बेल्जियमको राजदूतमा कोटावालाको निरन्तरता
काठमाडौं। संसदीय सुनुवाई समितिले परराष्ट्र सचिव सेवा लम्सालको नाम बेल्जियमका लागि आवासीय राजदूतमा सर्वसम्मतिले अनुमोदन गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस बमोजिम संसदीय समितिले बेल्जियमका लागि नेपाली राजदूतमा लम्सालको नाम अनुमोदन गरेको हो।
सहसचिव जाने युरोपेली संघको मुख्यालय समेत रहेको बेल्जियममा विशिष्ट श्रेणी (सचिव)लाई सरकारले राजदूत बनाएर पठाउने भएको हो। यसअघि परराष्ट्र मन्त्रालयको सचिव भएपछि संयुक्त राष्ट्रसंघको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि बनाएर पठाउने प्रचलन थियो। उक्त नियोगमा सहसचिव लोकबहादुर थापालाई पठाएर सेवाभन्दा अघिल्ला परराष्ट्र सचिव भरतराज पौड्याल क्यानडाका लागि आवासीय राजदूत बनेर गए। सेवा पनि पौड्याल जस्तै ‘थ्री म्यान मिसन’ रहेको बेल्जियममा राजदूत बनेर जाने भएकी छिन्।
बेल्जियमका वर्तमान राजदूत गेहेन्द्र राजभण्डारी आदिवासी/जनजाति कोटाबाट परराष्ट्रको शाखा अधिकृत, उपसचिव, सहसचिव हुँदै बेल्जियमको राजदूत बन्न सफल भएका थिए। सेवा पनि महिला कोटाबाट परराष्ट्रको उपसचिव, सहसचिव हुँदै सचिवदेखि राजदूत बनेर जाने भएकी छिन्। बेल्जियमबाट एग्रीमो आउनेबित्तिकै सेवा बेल्जियमको राजदूत बनेर जानेछिन्। सेवा जाने भएपछि बेल्जियमका लागि नेपाली राजदूत राजभण्डारी ४ वर्षे कार्यकाल सकेर परराष्ट्र मन्त्रालय फर्किने भएका छन्। तर, उनी फिर्ता भएर आउँदाको पद रिक्त नराखी परराष्ट्र मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत लोक सेवा आयोगमा विवरण पठाएर विज्ञापन गरिसकेको छ। सहसचिवको विज्ञापनलाई आधार मानेर उपसचिवको पनि विज्ञापन गर्नु पर्ने भन्दै परराष्ट्रका केही अधिकृत सर्वोच्च अदालत गएर अन्तरिम आदेश ल्याउन समेत सफल भइसकेका छन्।
परराष्ट्र मन्त्रालयको सचिवमा भने वरिष्ठतम सहसचिव अमृत राई बढुवा हुनेछन्। राई अहिले परराष्ट्र मन्त्रालयको प्रवक्ता समेत हुन्।
क्याटेगोरी : समाचारट्याग : #गेहेन्द्र राजभण्डारी बेल्जियम राजदूत, #परराष्ट्र मन्त्रालय, #सेवा लम्साल
तपाईको प्रतिक्रिया दिनुहोस