डाक्टर कुट्ने इनरुवाका वडाध्यक्षका भाइ खेमराज प्रहरी हिरासतमा, छुटाउन चर्को राजनीतिक दबाव

मेसु राईको गालामा थप्पड हान्ने खेमराज इनरुवा कांग्रेसका नगर सचिव हुन्


इनरुवा। सुनसरीको इनरुवास्थित जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोष राईमाथि हातपात गर्ने खेमराज थापा प्रहरी हिरासतमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय, सुनसरीले डाक्टर कुट्ने खेमराज थापालाई पक्राउ गरेर अदालतबाट ४ दिनको म्याद थपाएको छ। तर, उनलाई छुटाउन चर्को राजनीतिक दबाव सुरु भएको पाइन्छ।

सुनसरी जिल्ला अस्पतालका निमित्त मेसु राईलाई प्रहरीमा थापाविरुद्ध जाहेरी नदिन सुनसरी कांग्रेसका नेताहरूले चर्को दबाव दिएका थियो। डाक्टर कुट्ने थापा इनरुवा नगरपालिका वडा नम्बर ६ मधेशाका वडाध्यक्ष सुमन थापाका भाइ हुन्। त्यसैले कांग्रेसका नेताहरू उक्त ‘केस’ मिलाउन सक्रिय भएर लागेका थिए। तर, राईले कानुनी उपचारमै जाने अडान लिएपछि जाहेरी लिन प्रहरीले बाध्य भयो। अहिले पनि कांग्रेसका नेताहरूले मुद्दा नचाउन प्रहरीलाई चर्को दबाव दिइरहेको प्रहरी स्रोतले बतायो।

सुनसरी जिल्ला समन्वय समितिका सभापति राजन मेहता, कांग्रेसबाट इनरुवा नगरपालिकामा निर्वाचित नगर प्रमुख केदार भण्डारी, वडाध्यक्ष सुमन थापालगायत डाक्टर कुट्ने नेपाली कांग्रेसका इनरुवा नगर समितिका सचिव समेत समेत रहेका खेमराज थापालाई छुटाउनका लागि सक्रियतापूर्वक लागेको पाइन्छ। कुटाई खाने चिकित्सक र प्रहरीमाथि आरोपित खेमराजलाई उन्मुक्ति दिन चर्को दबाव आउन थालेको बुझिन्छ। मेसु राईलाई कार्यकक्षमै हातपात गरेको सिसिटिभी फुटेज सार्वजनिक हुँदा समेत कांग्रेस नेताहरु डाक्टर कुट्ने अराजक नगर सचिव खेमराजलाई छुटाउने काममा सक्रिय छन्। यसले सुनसरीको राजनीति गुण्डाराजमा परिणत हुनेमा चिन्ता व्यक्त गर्न थालिएको छ। सुनसरी एमालेले भने डाक्टर कुट्नेमाथि हदैसम्मको कानुनी कारबाही हुनु पर्ने माग राख्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई ज्ञापनपत्र बुझाएको छ।

डाक्टर कुट्ने खेमराज थापाको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग पनि घनिष्ठ सम्बन्ध रहेको पाइन्छ। उनले स्वास्थ्यमन्त्रीको समेत धाक लगाएर चिकित्सक तर्साउने गरेका छन्। इनरुवाका कांग्रेस नगर सचिव खेमराज नगरपालिकाका ठेकेदार समेत हुन्। नगरपालिकाका ठेक्कापट्टामा उनको बर्चस्व रहेको बताइन्छ।

डाक्टर कुट्ने खेमराज थापासँग कम जोड्दै स्वास्थ्यमन्त्री प्रदिप पौडेल

निमोनिया भएर भर्ना भएका ७० वर्षीय बिरामीका छोरा खेमराज थापाले आफूलाई थप्पड हानेका पीडित मेसु राईको स्पष्टोक्ति छ। शुक्रबार बार्डमा राउण्ड लिने क्रममा रिपोर्ट ‘मिसप्लेस’ भएको स्वीकार गर्दै राईले छलफल गर्न बोलाउँदा खेमराज आफ्नो दाहिने गालामा झापड हानेको बताए। शनिबार बेलुका मेसु राईमाथि हातपात भएको थियो। मेसु राईका अनुसार वडाध्यक्ष सुमनको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी तिवारीको कार्यकक्षमा छलफल हुँदा गलत ‘प्रेसक्रिप्सन’ लेखिएको उक्त घटनाको विषयमा छानबिन गर्ने सहमति भएको थियो। त्यसपछि वडाध्यक्षका भाइ खेमराजले ‘ग्याङ’ लिएर गएर मेसु राईलाई कार्यकक्षमै प्रवेश गरेर गालामा थप्पड हानेको सिसिटिभी फुटेजमा प्रस्टै देखिन्छ।

सुनसरी जिल्ला अस्पतालकी निमित्त मेसु श्रीया पंगेनीलाई हटाएर राईलाई बनाएदेखि नै अस्पतालभित्र राजनीति हुन थालेको अस्पताल स्रोतले बतायो। स्रोतका अनुसार राईलाई अस्पतालबाट हटाउने उद्देश्यले विभिन्न षड्यन्त्र भइरहेको थियो। राई पंगेनीभन्दा वरिष्ठ चिकित्सक भएकाले बाध्यताबश उनलाई अस्पताल प्रमुख बनाइएको हो।

राउण्डमा आएका राईलाई अर्काको रिपोर्ट हाल्दिएर यस्तो घटना ल्याउने काम भएको एकथरी कर्मचारीको आरोप छ। ‘डिस्चार्ज’ भएर घर गइसकेको बिरामीका छोरा थापाले आएर मेसु राईलाई गालामा थप्पड हान्नुको पछाडि त्यसैले काम गरेको ती कर्मचारीको बुझाइ छ। पंगेनी राजन मेहता निकट भएकाले पनि इनरुवा अस्पतालमा राईलाई टिक्न मुस्किल पर्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #खेमराज थापा, #डा. श्रेया पंगेनी, #डा. सन्तोष राई जिल्ला अस्पताल सुनसरी मेसु, #सुनसरी जिल्ला अस्पताल इनरुवा, #सुमन थापा वडाध्यक्ष

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ