डाक्टर कुट्ने इनरुवा कांग्रेसका नगर सचिव खेमराजलाई हुनसक्छ ३ वर्षसम्म कैद


सुनसरी। जिल्ला अस्पताल सुनसरी, इनरूवाका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. सन्तोष राईलाई कुटपिट गर्ने नेपाली कांग्रेस इनरुवा नगर समितिका सचिव खेमराज थापालाई तीनवर्षसम्म कैद हुने गरी मुद्दा दर्ता हुने सम्भावना छ। प्रहरीले मुद्दा कमजोर पार्न चलखेल गरेन र पीडित डाक्टरले निरन्तर खबरदारी गरिरहे भने ठेकेदार समेत रहेका खेमराजलाई तीन वर्षसम्म कैद हुने गरी जिल्ला अदालतमा अभियोग दर्ता हुन सक्छ।

आफ्नै दाइ वडाध्यक्ष भएको फाइदा उठाउँदै आमालाई गरिब तथा विपन्नको कोटामा उपचार गराएका खेमराजले गलत ‘प्रेसक्रिप्सन’ लेखेेको भन्दै इनरुवा अस्पतालका मेसु राईको गालामा थप्पड हानेका थिए। चर्को राजनीतिक दबावका बावजूद कुटाई खाने मेसु राईले प्रहरीमा जाहेरी दर्ता गराउन सफल भएका छन्। उनलाई कुट्ने कांग्रेस स्थानीय नेता खेमराज प्रहरी हिरासतमा पुगेका छन्। प्रहरीले अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।स्वा

स्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन (पहिलो संशोधन) २०७९ को दफा १५ मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरिक रूपमा चोट पुऱ्याउने कसूर गरेमा तीन वर्षसम्म कैद वा ३ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १४ दफा १९१ को उपदफा २ (ख) मा कसैले कसैलाई कुनै किसिमको शारीरिक पीडा पुऱ्याएका कुटपिट गरेको मानिने उल्लेख छ। कांग्रेस स्थानीय नेता खेमराजले इनरुवा अस्पतालका मेसु डा. राईलाई दाहिने गालामा थप्पड हानेर शारीरिक पीडा पुऱ्याएकाले उक्त कसुरलाई कुटपिटभित्रै पर्ने देखिन्छ। कानुनले कैद नभई जरिवानाको सजाय हुनेगरी मात्र माग दाबीसहितको अभियोग लान सक्ने अधिकार पनि अनुसन्धान गर्ने अधिकारी वा निकायलाई दिएको छ।

डाक्टर कुट्ने खेमराज इनरुवाका कांग्रेस नेता, जल्दाबल्दा ठेकेदार र इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाका सहोदर भाइ भएकाले मुद्दा कमजोर पार्न चलखेल गर्न सक्ने सम्भावना उत्तिकै छ।

खेमराजविरुद्ध जाहेरी नलिन प्रहरीलाई सुनसरीका कांग्रेस नेताहरुले निरन्तर दबाव दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइराला, नेपाली कांग्रेसको सुनसरी जिल्ला समितिका सभापति एवं इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति, सुनसरीका सभापति राजन मेहता, खेमराजका सहोदर दाइ वडाध्यक्ष एवं ठेकेदार सुमन थापा उनलाई जोगाउन सक्रियतापूर्वक लागिपरेको आरोप लाग्दै आएको छ।

नेपाली कांग्रेस निकट शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आवद्ध पत्रकार अजितकुमार झाले राजीनामा दिएको घटनाबाट पनि डाक्टर कुट्ने खेमराजलाई जोगाउन राजनीतिक हस्तक्षेप कुन हदसम्म भइरहेको छ भन्ने प्रस्ट हुन्छ। कांग्रेस नेता खेमराज थापाले डाक्टर कुटेको समाचार नलेख्न निरन्तर दबाव आएपछि पत्रकार झाले कांग्रेससँगको सम्बन्ध तोडिसकेका छन्। आफूलाई कांग्रेसीहरुले फसाउने षड्यन्त्र गरेकाले पार्टी परित्याग गरेको उनको प्रतिक्रिया छ।

गृहमन्त्री नेपाली कांग्रेस कै नेता रमेश लेखक भएकाले डाक्टर कुट्ने खेमराजको मुद्दा कमजोर बनाउन ऐनभित्रै खेल्ने प्रयास भइरहेको चर्चा छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको दफा ३ (ग) भन्दा ३ (च) को कसुर अन्तर्गत मुद्दा लाने सम्भावना पनि जीवितै देखिन्छ। ऐनको दफा ३ (च) मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमको धम्की दिन, गाली गलौज गर्न, अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने प्रावधान छ। उक्त कसुरमा भने एक वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

खेमराजका सहोदर दाइ वडाध्यक्ष सुमनले नागरिकता ‘किर्ते’ सिफारिसको ‘केस’ समेत डिसमिस गर्न सफल भएकाले राजनीतिक अनुकूल परिस्थितिमा कुटपिटलाई हातपातको कसुर बनाउने सम्भावना पनि देखिन्छ। ठेकेदार समेत रहेका डाक्टर कुट्को आरोपमा समातिएका कांग्रेस नेता खेमराजलाई प्रहरी निरीक्षक (इन्सपेक्टर)को क्वार्टरमा राखिएको भेट्न जानेहरु बताउँछन्। डाक्टर कुट्ने आरोपितलाई यो हदसम्मको सुविधा दिने प्रहरीले जिल्ला अदालतमा मुद्दा लाँदा प्रशस्तै चलखेल गर्ने सम्भावना रहेको चिकित्सकहरू नै बताउँछन्।

कांग्रेस नेताको कुटाइ खाने इनरुवा अस्पतालका मेसु डा. सन्तोष राईले राजनीतिक चलखेलका कारण न्याय पाउन निकै संघर्ष गर्नु पर्ने देखिन्छ। चरम राजनीति हुँदा इनरुवा अस्पतालका चिकित्सकहरु असुरक्षित बन्दै गएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #इनरुवा नगरपालिका मेयर केदार भण्डारी, #खेमराज थापा ठेकेदार, #डा. सन्तोष राई जिल्ला अस्पताल सुनसरी मेसु, #राजन मेहता, #सुमन थापा वडाध्यक्ष

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ