इनरुवाका डाक्टर कुट्ने कांग्रेस नगर सचिव खेमराजसँग अदालतले ३५ हजार धरौटी माग्यो
सुनसरी। जिल्ला अस्पताल सुनसरी, इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोष राई कुट्ने कांग्रेस स्थानीय नेता खेमराज थापासँग अदालतले ३५ हजार धरौटी मागेको छ। सुनसरी जिल्ला अदालतले उनीसँग ३५ हजार धरौटी मागेको हो। सुनसरी जिल्ला अदालतका ‘जुनियर’ न्यायाधीश नवराज कार्कीले इजलासले डाक्टर कुट्ने खेमराजलाई ३५ हजार धरौटी बुझाएर रिहा गर्न आदेश दिएको हो।
सुनसरी प्रहरीले सरकारी वकील कार्यालय मार्फत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन (पहिलो संशोधन) २०७९ बमोजिम मेसु राईलाई कुटेको अभियोगमा ठेकेदार समेत रहेका नेपाली कंग्रेस इनरुवाका नगर सचिव खेमराजविरुद्ध जिल्ला अदालत, सुनसरीमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा शुक्रबार थुनछेक बहस हुँदा जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो। इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाका भाइ समेत रहेका डाक्टर कुट्ने खेमराज धरौरी बुझाएर छुटिसकेका छन्।
इनरुवा अस्पतालमा आमा गंगामाया थापाको उपचार गर्दा मेसु राईले गलत ‘प्रेसक्रिप्सन’ लेखेको भन्दै खेमराजले डा. राईलाई कुटेका थिए। गत शनिबार खेमराजले डा. राईको गालामा थप्पड हानेको सिसिटिभी समेत फुटेज सार्वजनिक भइसकेको छ। खेमराजविरुद्ध जाहेरी नदिन कांग्रेस नेताहरु चर्को दबाब दिएका थिए। तर, डा. राईले आफूमाथि भएको अन्ययाविरुद्ध कानुनी उपचार खोज्ने अडान लिएपछि आईतबार जाहेरी दर्ता भएर अनुसन्धान टुंगिएर जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो। कांग्रेस नेताहरुको चलखेलका कारण अभियोग भने केही कमजोर बनाइएको प्रहरीमाथि आरोप लागेको छ।
खेमराजले आफ्नै दाइ वडाध्यक्ष भएको फाइदा उठाउँदै आमालाई गरिब तथा विपन्नको कोटामा उपचार गराएको तथ्य सार्वजनिक भइसकेको छ। सम्पन्न परिवारका वडाध्यक्ष सुमन थापाले अख्तियारको दुरुपयोग आमालाई गरिब तथा विपन्नको सिफारिस गरी निःशुल्क उपचार गराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्ने जनाएको छ।
राजनीतिमा अपराधीकरण हुँदा इनरुवामा चिकित्सहरु असुरक्षित बन्दै आएका छन्। इनरुवामा गुण्डाराज चल्दा चिकित्सकहरुले बेला-बेलामा कुटाई खाँदै आएका छन्। अहिले त्यसको शिकार डा. राई भएका हुन्।
क्याटेगोरी : समाचारट्याग : #खेमराज थापा, #डा. सन्तोष राई जिल्ला अस्पताल सुनसरी मेसु
तपाईको प्रतिक्रिया दिनुहोस