महालेखामा तरमारा कर्मचारीको हालिमुहाली


कठमाडौं। सरूवाको मापदण्ड नै आफ्नो स्वार्थ अनुकूल फेर्न सफल महालेखा नियन्त्रक कार्यालयका तरमारा कर्मचारी फेरि सरूवाको चलखेलमा लागेको पाइएको छ। महालेखा नियन्त्रक विनोदप्रकाश सिंहलाई मुस्ताङ, दोलखा, गोरखालगायतका जिल्ला घुमाएर ल्याएको गिरोहले सरूवामा सेटिङ गरिरहेको पाइएको हो।

(क) वर्गका कार्यालयबाट (ग) वर्गका कार्यालयमा जानुपर्ने मापदण्ड फेरेर (ख) वर्गका कार्यालयमा पनि जान सक्ने बनाउन सफल उक्त गिरोहले सरूवा सेटिङ समेत मिलाएको चर्चा छ। सामान्यतया कर्मचारीको सरुवा २ वर्षमा हुन्छ। निजामती सेवा ऐन र नियमावलीको हाँक दिएर बनाइएको लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१ मा भने एउटै कार्यालयमा ३ वर्षसम्म राख्ने नीति लिइएको छ।

महालेखा नियन्त्रक कार्यालय स्रोतका अनुसार अहिले लेखा समूहको सरूवामा कर्मचारी प्रशासन शाखाका लेखा उपसचिव निरज केसी, सडक विभागमा कार्यरत लेखा उपसचिव रविन कोइराला र महालेखा नियन्त्रक कार्यालयका लेखापाल हेमचन्द्र कार्कीले सेटिङ मिलाएका छन्। साढे ३ वर्षदेखि महालेखा नियन्त्रक कार्यालय बसेका निरज केसी ६ महिनापछि सडक विभाग जाने गरी सेटिङ मिलाएर अमेरिका गएका छन्। रविनले सडक छाडेपछि निरज जाने गरी सेटिङ मिलाएकाले साढे ३ वर्ष भएपनि निरजको अहिले सरूवा नहुने पक्का भएको महालेखा स्रोतले बतायो।

स्रोतका अनुसार महालेखाको सरुवा सेटिङ मिलाउने ‘कोर टिम’मा निरज, रविन र हेमचन्द्र रहेका छन्। उनीहरूले जे भन्यो त्यहीँ कुरा हुन थालेको छ। लेखाका तरमारा कर्मचारीको अगाडि महालेखा नियन्त्रक विनोदप्रकाश सिंह नतमस्तक हुन थालेका छन्। महालेखामा हुँदा गोपी मैनालीले जस्तै सम्झनलायक काम गर्छु भन्ने सिंह अन्ततः लेखाका तरमारासामु निरीह बनेका छन्। जिल्ला घुमेर आएपछि उनले ‘सिस्टम’सँग सौदाबाजी गरेको चर्चा हुन थालेको छ।

महालेखा नियन्त्रक कार्यालयले लेखा उपसचिवको सरूवाको तयारी गरेको छ। लेखा अधिकृत, लेखापाल र सहलेखापाल पनि सरूवा गर्ने तयारी भइरहेको महालेखाका अधिकृतहरु बताउँछन्। सरूवामा गिरोहले सेटिङ र आर्थिक चलखेल समेत गरिरहेको आरोप लागेको छ। यस्ता बेथिति रोक्ने विषयमा महालेखा नियन्त्रकको भूमिका महत्त्वपूर्ण हुन्छ। महालेखा नियन्त्रक ‘कोर टिम’सँगै सति जान्छन् कि ‘कोर टिम’को बदमासी सच्याउन तयार हुन्छन् हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार
ट्याग : #निरज केसी, #महालेखा नियन्त्रक विनोदप्रकाश सिंह, #रविन कोइराला, #सरुवा मापदण्ड तोडमोड, #हेमचन्द्र कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ