लोकमानपछि गणतन्त्रमा ११ जना मुख्यसचिव बने तर पञ्चेबाजा बजाउने एकनारायण एक्लो!

पूर्वमुख्यसचिव विमल कोइराला भन्छन्, 'मुख्यसचिवले गर्न नहुने काम गरे'


समाचार टिप्पणी

काठमाडौं। लोकमान सिंह कार्कीपछि गणतन्त्रमा ११ जना मुख्यसचिव बनेका छन्। तर, मुख्यसचिव बनेपछि गाउँमा गएर पञ्चेबाजा र अबिर जात्रा गर्ने मुख्यसचिव एकनारायण अर्याल पहिलो व्यक्ति बनेका छन्। उनले बजाएको पञ्चेबजाको आवाज र दृश्य इतिहासको परिदृश्यमा गञ्जिरहने देखिन्छ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन गरेको शाहीकालका शक्तिशाली मुख्यसचिव लोकमान सिंह कार्कीले समेत पञ्चेबाजा र अबिर जात्रा गरेनन्। कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त समेत बने। तर, ‘सामन्ती परिवार’का सदस्यका रूपमा परिचित कार्की मुख्यसचिव भएपनि सामन्ती शैली देखाउँदै तामझाम र पञ्चेबाजा बजाएर गाउँ परिक्रमा गरेनन्। उनले चाहेको भए पञ्चेबाजा बजाएर विराटनगर परिक्रमा गर्न कुनै ठूलो कुरा थिएन। तर, कार्कीले निर्लज्जपन देखाउने दुस्साहस गरेको पाइँदैन।

शाहीकाल अन्त्य भएर मुलुकमा गणतन्त्र आयो। गणतन्त्र आएपछि लोकमान सिंह कार्कीलाई हटाएर मुकुन्दप्रसाद पौडेल कायममुकाय मुख्यसचिव बनाइयो। त्यसपछि भोजराज घिमिरे, माधवप्रसाद घिमिरे, लीलामणि पौड्याल, सोमलाल सुवेदी, राजेन्द्रकिशोर क्षेत्री, लोकदर्शन रेग्मी, शंकरदास बैरागी, बैकुण्ठ अर्याल, लीलादेवी गडतौला हुँदै एकनारायण अर्याल मुख्यसचिव बने। उनीभन्दा अगाडिका कुनै मुख्यसचिवले नबजाएको पञ्चेबाजा एकनारायणले बजाए।

महिलाबाट पहिलो मुख्यसचिव बनेर नेपालको इतिहासमा ‘रेकर्ड’ कायम गर्न सफल लीलादेवी गडतौलाले समेत नबजाएको पञ्चेबाजा मुलुकमा प्राकृतिक विपत्ति परेका बेला एकनारायणले बजाएका हुन्। कतिसम्म भने एकनारायण जन्मेको गाउँ स्याङ्जाको आँधीखोलामा मुख्यसचिव भएको उपलक्ष्यमा पञ्चेबाजासहित राखिएको सम्मान कार्यक्रममा नजाने एमालेका स्थानीय नेतासँग उनी रिसाएका समेत रहेछन्। स्याङ्जा कै लोकदर्शन रेग्मी मुख्यसचिव हुँदा पनि गाउँमा गएर पञ्चेबाजा बजाएका थिएनन्। पाल्पाका माधवप्रसाद घिमिरे त मुख्यसचिव मात्र होइन गृह र परराष्ट्रमन्त्री समेत भएका थिए। तर, पनि उनले यस्तो किसिमको रबैया देखाएका थिएनन्।

लोकमान सिंह कार्कीभन्दा अगाडि मुख्यसचिवको भूमिकामा विमल कोइरालाले मुख्यसचिव हुँदैमा पञ्चेबाजा बजाउने काम गलत भएको बताए। यो कर्मचारीको एउटा ‘प्रमोशन’ भएकाले पञ्चेबाजा बजाएर गाउँ परिक्रमा गर्नु गलत गतिविधि भएको कोइरालाले टिप्पणी गरे। भोजपुरका कोइरालाले पनि मुख्यसचिव भएपछि गाउँमा गएर पञ्चेबाजा बजाएनन्। अहिलेसम्म मुख्यसचिव भएका कुनै व्यक्तिले पञ्चेबाजा बजाएको आफ्नो जानकारी नरहेको पूर्वमुख्यसचिव कोइरालाले सुनाए। मुख्यसचिव भएपछि पञ्चेबाजा बजाएको यो पहिलो घटना रहेको उनको ठम्याई छ। मुलुकलाई राष्ट्रिय विपत्ति परेका बेला मुख्यसचिवले पञ्चेबाजा र अबिर जात्रा गरेर गर्नै नहुने काम गरेको कोइरालाको तर्क छ।

पूर्वसचिव एवं लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले पनि मुख्यसचिव हुँदैमा पञ्चेबाजा बजाउन आवश्यक नरहेको टिप्पणी गरे। कर्मचारीले एउटा बढुवा पाउँदैमा के-के नै भएजस्तो गरी पञ्चेबाजा बजाउने कुरा अनुचित रहेको उनको तर्क छ। यो कर्मचारीतन्त्रमा भित्रिएको विकृत प्रवृत्ति रहेको बताउँदै मैनालीले आफू मुख्यसचिवभन्दा बरियतामा अगाडि रहेको लोकसेवा आयोगको अध्यक्ष बन्दा समेत यस्तो काम नगरेको सुनाए। ‘सांसद र सहायकमन्त्रीभन्दा माथिल्लो पदको लोकसेवा आयोगको अध्यक्ष हुँदा समेत हामीले त्यस्तो गरेनौं। तर अहिले त मुख्यसचिवले पञ्चेबाजा बजाएर सम्मान खाएको देखियो। यो त अति नै भयो’, मैनालीले भने। उनले पनि मुख्यसचिव भएका व्यक्तिले गाउँमा गएर पञ्चेबाजा बजाएर सम्मान खाएको कुरा आफ्नो जानकारीमा नरहेको बताए।

स्वास्थ्य लाइभसँगको कुराकानीमा केही पूर्वमुख्यसचिवले हालका मुख्यसचिवले पञ्चेबाजा बजाएर कर्मचारीतन्त्रको बदनाम गराएको टिप्पणी गरेका छन्। उनको यो कार्यलाई पाखण्डीपनको संज्ञा दिएका छन्। उमेश मैनाली मात्र होइन हालका लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी पनि पूर्वसचिव हुन्। उनले पनि गाउँमा गएर पञ्चेबाजा बजाएनन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानान्द पौडेल, महालेखापरीक्षक तोयम राया पनि सचिवबाटै उक्त पदमा पुगेका हुन्। उनीहरूले पनि पद प्राप्तीको अहमता प्रदर्शन गर्दै गाउँ गएर पञ्चेबाजा बजाएको पाइँदैन।

महालेखापरीक्षक बनेका भानुप्रसाद आचार्य, टंकमणि शर्मा, अख्तियार प्रमुख बनेका नवीनकुमार घिमिरे, दीप बस्न्यात, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष बनेका शान्तराज सुवेदी र रामकृष्ण तिमिल्सिना पनि विशिष्ट श्रेणीबाटै गएका व्यक्ति हुन्। उनीहरूले पनि पद प्राप्तीमा पञ्चेबाजा ठोकेनन्। संसद्को महासचिव रहेका पद्मप्रसाद पाण्डे पनि नायब महान्यायाधिवक्ता (सचिव), संसद् सचिवालयको सचिव हुँदै महासचिव बनेका हुन्। उनले पनि पञ्चेबाजा बजाएनन्।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित अन्तरिम मन्त्रिपरिषद्मा सबै पूर्वसचिव मन्त्री बनेका थिए। माधवप्रसाद घिमिरे, शंकरप्रसाद कोइराला, विद्याधर मल्लिक, हरिप्रसाद न्यौपाने, माधव पौडेल, ऋद्धिबाबा प्रधान, छबिराज पन्त, टेकबहादुर थापा घर्ती, रामकुमार श्रेष्ठ, उमाकान्त झा मुख्यसचिवभन्दा धेरै माथिको बरियतामा रहेको मन्त्री बन्न सफल भएका थिए। राजनीति प्रकृतिको पदमा पुगेका ती पूर्वसचिवले पनि गाउँमा गएर मन्त्री भएको उपलक्ष्यमा पञ्चेबाजा बजाएका थिएनन्। एकनारायण अर्यालले भने मुख्यसचिव भएपछि पञ्चेबाजा बजाएर सबै किसिमको ‘रेकर्ड’ कायम गरेका छन्। यो पञ्चेबाजा काण्ड नेपालको ईतिहास दर्ज हुन पुगेको हो। पञ्चेबाजा भन्नेवित्तिकै एकनारायण अर्यालको नाम आउने छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ