च अदालत जान इच्छा देखाइरहेको बताइन्छ। इङनामले भने न्यायाधीशमा जान खासै इच्छा देखाइरहेका छैनन्।

सर्वोच्च अदालतमा न्यायाधीश मात्र होइन प्रधान न्यायाधीश हुने व्यक्ति पठाउनु पर्छ भन्ने विषय कांग्रेस वृत्तमा व्यापक उठ्न थालेको छ। त्यसका लागि सम्भावित पात्र अरुण पौडेल हुन् भन्ने माथिल्लो तहमै ‘म्यासेज’ पुगिसकेको पाइन्छ। केदार कार्की र खम्बबहादुर खातीको नाम पनि उत्तिकै चर्चामा छ। सर्वोच्चको न्यायाधीशका लागि अलि बढी चर्चामा विजयप्रसाद मिश्रको नाम सुनिन्छ। त्यसैले जुनियरबाट लादा पौडेल र सिनियरबाट लादा मिश्रले बाजी मार्ने सम्भावना बढेको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ