वीरसहित ७ प्रदेशका ८ अस्पतालमा जलनका बिरामीको निःशुल्क उपचार हुने


काठमाडौं। सरकारले वीर अस्पतालसहित ७ प्रदेशका ८ अस्पतालमा आर्थिक अवस्था कमजोर भएका जलनबाट पीडित बिरामीको निःशुल्क उपचार गर्ने भएको छ। मन्त्रिपरिषद्को कार्तिक २ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्ताव अनुसार आर्थिक अभावमा जलनबाट पीडित बिरामी नि:शुल्क उपचार गर्ने निर्णय भएको हो। वीर अस्पतालदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलगायतका आर्थिक अवस्था कमजोर भएका जलनका बिरामीको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

मन्त्रिपरिषद्को निर्णायनुसार कोशी प्रदेशको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, मधेश प्रदेशको नारायणी अस्पताल, वीरगञ्जमा आर्थिक अभाव भएका जलनमा बिरामीको निःशुल्क उपचार गरिने छ।

बागमती प्रदेशको वीर अस्पतालस्थित जलन वार्ड र कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा लुम्बिनी प्रदेशको नेपालगञ्जस्थित भेरी अस्पतालमा आर्थिक अवस्था कमजोर भएका जलनबाट पीडित बिरामीको निःशुल्क उपचार हुने छ। त्यस्तै कर्णाली प्रदेशको सुर्खेतस्थित  प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, धनगढीमा त्यस्ता जलनका बिरामीको निःशुल्क उपचार हुने व्यवस्था मिलाइएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ