स्वास्थ्यमन्त्री पौडेल भारतबाट फर्किएलगत्तै जर्मनी उड्ने


काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अहिले भारतको नयाँ दिल्लीमा छन्। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्रीय बैठकमा सहभागी हुन उनी दिल्ली पुगेका हुन्। असोज २१ देखि २३ गतेसम्म चल्ने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्रीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वास्थ्यमन्त्री पौडेल नयाँ दिल्ली गएका हुन्। उनले नेपालका तर्फबाट उक्त बैठकलाई सम्बोधन समेत गरिसकेका छन्।

देशमा बाढीपहिरोको विपत्ति रहेका बेला नयाँ दिल्ली प्रस्थान गरेका स्वास्थ्यमन्त्री पौडेल स्वदेश फर्किएलगत्तै जर्मनीको बर्लिन तर्फ जाने कार्यक्रम रहेको छ। विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुन जानका लागि मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण समेत स्वीकृत गरिसकेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै २०८१ असोज २७ मा जर्मनीको बर्लिनमा सञ्चालन हुने  विश्व स्वास्थ्य शिखर सम्मेलन, २०२४ कार्यक्रममा सहभागी हुन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललाई स्वीकृति प्रदान गरिएको जानकारी दिए। उनी लगातार विदेश जाने मन्त्रीमा देखा परेका छन्। 

मन्त्रिपरिषद्को बैठकले २०८१ कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको राजधानी कायरोमा आयोजना विश्व सहरी मञ्च सम्मेलन मा सहभागी हुन उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई समेत स्वीकृति प्रदान गरेको छ। त्यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई २०८१ कात्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने खेलकुदसम्बन्धी एक कार्यक्रममा सहभागी हुन समेत स्वीकृति प्रदान गरेको हो। विदेश भ्रमणका लागि स्वीकृति पाएका तीनै जना कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ