मुलुकमाथि विपत्ति आइपर्दा आफ्नै दुनियाँमा रमाइरहेका जिम्मेवार पदाधिकारीहरू


काठमाडौं। गत शुक्रबार, शनिबार र आईतबार देशमा ठूलो विपत्ति आइलाग्यो। बाढीपहिरोका कारण शनिबार र आईतबार नागरिकले ठूलो क्षति र आहात व्यहोर्नु पऱ्यो। काठमाडौं उपत्यका अझ भनौं देशलाई शासन गर्ने मन्त्रीहरू बस्ने निवास छेउमै नख्खु खोलाले हेर्दाहेर्दै ४ जना मान्छे बगायो। यद्यपि जनस्तरबाट ३ जनाको सकुशल उद्धार भयो। त्यहाँ राज्य उपस्थिति देखिएन। बाढीपहिरोका कारण सयौंको ज्यान गएको छ। हजारौं मानिस घरबारविहीन भएका छन्। देश सरकारविहीन भएको टिप्पणी समेत भयो।

मुलुकमा यस्तो प्राकृतिक विपत्ति आईपर्दा प्रधानमन्त्री, मुख्यसचिव, प्रहरी महानिरीक्षकदेखि राष्ट्रिय विपद् जोखिन न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल आफ्नै दुनियाँमा रमाइरहेको देखियो। विपद्को बेला उनीहरू जिम्मेवार र जवाफदेही बनेको देखिएन।

मुलुकमा महाविपत्ति परेका बेला प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाका विश्वविद्यालय प्रवचन दिँदै हिँडेका थिए। मुख्यसचिव एकनारायण अर्याल बाजागाजासहित गृह जिल्ला स्याङ्जामा रमाइरहेका थिए। त्यसै बेला विपद्मा परेका नागरिकहरू दुःख र पीडा बेसाइरहेका थिए। बेसाहारा बनिरहेका थिए। विपद्को बेला नागरिक मात्र होइन राजनीतिक र प्रशासनिक नेतृत्व पनि अविभावकबिहीन देखियो।

बाजागाजासहित सम्मान थाप्न स्याङ्जामा रमाइरहेका मुख्यसचिव अर्याल बाढीपहिरोको बितण्डा रोकिएपछि मात्र हेलिकप्टर चढेर काठमाडौं फिर्ता भएका थिए। राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क उडेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार मात्र स्वदेश फिर्ता भएका छन्। तत्काल देश फर्किन उनले पनि आवश्यक ठानेनन्।

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल त अझै विदेशमै अल्झिरहेका छन्। आईजीपी वसन्तबहादुर कुँवर पनि विदेशमा छन् । ग्रिसमा रहेका आईजीपी कुँवर मंगलबार मात्रै स्वदेश फर्किने भएका छन्। बेलायतमा रहेका राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत पोखरेल अझै केही दिन उतै रहने देखिन्छ। देश विपद्मा परेका बेला सरकारका जिम्मेवार पदाधिकारी नै सम्पर्कविहीन भएपछि नागरिकले राहात पाउन सकेनन्। मुलुक र जनताप्रति उनीहरू जिम्मेवार देखिएनन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ