परराष्ट्रको चलाखी: सामान्य चुक्दा राजदूत भएर जानेको पदमा विज्ञापन भयो, फिर्ता आउनेको गणना भएन


काठमाडौं। परराष्ट्र मन्त्रालयले चलाखी गर्दा लोक सेवा आयोगले परराष्ट्रमा १४ जना सहसचिवको विज्ञापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा परराष्ट्रमा एकैपटक १४ जना सहसचिव बन्ने बाटो खुला भएको हो।
सरकारले परराष्ट्र निजामती सेवाको परराष्ट्र समूहमा रातारात ११ जना सहसचिवको दरबन्दी थप्ने निर्णय गरेको थियो। संयुक्त राज्य अमेरिकाको लस एन्जलस, टेक्सास र संयुक्त अरब इमिरेट्सको दुबईमा नयाँ महावाणिज्यदूत खोल्ने गरी परराष्ट्रमा ११ जना सहसचिवको दरबन्दी सिर्जना गरिएको हो। तर, लोक सेवा आयोगले परराष्ट्रमा १४ जना सहसचिवको विज्ञापन गरिएको छ।


लोक सेवा आयोगको विज्ञापन अनुसार परराष्ट्रमा ५ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बुढुवा हुनेछन्। त्यस्तै ५ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा हुनेछन्। त्यसैगरी ३ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) आन्तरिक प्रतिस्पर्धा (आप्र) र १ जना खुला (दलित) कोटाबाट पदपूर्ति गर्नेगरी लोक सेवा आयोगले विज्ञापन गरेको छ। यसरी हिसाब गर्दा परराष्ट्रमा एकैपटक १४ जना सहसचिव थपिने भएका छन्।

कसरी भयो गडबडी?

परराष्ट्रमा हचुवाका भरमा ११ जना सहसचिवको दरबन्दीको दरबन्दी थपिएपछि ११ जनाको पदमा मात्र विज्ञापन गर्नुपर्ने हो। तर, लोक सेवा आयोगको ‘ट्युसन’ पढाउने भनेर परिचत प्रकाश दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निमित्त सचिव भएका बेला १४ जना सहसचिवको विज्ञापन गर्न लोक सेवा आयोगमा पठाउने काम भयो। सामान्य प्रशासन मन्त्रालय चुक्दा परराष्ट्रको पासा पल्टियो।
परराष्ट्रले थप ११ दरबन्दीसहित बेल्जियमको राजदूतमा सिफारिस सेवा लम्साल, पाकिस्तानको राजदूतमा नियुक्त भएकी रिता धिताल र पोर्चुगलको राजदूतमा संसदीय सुनुवाई समितिबाट अनुमोदित प्रकाशमणि पौडेलको पदलाई समेत रिक्त मानेर विज्ञापनका लागि सामान्य प्रशासन मन्त्रालय हुँदै लोक सेवा आयोग पठाएको पाइन्छ।  तर, डा. शैल रुपाखेती सफारिस भएपछि जर्मनीको राजदूतबाट फिर्ता आउन लागेका रामकाजी खड्का, रिता धिताल नियुक्त भएपछि पाकिस्तानबाट फिर्ता आउन लागेका तापस अधिकारी र सेवाले बेल्जियमा विस्थापित गर्ने गेहेन्द्र राजभण्डारीको दरबन्दी खाली नराखी सहसचिवको विज्ञापन गरिएको हो। परराष्ट्रमा नयाँ थपिने ३ जना सहसचिवलाई बस्ने टेबल कुर्सी मात्र होइन तलब भत्ता खुवाउन नै समस्या हुने देखिन्छ। सामान्य प्रशासन मन्त्रालय गम्भीर रुपमा चुक्दा परराष्ट्रमा यस्तो बेथिति देखा परेको हो।
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन सचिव सूर्यप्रसाद गौतमले परराष्ट्रको यस्तो सेटिङ भत्काइदिएका थिए। उनले फिर्ता भएर आउने राजदूत/सहसचिवको पद समेत गणना गरेर विज्ञापनका लागि लोक सेवा आयोगमा पठाएका थिए। तर,  अहिलेको सामान्य प्रशासन मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व नराम्रोसँग चुकेको र चिप्लिएरको छ। तत्कालीन सामान्य सचिव गौतम राष्ट्रिय किताबखाना (निजामती)बाट परराष्ट्रको विवरण मगाएर रिक्त दरबन्दी एकिन गरेर मात्र आफूले सहसचिवको विज्ञापनका लागि लोक सेवा आयोगमा पठाएको स्मरण गर्छन्। परराष्ट्रमा ठूलो बेथिति रहेको औँल्याउँदै उनले त्यो बेला आफूले गलत हुन नदिएको दाबी गरे। अहिले भने सामान्य प्रशासन मन्त्रालयले ठिक उल्टो काम गरेको देखिन्छ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #गेहेन्द्र राजभण्डारी बेल्जियम राजदूत, #तापस अधिकारी पाकिस्तान राजदूत, #प्रकाशमणि पौडेल पोर्चुगल, #रामकाजी खड्का जर्मन राजदूत, #रिता धिताल, #सेवा लम्साल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ