इनरुवाका डाक्टर कुट्ने कांग्रेस नेता खेमराज थापाविरुद्धको अभियोग-पत्रमा के छ?


काठमाडौं। जिल्ला अस्पताल सुनसरी, इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोष राईलाई कुट्ने कांग्रेस स्थानीय नेता तथा ठेकेदार खेमराज थापा ३५ हजार धरौटीमा छुटिसकेका छन्। डा. राईले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेका नेपाली कांग्रेस इनरुवा नगर समितिका सचिव खेमराजले झन्डै एक हप्ता प्रहरी हिरासतमा बिताए।

इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष समुन थापाका भाइ समेत रहेका खेमराजले कार्यकक्षभित्रै पसेर मेसु राईलाई कुटपिट गरेको अभियोगको निष्कर्ष छ। विभिन्न व्यक्तिको बयान र मेडिकल रिपोर्टसहित जिल्ला अदालत सुनसरीमा खेमराजविरुद्ध दर्ता भएको अभियोग-पत्र यस्तो छ:

श्री सुनसरी जिल्ला अदालतमा

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२(१) वमोजिम दायर गरेको

अभियोग-पत्र

आ.व. २०८१/०८२ सालको निर्णय नम्वर :

 जिल्ला अस्पताल सुनसरी इनरुवाका मे.सु. डा. सन्तोष राईको जाहेरीले नेपाल सरकार………………………१

बिरुद्ध

बेनु बहादुर थापा र गंगामाया थापाको छोरा जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नं. ०६ मधेसा बस्ने बर्ष ३६

को खेमराज थापा, (ना.प्र.प.नं. ०६१०२२/१२०८३७ सुनसरी)………………………………………………………१

मुद्दा:– स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कसूर ।

मुद्दाको संक्षिप्त तथ्य :–

घटनास्थल मुचुल्का:-

जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नं. ०१ स्थित जिल्ला अस्पताल सुनसरी इनरुवाको २ तले पश्चिम मोहडा भएको अस्पतालको मुख्य भवनको प्रशासन कक्ष भित्र रहेको कार्यालय प्रमुखको कोठा भित्र मेडिसियन विभागमा कार्यरत मे.सु. डा. सन्तोष राईलाई कोठामा बसिरहेको अवस्थामा ऐ. ऐ. वडा नं. ०६ बस्ने बर्ष ३६ को खेमराज थापाले आफ्नो आमाको उपचारको क्रममा लापरवाही भएको भनि हातपात गरेको भन्ने देखाए बमोजिमको चार किल्ला सहितको घटनास्थल मुचुल्का ।

डा. सन्तोष राईको जाहेरी दरखास्त:-

म जिल्ला अस्पताल इनरुवाको मे.सु. पदमा कार्यरत रहेको अवस्थामा मिति २०८१।७।०३ गते साँझको अन्दाजी १७:३० बजे मेरो कक्षमा म ड्युटिमा रहेको बेलामा अस्पतालमा भर्ना रहेको बिरामीको बारेमा कुरा गर्नका लागि विपक्षी खेमराज थापा सहित ५-७ जना नचिनेको ब्यक्तीहरु मे. सु. कक्ष भित्रै आएर निज बिपक्षी खेमराज थापाले मलाई अश्लिल गाली गलौज समेत गरि लात्ती मुक्काले शरीरको जत्रतत्र भागमा प्रहार गरेर कुटपिट गरि गम्भिर घाईते तुल्याएको हुँदा मलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को दफा ३ को उपदफा ग बमोजिम कसुर गरेकोले निज खेमराज थापालाई कानून बमोजिम कारवाही गरि पाउँ भन्ने समेत ब्यहोराको डा. सन्तोष राईको जाहेरी दरखास्त ।

खेमराज थापाको बयानः-

मिति २०८१/०७/०१ गतेको दिन मेरो आमा बिरामी भई उपचारको लागि इनरुवा अस्पतालमा ल्याएको र राति आमालाई डा. सन्तोष राई, डा. रोहित कर्ण र डा. श्रेया पंगेनीले हेर्नु भएको थियो । भोलि पल्ट बिहान ०८:०० बजे डा. रोहित कर्ण आउनु भएर आमालाई हेर्नु भई ठिक भएछ, बेलुका सम्म हेरौं भन्नु भयो । दिउँसो १५:०० बजे म चिया लिन गएको अवस्थामा डा. सन्तोष राई राउण्डमा आउनु भएछ । म आएपछी नर्शले तुरुन्त औषधी ल्याउनु भनेर मलाई पुर्जा दियो । मैले औषधी ल्याई नर्शलाई दिएपछी स्लाईन पानी लगाउन सुरु गर्नु भयो तर मलाई शंका लागेकोले नर्शलाई अहिले औषधी नचलाई दिनु भनेर डा. सन्तोष राई राउण्डमै हुनु भएकोले डा. साव बेलुका आमालाई डिस्चार्ज गर्ने कुरा थियो के भयो भनेर सोद्धा किड्नी खराव छ, डायलसिस गर्न ३ दिन अस्पतालमा राख्नु पर्छ भन्नु भयो । कसरी आमाको किड्नी फेल भयो भन्ने मलाई शंका लाग्यो त्यसपछी डा. श्रेया पंगेनीलाई फोन गरेर बिहान रोहित डा. सावले डिस्चार्ज गर्नु पर्छ भन्नु भएको थियो अहिले डा. सन्तोष राईले किड्नी फेल छ, डायलिसस गर्नु पर्छ भन्नु हुन्छ भनेर सोद्धा त्यस्तो त नहुनु पर्ने भन्नु भयो । त्यसपछी अस्पतालको ब्यबस्थापन समितिको अध्यक्ष राजन मेहता संगसंगै डा. श्रेया पंगेनी पनि आउनु भएकोले मेरो आमाको फायलमा भएको रिपोर्ट हेर्दा अर्को महिला मानिसको रिपोर्ट आमाको फायलमा राखेकोले सोही अनुसार औषधी लेखि दिएको रहेछ भनेर सुनाउनु भयो । डा. सन्तोष राईले लेखेको औषधीहरु डा. श्रेया पंगेनिले Stop लेखेर काट्नु भयो । यसरी किड्नीमा कुनै समस्या नभएको बिरामीको नाम थर एकिन नहेरी/नगरी निज डा. सन्तोष राईले गम्भिर लापरवाही गरेको कारण म रिस आवेशमा आएं । यदि डा. सन्तोष राईले लेखिदिएको औषधी मैले ल्याई सकेको अवस्थामा आमालाई चलाई दिएको भए, मेरो आमाको ज्यान जान सक्ने अवस्था रहेको थियो । भोलिपल्ट ऐ. ०३ गते सो बिषयमा सिडिओ सावले छानविन गर्नु पर्छ भन्नु भएको थियो । दिउँसो आमाको डिस्चार्ज भएपछी डा. सन्तोष राईसंग केहि कुरा गर्न भनि साँझ अन्दाजी १७:३० बजे म लगायत मेरो साथीहरु डा. सन्तोष राई आउनु भई आफ्नो कार्यकक्षमा प्रवेश गर्नु भएपछी डा. साव संगसंगै म र मेरो साथिहरु सहित हामि पनि भित्र पस्यौं । त्यसपछी डा. सावलाई मैले किन लापरवाही गरेको, बिरामीलाई औषधी उपचार गर्दा ध्यान दिनु पर्दैन, जे हुनु भयो अरु बिरामीलाई यस्तो नगर्नुहोला भनेर चर्को-चर्को स्वरमा निजको अगाडी गएर सम्झाउँदै गरेको अवस्थामा साथीहरुले मलाई तानेपछी म वरतिर आएर कुराकानी गरेको हुँ भन्ने समेत व्यहवराको प्रतिवादी खेमराज थापाले अनुसन्धान अधिकारी समक्ष गरेको बयान ।

राज कुमार मेहताको घटना बिवरण कागजः-

म बिगत २०८०/११/०९ गते देखी जिल्ला अस्पताल इनरुवा सुनसरीमा प्रशासन प्रमुखको पदमा कार्यरत छु । मिति २०८१/०७/०३ गते साँझको अन्दाजी १७:३० बजे म मेरो कार्यकक्षमा थिएं । दिनको २ बजे डिस्चार्ज भएका बिरामी गंगामाया थापाको छोरा खेमराज थापा अन्दाजी ४ बजे देखी मेरो कार्यकक्षमा आई मे.सु. डा. सन्तोष राईलाई भेट्न भनि प्रतिक्षामा बसिरहनु भएको थियो । निज बिपक्षी खेमराज थापाको आमाको उपचारको बिषयमा बुझ्नका लागि आएको भन्नु भयो । डा. सन्तोष राई आफ्नो कार्यकक्षमा आउनु भएपछी तत्काल बिपक्षी खेमराज थापा र निजसंग आएका मानिसहरु पनि डा. सन्तोष राई संगै अघिपछी हुँदै कार्यकक्षमा प्रवेश गर्नु भएको थियो । सोही बखत डा. सावको कार्यकक्षमा चर्को आवाजहरु आउन थालेकाले के भएछ भनि म र संगै रहेका अस्पताल गार्ड ईन्चार्ज नविन राना मगर भई जाँदा डा. सन्तोष राईले आफ्नो दुबै हातले गाला समाई रहनु भएको थियो । बिपक्षी खेमराज थापाले चर्को-चर्को स्वरमा अश्लिल गाली गर्दै सो ठाउँमा भएको टि-टेवल उचालेर डा. सावलाई प्रहार गर्ने प्रयास गरेकाले बिपक्षीसंगै आएका ४/५ जना मानिसहरु सहित म र अस्पतालका गार्ड नविन राना मगरले खेमराज थापालाई सम्झाई बुझाई गरेर छुट्याएका हौं । केहिबेरपछी अस्पताल समितीका अध्यक्ष राजन मेहता पनि आईपुग्नु भएपछी माहोल शान्त भएको हो । मैले घटनाबारे देखे जाने सुने बुझे थाहा पाए सम्मको सम्पुर्ण ब्यहोरा यति नै हो भन्ने समेत व्यहोराको राज कुमार मेहताको घटनाविवरण कागज ।

शम्भु परियारको घटना बिवरण कागजः-

म मिति २०८१/०६/०१ गतेबाट जिल्ला अस्पताल सुनसरीको सेक्युरिटी गार्डमा काम गर्दै आईरहेको छु । मिति २०८१/०७/०३ गते साँझको अन्दाजी १७:३० बजे म अस्पतालको इमरजेन्सी अगाडी ड्युटीमा रहेको अवस्थामा मे.सु. डा. सन्तोष राईको कार्यकक्षमा हल्लाखल्ला भएको आवाज सुनेर के भएछ भनि दगुर्दै जाँदा डा. सन्तोष राई सोफामा बसिरहनु भएको थियो । अस्पतालका प्रशासन अधिकृत राज कुमार मेहता र हाम्रो कमाण्डर नविन रानामगर पनि डा. सावको कार्यकक्ष भित्रै हुनु हुन्थ्यो । बिपक्षी खेमराज थापालाई मैल चिनेको थिएन । निज खेमराज थापा लगायत अन्य नचिनेका ४/५ जना मानिसहरु डा. सावको कार्यकक्ष भित्रै ठुलो-ठुलो स्वरमा बिवाद गरिरहेको थियो । कमाण्डर नविन रानामगर लगायत अन्य मानिसहरु बिपक्षी खेमराज थापाको हातमा समाईरहेका थिए । के भएछ भनि बुझ्दा डा. सन्तोष राईलाई बिपक्षी खेमराज थापाले हातपात गरेको भन्ने सुनेको हो । के-कुन बिषयमा हातपात तथा बिवाद भएको हो भन्ने एकिन थाहा भएन । बिपक्षी खेमराज थापाले डा. सन्तोष राईलाई कुटपिट गरेको मैले देखिन । डा. सावको कार्यकक्षमा हल्लाखल्ला चाही भईरहेको थियो भन्ने समेत ब्यहोराको शम्भु परियारले गरेको घटनाविवरण कागज ।

जितेन्द्र यादवको घटना बिवरण कागजः-

 म ठेक्का पट्टाको ब्यबसाय गर्ने ब्यक्ति हुँ । खेमराज थापा चिनेको ब्यक्ती हुन । मिति २०८१/०७/०३ गते साँझको अन्दाजी १७:३० बजे म आफ्नै काममा ब्यस्त भएको बेला जिल्ला अस्पताल सुनसरी इनरुवाका मे.सु. डा. सन्तोष राईले खेमराज थापाको आमालाई सुरुमा टाईफाईडको बिरामीको उपचार गरिरहेकोमा डिस्चार्ज गर्ने भनेको समयमा एक्कासी किड्नी ड्यामेज रहेको डायलसिस गर्नु पर्छ भनेर औषधी लेखेर दिएको र खेमराज थापालाई शंका लागेर अर्को डा. बोलाई आमाको रिपोर्ट देखाउँदा निज खेमराज थापाको आमाको फायलमा अर्कै महिला मानिसको रिपोर्ट राखेर नहेरी एकिन नगरी औषधी लेखेर ल्याउन लगाई, उक्त औषधको प्रयोग गर्दा मानिसको ज्यानै जान सक्ने अवस्था शिर्जना भएको हुँदा डा. सन्तोष राईले लापरवाही गरेको भन्ने बिषयमा बिवाद भएको भन्ने थाहा पाएको थिएं । सोही बिषयमा डा. सन्तोष राईले खेमराज थापालाई कुराकानी गर्न आफ्नो कार्यकक्षमा बोलाएकोले खेमराज थापा जाँदा डा. सन्तोष राईलाई चर्को स्वरमा मान्छेको ज्यानसंग खेलवाड गर्ने भन्दै आक्रोशमा आई बिवाद गरेको भन्ने सुनेको हुँ भन्ने समेत ब्यहोराको जितेन्द्र यादवले गरेको कागज ।

डा. सन्तोष राईको घाउजाँच केश फारम रिपोर्ट:-

Type of injury: Simple, Type of weapon/ object used: Blunt force भन्ने समेत व्यहोराको जिल्ला अस्पताल सुनसरी इनरुवाबाट खुलि आएको डा. सन्तोष राईको घाजाँच केश फारम रिपोर्ट ।

अभियुक्त उपरको अभियोग:

यसमा जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीवाट अनुसन्धानको कार्य सम्पन्न भई निर्णयार्थ प्राप्त हुन आएको प्रस्तुत मुद्दाको मिसिल सम्लग्न प्रहरी प्रतिवेदन, बरामदी / खानतलासी मुचुल्का, प्रतिवादीको बयान, बुझिएका मानिसहरुले गरिदिएको घटनाविवरण कागज तथा घाइतेको घाउजाँच केश फारम रिपोर्ट समतेका आधार र प्रमाणहरुबाट मिति २०८१।०७।०३ गते साँझको अन्दाजी १७:३० बजे जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नं. ०१ स्थित जिल्ला अस्पताल सुनसरी इनरुवाको मे.सु. डा. सन्तोष राई बस्ने गरेको कार्यकक्षमा डा. सन्तोष राईले प्रतिवादी खेमराज थापाको आमा गंगामया थापाको किड्नी फेल नभएको मानिसलाई किड्नी फेल भएको भनि अर्को बिरामीको रिपोर्ट हेरेर औषधी लेखिदिई लापरवाही गरेको भन्ने बिषयमा कुराकानी गर्न प्रतिवादी खेमराज थापा लगायत अन्य मानिसहरु समेत डा. सन्तोष राईको कार्यकक्षमा प्रवेश गरेपछी प्रतिवादी खेमराज थापाले डा. सन्तोष राईलाई एक्कासी ठुलो-ठुलो स्वरमा बिवाद गरि लात्त मुक्काले प्रहार गरेर स्वास्थ्यकर्मीलाई कुटपिट गरि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ बमोजिमको कार्य कसुर गरेको वारदात स्थापित हुन आयो ।

अब, निज प्रतिवादीले गरेको कसुर र सजायको मागदाबी तर्फ विचार गर्दा, म जिल्ला अस्पताल इनरुवाको मे.सु. पदमा कार्यरत रहेको अवस्थामा मिति २०८१।७।०३ गते साँझको अन्दाजी १७:३० बजे मेरो कक्षमा म ड्युटिमा रहेको बेलामा अस्पतालमा भर्ना रहेको बिरामीको बारेमा कुरा गर्नका लागि विपक्षी खेमराज थापा सहित ५-७ जना नचिनेको ब्यक्तीहरु मे. सु. कक्ष भित्रै आएर निज बिपक्षी खेमराज थापाले मलाई अश्लिल गाली गलौज समेत गरि लात्ती मुक्काले शरीरको जत्रतत्र भागमा प्रहार गरेर कुटपिट गरि गम्भिर घाईते तुल्याएको हुँदा मलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को दफा ३ को उपदफा (ग) बमोजिम कसुर गरेकोले निज खेमराज थापालाई कानून बमोजिम कारवाही गरि पाउँ भन्ने डा. सन्तोष राईको जाहेरी दरखास्त रहेकोमा उक्त जाहेरी ब्यहोरालाई मिसिल संलग्न रहेको बरामदी खानतलासी मुचुल्काले समर्थन गरेको देखिन्छ ।

 यस्तै पक्राउ प्रतिवादी खेमराज थापाले वयान गर्दा मिति २०८१/०७/०१ गतेको दिन मेरो आमा बिरामी भई उपचारको लागि इनरुवा अस्पतालमा ल्याएको र राति आमालाई डा. सन्तोष राई, डा. रोहित कर्ण र डा. श्रेया पंगेनीले हेर्नु भएको थियो । भोलि पल्ट बिहान ०८:०० बजे डा. रोहित कर्ण आउनु भएर आमालाई हेर्नु भई ठिक भएछ, बेलुका सम्म हेरौं भन्नु भयो । दिउँसो १५:०० बजे म चिया लिन गएको अवस्थामा डा. सन्तोष राई राउण्डमा आउनु भएछ । म आएपछी नर्शले तुरुन्त औषधी ल्याउनु भनेर मलाई पुर्जा दियो । मैले औषधी ल्याई नर्शलाई दिएपछी स्लाईन पानी लगाउन सुरु गर्नु भयो तर मलाई शंका लागेकोले नर्शलाई अहिले औषधी नचलाई दिनु भनेर डा. सन्तोष राई राउण्डमै हुनु भएकोले डा. साव बेलुका आमालाई डिस्चार्ज गर्ने कुरा थियो के भयो भनेर सोद्धा किड्नी खराव छ, डायलसिस गर्न ३ दिन अस्पतालमा राख्नु पर्छ भन्नु भयो । कसरी आमाको किड्नी फेल भयो भन्ने मलाई शंका लाग्यो त्यसपछी डा. श्रेया पंगेनीलाई फोन गरेर बिहान रोहित डा. सावले डिस्चार्ज गर्नु पर्छ भन्नु भएको थियो अहिले डा. सन्तोष राईले किड्नी फेल छ, डायलिसस गर्नु पर्छ भन्नु हुन्छ भनेर सोद्धा त्यस्तो त नहुनु पर्ने भन्नु भयो । त्यसपछी अस्पतालको ब्यबस्थापन समितिको अध्यक्ष राजन मेहता संगसंगै डा. श्रेया पंगेनी पनि आउनु भएकोले मेरो आमाको फायलमा भएको रिपोर्ट हेर्दा अर्को महिला मानिसको रिपोर्ट आमाको फायलमा राखेकोले सोही अनुसार औषधी लेखि दिएको रहेछ भनेर सुनाउनु भयो । डा. सन्तोष राईले लेखेको औषधीहरु डा. श्रेया पंगेनिले Stop लेखेर काट्नु भयो । यसरी किड्नीमा कुनै समस्या नभएको बिरामीको नाम थर एकिन नहेरी/नगरी निज डा. सन्तोष राईले गम्भिर लापरवाही गरेको कारण म रिस आवेशमा आएं । यदि डा. सन्तोष राईले लेखिदिएको औषधी मैले ल्याई सकेको अवस्थामा आमालाई चलाई दिएको भए, मेरो आमाको ज्यान जान सक्ने अवस्था रहेको थियो । भोलिपल्ट ऐ. ०३ गते सो बिषयमा सिडिओ सावले छानविन गर्नु पर्छ भन्नु भएको थियो । दिउँसो आमाको डिस्चार्ज भएपछी डा. सन्तोष राईसंग केहि कुरा गर्न भनि साँझ अन्दाजी १७:३० बजे म लगायत मेरो साथीहरु डा. सन्तोष राई आउनु भई आफ्नो कार्यकक्षमा प्रवेश गर्नु भएपछी डा. साव संगसंगै म र मेरो साथिहरु सहित हामि पनि भित्र पस्यौं । त्यसपछी डा. सावलाई मैले किन लापरवाही गरेको, बिरामीलाई औषधी उपचार गर्दा ध्यान दिनु पर्दैन, जे हुनु भयो अरु बिरामीलाई यस्तो नगर्नुहोला भनेर चर्को-चर्को स्वरमा निजको अगाडी गएर सम्झाउँदै गरेको अवस्थामा साथीहरुले मलाई तानेपछी म वरतिर आएर कुराकानी गरेको हुँ भन्ने समेत व्यहोरा लेखाएको देखिन्छ ।

यसैगरी बुझिएका मानिसहरु राजकुमार मेहताले घटनाविवरण कागज गर्दा २०८१/०७/०३ गते साँझको अन्दजी १७:३० बजे म मेरो कार्यकक्षमा थिएं । दिनको २ बजे डिस्चार्ज भएका बिरामी गंगामाया थापाको छोरा खेमराज थापा अन्दाजी ४ बजेदेखी मेरो कार्यकक्षमा आई मे.सु. डा. सन्तोष राईलाई भेट्न भनि प्रतिक्षामा बसिरहनु भएको थियो । निज बिपक्षी खेमराज थापाको आमाको उपचारको बिषयमा बुझ्नका लागि आएको भन्नु भयो । डा. सन्तोष राई आफ्नो कार्यकक्षमा आउनु भएपछी तत्काल बिपक्षी खेमराज थापा र निजसंग आएका मानिसहरु पनि डा. सन्तोष राई संगै अघिपछी हुँदै कार्यकक्षमा प्रवेश गर्नु भएको थियो । सोही बखत डा. सावको कार्यकक्षमा चर्को आवाजहरु आउन थालेकाले के भएछ भनि म र संगै रहेका अस्पताल गार्ड ईन्चार्ज नविन राना मगर भई जाँदा डा. सन्तोष राईले आफ्नो दुबै हातले गाला समाई रहनु भएको थियो । बिपक्षी खेमराज थापाले चर्को-चर्को स्वरमा अश्लिल गाली गर्दै सो ठाउँमा भएको टि-टेवल उचालेर डा. सावलाई प्रहार गर्ने प्रयास गरेकाले बिपक्षीसंगै आएका ४/५ जना मानिसहरु सहित म र अस्पतालका गार्ड नविन राना मगरले खेमराज थापालाई सम्झाई बुझाई गरेर छुट्याएका हौं भन्ने समेत व्यहोरा लेखाएको देखिन्छ । यस्तै अर्का शम्भु परियारले घटनाविवरण कागज गर्दा मिति २०८१/०७/०३ गते साँझको अन्दाजी १७:३० बजे म अस्पतालको इमरजेन्सी अगाडी ड्युटीमा रहेको अवस्थामा मे.सु. डा. सन्तोष राईको कार्यकक्षमा हल्लाखल्ला भएको आवाज सुनेर के भएछ भनि दगुर्दै जाँदा डा. सन्तोष राई सोफामा बसिरहनु भएको थियो । अस्पतालका प्रशासन अधिकृत राज कुमार मेहता र हाम्रो कमाण्डर नविन रानामगर पनि डा. सावको कार्यकक्ष भित्रै हुनु हुन्थ्यो । बिपक्षी खेमराज थापालाई मैल चिनेको थिएन । निज खेमराज थापा लगायत अन्य नचिनेका ४/५ जना मानिसहरु डा. सावको कार्यकक्ष भित्रै ठुलो-ठुलो स्वरमा बिवाद गरिरहेको थियो । कमाण्डर नविन रानामगर लगायत अन्य मानिसहरु बिपक्षी खेमराज थापाको हातमा समाईरहेका थिए । के भएछ भनि बुझ्दा डा. सन्तोष राईलाई बिपक्षी खेमराज थापाले हातपात गरेको भन्ने सुनेको हो भन्ने समेत व्यहोरा लेखाएको देखिन्छ । यस्तै जितेन्द्र यादवले घटनाविवरण कागज गर्दा शम्भु परियारको कागजलाई समर्थन गर्दै डा. सन्तोष राईले खेमराज थापालाई निजको आमाको उपचारको बारेमा कुराकानी गर्न आफ्नो कार्यकक्षमा बोलाएकोले खेमराज थापा जाँदा डा. सन्तोष राईलाई चर्को स्वरमा मान्छेको ज्यानसंग खेलवाड गर्ने भन्दै आक्रोशमा आई बिवाद गरेको भन्ने सुनेको हुँ भन्ने समेत व्यहोरा लेखाएको देखिन्छ । घाइते डा. सन्तोष राईको घाउजाँच केश फारम रिपोर्टमा Type of injury: Simple, Type of weapon/ object used: Blunt force भन्ने समेत व्यहोरा उल्लेख भएबाट जाहेरी ब्यहोरा थप पुष्टि हुन आउँछ ।

अत: माथी विवेचित आधार र प्रमाणहरुबाट मिति २०८१।०७।०३ गते साँझको अन्दाजी १७:३० बजे जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नं. ०१ स्थित जिल्ला अस्पताल सुनसरी इनरुवाको मे.सु. डा. सन्तोष राई बस्ने गरेको कार्यकक्षमा डा. सन्तोष राईले प्रतिवादी खेमराज थापाको आमा गंगामया थापाको किड्नी फेल नभएको मानिसलाई किड्नी फेल भएको भनि अर्को बिरामीको रिपोर्ट हेरेर औषधी लेखिदिई लापरवाही गरेको भन्ने बिषयमा कुराकानी गर्न प्रतिवादी खेमराज थापा लगायत अन्य मानिसहरु समेत डा. सन्तोष राईको कार्यकक्षमा प्रवेश गरेपछी प्रतिवादी खेमराज थापाले डा. सन्तोष राईलाई एक्कासी ठुलो-ठुलो स्वरमा बिवाद गरि कुटपिट गरी शारीरिक चोट पुर्याई निज प्रतिवादी खेमराज थापाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को दफा ३(ग) बमोजिमको कार्य कसुर गरेको पुष्टि हुन आयो ।

अभियुक्तलाई हुनु पर्ने सजायः

प्रतिवादी खेमराज थापालाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को दफा ३(ग) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १५ को उपदफा (१) र (२) (ख) बमोजिम सजाय गरि पाउन मागदावी लिई सक्कल मिसिल र पक्राउ प्रतिवादी खेमराज थापालाई यसै अभियोग साथ पेश गरिएको ब्यहोरा अनुरोध छ ।

सजाय कम वा सजायमा छुटको मागदावी र आधारः- ×

क्षतिपूर्तिको मागदावीः- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को दफा १५ को उपदफा (३) बमोजिम प्रतिवादी खेमराज थापाबाटै जाहेरवाला डा. सन्तोष राईलाई मनासिव क्षतिपुर्ती दिलाई भराई पाउन अनुरोध छ ।

अभियोग दावीसँग सम्वन्धित कानूनी व्यवस्थाः-

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६

दफा ३. हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने:- कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैनः-

(ग) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुऱ्याउन,

१५. कसूर र सजाय : (१) कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ ।

(२) कसैले देहायको कसुर गरेमा कसुरको मात्रा हेरी देहाय बमोजिम सजाय हुनेछः-

 (ख) दफा ३ को खण्ड (ख) वा (ग) बमोजिमको कसुर गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय,

अन्य कुरा खुलाउनु पर्ने भए सो कुराहररु :-

सबुद प्रमाण:–

दशी प्रमाण तथा कसूरसँग सम्बन्धित चीजवस्तुः- जिल्ला अस्पताल सुनसरी इनरुवाको पत्रसाथ प्राप्त पेन्ड्राईभ थान-१

गवाहा:– डा. सन्तोष राई ।

देख्ने/सुन्ने

घटनास्थल मुचुल्कामा बस्ने साक्षीहरुः

जिल्ला सुनसरी कोशी गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला अस्पताल सुनसरीमा प्रशासन अधिकृत पदमा कार्यरत बर्ष ४० को राज कुमार मेहता ।

ऐ. इनरुवा न.पा. वडा नं. २ घर भई सेक्युरिटी गार्ड जिल्ला अस्पताल सुनसरीका इन्चार्ज बर्ष ५६ को नविन राना मगर ।

ऐ. इनरुवा न.पा. वडा नं. १ बस्ने भई जिल्ला अस्पताल सुनसरीमा गार्ड पदमा कार्यरत सम्भु परियार ।

  घटनाविवरण कागज गर्ने मानिसहरुः

जिल्ला सुनसरी कोशी गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला अस्पताल सुनसरीमा प्रशासन अधिकृत पदमा कार्यरत बर्ष ४० को राज कुमार मेहता ।

जिल्ला सुनसरी इनरुवा न.पा. वडा नं. ४ बस्ने पेशा ब्यवसायी बर्ष ४० को जितेन्द्र यादव ।

ऐ. वडा नं. १ बस्ने भई जिल्ला अस्पताल सुनसरीमा गार्ड पदमा कार्यरत सम्भु परियार ।

प्रस्तुत कागजातहरुः

मिति २०८१।०७।०३ गतेको घटनास्थल मुचुल्का कागज पाना-२

ऐ. मितिको जरुरी पक्राउ पुर्जी पाना-१

ऐ. मितिको प्र.ना.नि. दिनेश राजवंशी समेतको प्रतिवेदन पाना-१

ऐ. मितिको स्वास्थ्य परिक्षण पत्र र रिपोर्ट पाना-१

ऐ. मितिको थुनुवा पुर्जी पाना-१

ऐ. ०४ गतेको जाहेरी दरखास्त पाना-२

ऐ. मितिको अनुसन्धान अधिकृत तोकिएको पत्र पाना-१

ऐ. मितिको जाहेरी दरखास्त वा सुचनाको भरपाई पाना-१

ऐ. मितिको अपराध अनुसन्धानकर्ताको आचारसंहिता पाना-१

ऐ. मितिको प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाईएको पत्र पाना-१

ऐ. मितिको घा-जाँच केश फारमका लागि लेखिएको पत्र पाना-१

ऐ. मितिको CCTV फुटेज उपलब्ध गराई दिन लेखिएको पत्र पाना-१

ऐ. मितिको राज कुमार मेहताको घटना बिवरण कागज पाना-२

ऐ. मितिको जरुरी पक्राउ पुर्जी स्विकृत पत्र पाना-१

ऐ. मितिको पहिलो पटक म्याद थप पत्र पाना-२

ऐ. मितिको आम्दानी रसिद र वकालतनामाको कागज पाना-२

ऐ. ४ गतेको च.नं. ५६५ को पत्र पाना १

आदेश पत्र पाना १

ज्ञापन पत्र पाना १

ऐ. मितिको जिल्ला प्रशासन कार्यालय सुनसरीको च.नं. ४८७ मिति २०८१।०७।०४ गतेको पत्रसाथ प्राप्त ज्ञापन पत्र पाना-१

ऐ. मितिको प्रतिवादी खेमराज थापाको घा-जाँच केश फारम रिपोर्ट पाना-२

प्रतिवादी खेमराज थापाको मतदाता परिचय पत्र पाना-१

मिति २०८१।०७।०६ गतेको बयान कार्यको लागि लेखिएको पत्र पाना-१

ऐ. मितिको प्रतिवादी खेमराज थापाको बयान पाना-४

ऐ. मितिको दोस्रो पटक म्याद थप पत्र पाना-२

ऐ. मितिको जितेन्द्र यादवको घटना बिवरण कागज पाना-१

ऐ. मितिको शम्भु परियारको घटना बिवरण कागज पाना-१

ऐ. ०७ गतेको मानिस फेला नपरेको प्रतिवेदन पाना-१

प्रतिवादी खेमराज थापाको औंला छाप रेकर्ड पाना-१

मिति २०८१/०७/०७ गतेको तेस्रो पटक म्याद थप पत्र पाना-३

यसै अभियोगपत्र बाट प्रस्तुत मुद्धाको सुरु कारवाही गरी पाउन सम्मानित अदालत समक्ष सादर अनुरोध छ ।

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ