गृहमा पुराना सहसचिवले जिम्मेवारी पाउन सकेका छैनन् नयाँ सहसचिव थपिँदै

गृहमन्त्री रमेश लेखक असफल बन्ने खतरा!


काठमाडौं । गृह मन्त्रालयमा आधा दर्जन बढी सहसचिव अलपत्र अवस्थामा छन्। ती सहसचिव हरूको व्यवस्थापन गर्न नसक्दै गृहमा नयाँ सहसचिव थपिन पुगेका हुन्। गृह मन्त्रालयमा उपराष्ट्रपति कार्यालयबाट तोयनारायण सुवेदी, कर्णाली प्रदेशबाट दीर्घबहादुर पोखरेल र लुम्बिनी प्रदेशबाट विनोदकुमार खड्का भित्रिएका छन्।   

गत भदौंमै गृह मन्त्रालयमा सहसचिवहरू उमेश कुमार ढकाल, गोविन्दप्रसाद रिजाल, प्रकाश पौडेल, सुमन घिमिरे र श्यामकृष्ण थापा भित्रिएका थिए। तिनीहरूमध्ये ढकाललाई काभ्रेपलाञ्चोक र घिमिरेलाई धादिङको सिडिओ बनाएर पठाइएको छ। बाढीपहिरोमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै काभ्रे र धादिङका सिडिओ तानेर उनीहरुलाई पठाइएको हो। वरिष्ठ सहसचिव रिजाल र पौडेलले भने अझैसम्म जिम्मेवारी पाउन सकेका छैनन्। उनीहरु डेढ महिनादेखि गृहको बरण्डामा थन्किन विवश देखिन्छ।

गृह मन्त्रालयले बरण्डामा रहेका सहसचिवहरू गोविन्दप्रसाद रिजाल, प्रकाश पौडेल, नारायणप्रसाद अर्याल, बासुदेव घिमिरे, रामबन्धु सुवेदी, श्यामकृष्ण थापा, रमेश ढकाल र लालबाबु कवारीलाई एकएकवटा जिल्ला हेर्नेगरी बाढीपहिरो प्रभावित जिल्लामा खटाएको थियो। फिल्डमा पुगेर आएका ती सहसचिवमध्ये नारायणप्रसाद अर्याल गृहबाट बाहिरिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् भने अन्य सहसचिवहरू फेरि जिम्मेवारीविहीन हुन पुगेका छन्।

धादिङ प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट तानेर गृह मन्त्रालयमा थन्काइएका सहसचिव राजेन्द्रदेव पाण्डे गृहबाट बाहिरिएर लुम्बिनी प्रदेश गएका छन्। गृहबाट सहसचिवहरू जितेन्द्र बस्नेत, कोषहरि निरौला, जयकुमार घिमिरे, नारायणप्रसाद अर्याल र राजेन्द्रदेव पाण्डे बाहिरिएका हुन्।

सहसचिव व्यवस्थापनमा रस्साकस्सी

गृह मन्त्रालयमा रहेका वरिष्ठ सहसचिव जितेन्द्र बस्नेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा भएका छन्। जितेन्द्रपछि गृहमा रहेका वरिष्ठ सहसचिव गोविन्दप्रसाद रिजाल हुन्। उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी भइसकेकाले सिडिओमा जाने पक्षमा छैनन्। अध्यागमन विभागको महानिर्देशक कोषहरि निरौलाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत सरुवा भएकाले रिजाल नै अध्यागमन विभागको महानिर्देशक बन्ने प्रवल सम्भावना देखिन्छ। उनी अध्यागमन नगए गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बन्न सक्छन्। तर, प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी निर्वाचन आयोगबाट आएका सहसचिव रमेश ढकाललाई दिने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले बतायो। कास्कीका सिडिओ भरतमणि पाण्डेले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखक असन्तुष्ट रहेको बुझिन्छ। पाण्डेलाई मन्त्रालय तानेर ढकाललाई कास्कीको सिडिओ बनाएर पठाउने विषयमा पनि छलफल चलिरहेको गृह स्रोतको भनाइ छ।

रुपन्देहीको सिडिओ ताकेर बसेका गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविलाल रिजाल पर्साको सिडिओ बन्ने सम्भावना बढेको छ। रुपन्देहीको सिडिओमा भने गृहमन्त्री हुँदा बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख बनाएका बासुदेव घिमिरेले बाजी मार्ने उच्च सम्भावना रहेको स्रोतको दाबी छ। रुपन्देहीका सिडिओ गणेश अर्याल भने ललितपुर आउने लबिइङमा छन्। ललितपुरको सिडिओमा प्रकाश पौडेलको पनि चर्चा छ। पौडेललाई ललितपुर र मोरङमध्ये एउटा जिल्ला पठाउने तयारी भइरहेको गृहका एक उच्च अधिकारीले सुनाए।

बाराको सिडिओमा लालबहादुर कवारीलाई पठाउने गृहकार्य भइरहेको बुझिन्छ। कवारी सिरहाको सिडिओबाट गोरखा सरुवा भएर जाँदा बीचैमा सरुवा बदर भएको थियो। उनी विवादमा तानिएपछि गृह छाडेर लुम्बिनी प्रदेशतिर गएका थिए। रवि लामिछानेका पालामा कवारी फेरि गृह मन्त्रालय भित्रिए। उनै विवादित कवारीलाई गृहमन्त्री रमेश लेखकको टिमले बाराको सिडिओ बनाउन खोजेको हो।

भद्रगोल गृह मन्त्रालय

गृह मन्त्रालयमा कनिष्ठ सहसचिवहरु महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयको पुरानो ‘सिस्टम’ अनुसार महत्त्वपूर्ण र संवेदनशील जिल्लाको नेतृत्व गरेर आएपछि मात्र ती सहसचिवले महाशाखाको नेतृत्व गर्न पाउथे। मन्त्रालयको महाशाखा प्रमुख भइसकेपछि सिडिओमा जाने चलन थिएन। अहिले त जिल्लाको अनुहार नै नदेखेका सहसचिवहरू महाशाखा प्रमुख हुँदा गृह मन्त्रालय ‘लथालिङ्ग देशको भताभुङ्ग’ चाला जस्तो भएको टिप्पणी हुन थालेको छ।

गृह मन्त्रालयमा श्रम र यातायातको टिम हाबी हुँदा गृहको सिस्टम नै बिग्रिएको गृहका क्याडरहरु टिप्पणी गर्छन्। गृहमन्त्री रमेश लेख श्रम र यातायातमन्त्री हुँदाको टिम अहिले गृह मन्त्रालयमा हाबी छ। त्यहिँ टिमका कारण अहिले गृह मन्त्रालयमा अनुभवी र गृह बुझेका कर्मचारीहरू ओझेलमा छन् । गृह मन्त्रालयले प्रभावकारी ढंगले काम गर्न सकेको छैन। उक्त कुरा हालैको बाढीपहिरो जस्तो प्राकृतिक विपद्मा गृह मन्त्रालयले खेलेको भूमिकाबाटै प्रस्ट हुन्छ। कर्मचारी व्यवस्थापनमा मात्र होइन उचित सल्लाह दिने गृह बुझेको प्रभावकारी टिम नहुँदा गृहमन्त्री रमेश लेखक आलोचित हुँदै आएका छन्। उनी असफल गृहमन्त्री हुने खतरा बढ्न थालेको टिप्पणी हुन थालेको छ।

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ