श्रेष्ठ, पण्डित र तिमल्सिनालाई राजदूत नबनाउन डिपी अर्यालको यस्तो छ फरक मत


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद डिपी) अर्यालले कपिलमान श्रेष्ठ, धनप्रसाद पण्डित र नेत्रप्रसाद तिमल्सिनालाई राजदूत बनाउन नहुने भन्दै फरक मत राखेका छन्। संसदीय सुनुवाई समितिका सदस्य समेत रहेका अर्यालले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजूदूत पण्डित र मलेसियाका लागि प्रस्तावित राजदूत तिमल्सिनाको विषयमा फरक मत राखेका हुन्।

नेपालको संविधानको धारा २४८ (८) ले राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा सदस्य भईसकेको व्यक्ति अन्य सरकारी सेवामा जान नपाउने व्यवस्था रहेको र श्रेष्ठको नैतिक आचरणको कमी भएकाले राजदूत पदमा नियुक्तिका लागि योग्य नभएको अर्यालको फरक उल्लेख छ।

धनप्रसाद पण्डितले सूचना लुकाएको अभियोगमा दोषी ठहर भएर अदालतबाट जरिवाना समेत भएको व्यक्ति कुनै पनि हालमा राजदूतका लागि योग्य नहुने संसदीय सुनुवाई समितिका सदस्य अर्यालको ठहर छ। आचरणमा खोट भएका र कसुरदार ठहर भएका व्यक्तिलाई राजदूत पदमा नियुक्ति दिनु भनेको संवैधानिक पदको दुरुपयोग गर्नु हो भन्दै उनले फरक मत दर्ज गरेका छन्।

नेत्रप्रसाद तिमल्सिनाले सरकारविरुद्ध मुद्दा दायर गरेकाले नेपाल सरकारको प्रतिनिधि भएर विदेशमा प्रतिनिधित्व गर्नु उचित नहुने र नेपाल रेडक्रस सोसाइटीको अध्यक्षको कार्यकाल सकिएपछि रेडक्रसको लेटरप्याड र छाप अनधिकृत रूपमा प्रयोग गरेर किर्ते गरेको भन्दै अर्यालले कुनै पनि हालतमा यो उच्च नैतिक आचरण हुन नसक्ने फरक मत राखेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ