पर्साका सिडिओ अर्यालले विभागीय कारबाही हुनुपर्ने गरी के बोलेका थिए?
काठमाडौं। नेपाल चिकित्सक संघले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक रुपमा बोलेको कुरालाई लिएर गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. अनिल विक्रम कार्की र महासचिव सन्जिव तिवारीले गृहमन्त्री लेखकलाई भेटेर सिडिओ अर्याललाई विभागीय कारबाही गर्न माग गरेका छन्।
‘पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक कार्यक्रममा दिएको गैरजिम्मेवारपूर्ण तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आउने किसिमको अभिव्यक्तिका सम्बन्धमा माननीय गृहमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउँदै निज प्र.जि.अ.लाई विभागीय कारबाही गर्न माग गरियो।’, संघका अध्यक्ष र महासचिवले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको फोटो सार्वजनिक गर्दै लेखेको छ।
गत कार्तिक ३० र मंसिर १ वीरगञ्ज भएको उपभोक्ता हित संरक्षण मञ्चको २९ औं साधारणसभामा सम्बोधन गर्दै सिडिओ अर्यालेले चिकित्सकले लापरबाही गरेको एउटा घटना प्रस्तुत गरेका थिए। उनले रुपन्देहीको आम्दा अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको घटनामा नेपाल चिकित्सक संघका अध्यक्ष अनिल कार्कीले चिकित्सक कुट्नेलाई थुन्न भनेको र आफूले त्यसलाई ठाडै अस्वीकार गरेको बताएका थिए।
रुपन्देहीबाट पर्सा सरुवा भएका सिडिओ अर्यालले कार्यक्रममा चिकित्सकका बारेमा लाम्रै प्रवचन दिएको सुनिन्छ। उक्त घटनालाई लिएर तोडफोड मात्र भएछ आफू भएको भए अस्पतालमा आगो नै लगाइदिने थिए समेत भन्न भ्याएका छन्। सिडिओ अर्यालको यो अभिव्यक्तिलाई लिएर नेपाल चिकित्सक संघले गृहमन्त्रीसमक्ष विभागीय कारबाहीको माग गरेको हो।
अर्याल उत्कृष्ट सिडिओका रूपमा समेत पुरस्कृत भएका थिए। रुपन्देहीमा उत्कृष्ट भएका सिडिओ अर्याल आकर्षक मानिने पर्सामा आएर एक अभिव्यक्तका कारण विवादमा परेका छन्। उनले दिएको अभिव्यक्तिलाई लिएर नेपाल चिकित्सक संघले गृहमन्त्री गुहारेको छ। यो घटनाले कुन रूप लिन्छ हेर्न बाँकी छ।
यस्तो थियो सिडिओ अर्यालको अभिव्यक्ति
रुपन्देहीको आम्दा भन्ने अस्पताल छ। एक जना महिला सुत्केरीको बेथा लागेर जानु भयो। उहाँको ५ केजीको बच्चा जन्मियो। आजभन्दा करिब १० महिना अगाडिको कुरा हो। बच्चा जन्मिसकेपछि अस्पतालले के गर्दियो भने त तपाईंको बच्चा अपरेशन ठिक भयो ल ठिकठाक छ ल बधाई छ। छोरा जन्मियो थियो गुल्मी ठूलो डुम्रेका मान्छे हुन् तिनीहरु। अस्पतालले सबै ठिक छ भनेर भन्दियो। उनीहरु मख्ख परेर घर गए। त्यसको आधा घण्टापछि एक लाख मान्छेमा एक जनालाई लाग्दो रहेछ त्यो। अटोमेटिक हिसाबले उनको चाहिँ त्यो पाठेघरमा संकुचन हुँदाखेरि ब्लड सर्कुलेसन बन्द भयो। उनलाई हर्टएट्याक भयो। आमाको मृत्यु भयो। छोरा जन्मियो भनेर एउटा चाहिँ सन्तोषको साहस फेरर घर गएका मान्छेहरुलाई खबर समेत भएन। त्यहाँ बसेका कुरुवाहरुलाई पनि खबर भएन। आम्दा हस्पिटलले के गरिदियो भने त्यो मृतकको चाहिँ शव मर्चरी भ्यानमा राखिदियो र बोलाएर भन्यो तिम्रो मान्छेको मृत्यु भयो। मान्छेको मृत्यु भयो लिएर जाउँ शव। म आज पहिलोचोटी यो विषय तपाईंहरुसामु राख्दै छु। अन्त बोलेको छैन। रुपन्देही हुञ्जेलसम्म बोल्न मिलेन त्यही भएर आज बोले।
त्यसपछि ति मान्छेहरु एकचोटी कल्पना गर्नुहोस् कुन अवस्थामा पुगे होला। उनीहरुमा एक किसिमको आक्रोश आयो सामान्य किसिमको तोडफोड भयो। डाक्टरसाबमाथि अलि-अलि हातपात चाहिँ भएको हो। चिकित्सक संघले उठेर भन्यो डाक्टरमाथि हातपात गर्नेलाई यो स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन लगाएर ५ वर्षसम्म भित्र थुन भनेर मलाई प्रेसर आयो। सार्वजनिक मञ्चबाट भन्दैछु मैले तत्कालीन हाम्रो उपप्रधानमन्त्री गृहमन्त्रीज्यूलाई भने यो ‘केस’मा मान्छे थुन्न सक्दिन। एउटा अस्पतालले तिम्रो बिरामीको अवस्था कम्प्लेक्स हुँदैछ भनेर खबर गर्दाखेरी उसको बिजनेस डुब्छ? समस्या जटिल भएको छ अब के गर्ने भनेर सल्लाह गर्दा सबै सकिन्छ? सरी बचाउन सकेनौं भनेर कान समाउँदा माफ माग्दाखेरी उसको पैसा सकिन्छ? उसको लाइसेन्स क्यान्सिल हुन्छ? मान्छे चाहिँ आधा घण्टा अगाडि ल बधाई छ भनेको चाहिँ आमाको मुत्यु भयो भनेर मर्चरी हाउसतिर शव भ्यानमा शब राखिदिएर तिम्रो लाश लिएर जाउँ भनेर ठाड्ठाडै बोल्दाखेरी मान्छेको रगत उम्लिदैन। ठूलो तपाईंहरुलाई थाहा छ राष्ट्रिय ‘इस्यू’ भयो।
अनिल कार्की हुनुहुन्छ चिकित्सक संघको अध्यक्ष। उहाँले मलाई सीधै फोन गर्नु भयो। यो यी डाक्टर कुट्ने मान्छेलाई तपाईंले थुन्नु भएन भने देशव्यापी आन्दोलन गर्छौं भन्नु भयो। मैले भने एउटा उपभोक्ताको एउटा पीडित उपभोक्ताको पक्षमा तपाईं आन्दोलन गर्नु भयो भने पनि त्यसलाई थेग्न सक्छु कुनै हालतमा हुँदैन। मान्छे थुनिदैन। त्यसपछि त्यसको लगत्तै दुई दिनपछि वार्ता गरेर शव त्यसै थियो। वार्ता गरेर मैले हस्पिटलका साथीहरुलाई त्यहिँ राखेर भने ए बाबा तपाईंले लेखेको अक्षर मैले बुझ्नु पर्छ कि पर्दैन प्रेसक्रिप्सनको अक्षर गड्यौला जस्ता सात ठाउँ बेरिएका अक्षर लेख्ने। अनि मान्छेलाई उपभोक्तालाई दोष लगाउने। तिम्रो अवस्था बिग्रियो तिम्रो मान्छे बचाउन सकेनौं अन्त लाने हो कि भनेर सोध्दिदाखेरी के बिग्रिन्थ्यो? यस्तो यस्तो समस्या भयो मेडिकल भाषामा भएको त्यो शब्द नेपालीलाई जान्ने भाषामा बुझाइदिएको भए के बिग्रिन्थ्यो? त्यसपछि नेगोसिएसन भयो। शव बुझ्ने काम भयो।
त्यसको तीन ३ मा छपियामा एउटा कार्यक्रम राखेर रुपन्देही जिल्लाका सबै स्वास्थ्य संस्थाका प्रमुख र त्यहाँका मेसुहरु राखेर हामीले भन्यौं न्यूनतम हिसाबले यति कुरा पूरा हुनुपर्छ स्वास्थ्य संस्थाले। देखिनेगरी प्रेसक्रिप्सन लेखिनु पर्छ उपभोक्ता हक हितका तपाईं अगुवाहरुले बुझ्नुहोस्। यो विषय तपाईंले उठाउनु भएको छ कि छैन। मैले रुपन्देहीमा लागू गरी प्रेसक्रिप्सन लेख्नुहोस्। बिरामीसँग आएको कुरुवालाई सबै कुरा बताउनुहोस्। अवस्था यस्तो छ काउन्सिलिङ गर्नुहोस्। कुरो बिग्रियो भने बिग्रिदै गयो अवस्था अब के गर्ने रेफर लान्छौं म रेफर दिन्छु भनेर भन्नुहोस्। यी सबै कुरा तपाईंको त्यो तपाईंको ‘प्यासेन्ट’ बुकमा लेख्नुहोस्। त्यति गर्दा पनि तपाईंमाथि हातपात भयो भने हामी ढालझैं भएर निस्कन्छौं। तर ठालु पल्टिएर त्यो बिरामीको मुखमा हेरेर कुरा गर्नु छैन तिम्रो मान्छे मऱ्यो भन्दिदाखेरी हुँदैन तोडफोड? म भए त आगो लगाइदिन्थे धन्न तोडफोड मात्र गरेछन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस