अपांग कोटाबाट सहसचिव भएका थापा पोखराको प्रशासकीय प्रमुख हुँदै तनहुँको सिडिओ बने 


काठमाडौं। अपांग कोटाबाट सहसचिव भएका श्यामकृष्ण थापा तनहुँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन्। गृह मन्त्रालयले हालै सार्वजनिक गरेको सरुवा गरेको सूचीमा थापालाई तनहुँको प्रमुख जिल्ला अधिकारीमा खटाइएको उल्लेख छ। 

पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका थापा केही समय अघि मात्र गृह मन्त्रालय छिरेका थिए। थापालाई गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणीमा प्रमुख जिल्ला अधिकारीको पदस्थापन, सरुवा वा काजका लागि ‘ख’ वर्गमा वर्गीकरण गरेको तनहुँ जिल्लाको सिडिओ बनाएर पठाएको हो।

लोक सेवा आयोगले २०७८ चैत ८ नियुक्तिका लागि सिफारिस गरेको एकमुष्ट योग्यताक्रमको सूचीमा थापाको नाम अपांग कोटामा देखिन्छ। उनको आँखाको हेर्ने शक्ति कमजोर रहेको बताइन्छ। थापा लेखा समूहबाट अपांग कोटाबाट प्रशासन समूहको सहसचिव बनेका हुन्। अपांग कोटाबाटै सहसचिव बनेका जितेन्द्र बस्नेत काठमाडौं जिल्लाको सिडिओ भइसकेका छन्। त्यस्तै आँखा कै समस्या देखाएर अपांग कोटाबाट सहसचिव बनेका दिपक काफ्ले दाङ, ललितपुर जस्ता जिल्लाको सिडिओ भएका थिए। अहिले उक्त कोटाबाट सहसचिव भएका थापा पनि सिडिओको जिम्मेवारीमा पुगेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #श्यामकृष्ण थापा अपांग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ