कांग्रेस नेताले डाक्टर कुटेको समाचार नलेख्न दबाव आएपछि पत्रकार झाले पार्टी छाडे


काठमाडौं। नेपाली कांग्रेस निकट शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आवद्ध पत्रकार अजितकुमार झाले राजीनामा दिएका छन्। उनी निकट व्यक्तिहरुका अनुसार वडाध्यक्षका सहोदर भाइ इनरुवा कांग्रेस नेता खेमराज थापाले डाक्टर कुटेको समाचार नलेख्न निरन्तर दबाव आएपछि उनले कांग्रेससँगको सम्बन्ध तोडेको दाबी गरिएको छ। इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाका भाइ खेमराजले अस्पतालभित्र छिरेर मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोष राईलाई कुटेपछि अहिले उक्त घटनाले इनरुवा तातेको छ।

पत्रकार झाले समाचार सार्वजनिक भएपछि आफूविरुद्ध षड्यन्त्र हुन थालेकाले कांग्रेसबाट अलग भएको प्रतिक्रिया दिएका छन्। ‘डाक्टर कुटेको घटनाको सत्य तथ्य सार्वजनिक भएपछि आफूमाथि माथिल्लो तहबाट विभिन्न किसिमका दबाव आएकोले त्यो पार्टीमा रहन उचित नभएर अलग भएको हुँ। अन्य पनि थुप्रै कारण छन्।’, पत्रकार झाले स्वास्थ्य लाइभसँग भने।

पत्रकार झाले इनरुवा अस्पतालमा गुण्डागर्दी नचल्ने, डाक्टर कुट्न र सामग्री लुट्न नपाइने पनि प्रतिक्रिया दिएका छन्। जिल्ला अस्पताल सुनसरी, इनरुवामा डाक्टर कुटेको घटना दबाउन सुनसरी कांग्रेसका प्रभावशाली नेताहरु नै लागेपछि उनी पार्टी छाड्न बाध्य भएको बुझिन्छ।

 

पत्रकार झाले समाजिक सञ्जाल फेसबुकमा डाक्टर कुट्नेलाई छुटाउन कांग्रेसका केन्द्रीय सदस्यदेखि जिल्ला अध्यक्षसम्म सक्रिय भएको स्टाटस लेखेका थिए। उनले त्यो स्टाटस कांग्रेस केन्द्रीय सदस्य राजिव कोइराला र जिल्ला सभापति केदार भण्डारी, राजन मेहतालगायत लक्षित गरेको लेखेको देखिन्छ। तिनै कांग्रेस नेताहरूको दबावमा पत्राकार झाले फेसबुकबाट उक्त स्टाटस हटाउन बाध्य भएको पाइन्छ। पत्रकार झाले कांग्रेसमा रहिरहे असुरक्षित हुने ठानेर पार्टी नै परित्याग गरेका छन्। यसले सुनसरी कांग्रेसमा कुन हदसम्मको गुण्डागर्दी चल्दो रहेछ भन्ने कुरा प्रस्ट हुन्छ।

पत्रकार झाले नेपाली कांग्रेसको सुनसरी जिल्ला समितिका सभापति र सचिवलाई सम्बोधन गर्दै नेपाली कांग्रेस र उक्त पार्टीसँग सम्बन्धित कुनै पनि सुभेच्छुक संघ-संगठनमा नरहने गरी राजीनामा दिएका छन्। राजीनामा दिँदा झाले नेपाल प्रेस युनियन सुनसरीका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेस कोशी-६ का कृयासिल सदस्य तथा महाधिवेशन प्रतिनीधि रहेको स्पष्ट पारेका छन्। उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

रासस सुनसरीका समाचारदाता समेत रहेका झाले जिल्ला अस्पताल सुनसरी, इनरुवाका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. सन्तोष राईमाथि हातपात भएको कुरालाई निरन्तर फलोअप गर्दै आएका छन्। उनले मेसु राईको धारणा सार्वजनिक गर्नेदेखि हातपात भएको सिसिटिभी फुटेज समेत समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए। त्यस्ता गतिविधि रोक्न पत्रकार झामाथि पार्टीबाट दबाव आएपछि उनले राजीनामा दिएका हुन्।

इनरुवा अस्पतालमा वडाध्यक्ष सुमन थापाको परिवारले डाक्टर कुटेपछि अहिले निकै चर्चामा आएको छ। थापाले आफ्नै आमालाई गरिब बनाएर उपचार तथ्य समेत सार्वजनिक भएको छ। चर्को राजनीतिक दबावका बावजूद कांग्रेस नेताबाट कुटाई खाने  मेसु राईले कानुनी उपचार रोजेको पत्रकार झाले खुलाएका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ