सुरक्षित गर्भपतनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउँछ: स्वास्थ्य सचिव डा. थपलिया


विराटनगर । कोशी प्रदेशकी स्वास्थ्य सचिव डा. राधिका थपलियाले सुरक्षित गर्भपतनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने बताइन्। स्वास्थ्य लाइभ मिडियाद्वारा आयोजित सुरक्षित गर्भपतनको लागि जवाफदेहीता विषायक मिडिया सचेतना कार्यक्रममा सचिव थपलियाले उक्त कुरा बताएकी हुन्।

प्रदेश सरकारले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउने विषयमा आवश्यक कानुन र पूर्वाधारको तयार गर्ने सचिव थपलियाको भनाइ छ। ‘स्वास्थ्य संस्थाको सेवा विस्तार र दक्ष जनशक्तिको तयार गर्ने विषयलाई प्रदेश सरकारले प्राथमिकता राखेको छ। यसका लागि प्रदेश सरकारले तालिम सञ्चालन र आवश्यक बजेटको व्यवस्थापन गर्छ।’, सचिव डा. थपलियाले भनिन्।

सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाहरूको सूचीकृत र अनुगमनलाई प्रदेश सरकारले विशेष कार्ययोजना ल्याउने जानकारी दिइन्। सुरक्षित गर्भपतन गराउन सेवा लिन जान हिचकिचाउने गरेको सचिव थपलियाले सुनाइन्। यसमा प्रदेश सरकारले सचेतना फैलाउने काम गरिरहेको उनको भनाइ छ।

प्रेसक्रिप्सन बिना गर्भपतनको औषधि दिन नमिल्ने गरी अनुगमन गर्नुपर्नेमा जोड दिँदै सचिव थपलियाले देखिएका समस्याहरु सुधार गर्दै लैजाने प्रतिबद्धता जनाइन्। ‘स्वास्थ्य मन्त्रालयले सुरक्षित र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न धेरै लगानी गरेको छ। तर लक्षित वर्गसम्म पुऱ्याउन सकिएको छैन। यसमा सञ्चारकर्मीले विशेष भूमिका खेल्नुपर्छ।’, सचिव थपलियाले भनिन्।

आधिकारिक ठाउँबाट सूचना नलिई समचार सम्प्रेषण गर्दा गलत सूचना बाहिर जाने भन्दै सचिव थपलियाले सही र आधिकारिक ठाउँबाट मात्र सूचना ‘भेरिभाई’ गरेर समाचार संप्रेषण गर्न पत्रकारलाई आग्रह गरिन्। समचार सेन्सेटाइज गर्ने नाममा समाजमा नकारात्मक सन्देश जाने कुराबाट जोगिनु पर्ने उनको भनाइ छ। सही सूचना दिनका लागि र स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रदेश सरकार सदैव तत्पर रहेको सचिव थपलियाको भनाइ छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ