दुर्गा प्रसाईंमाथि आधा दर्जन बढी मुद्दाको तयारी
काठमाडौं। सरकारले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आधा दर्जन बढी मुद्दाको तयारी गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गतको कसूर गर्ने व्यक्ति पक्राउ गरी सिंहदरबार प्रहरी बृत्तमा राखिएका प्रसाईंविरुद्ध आधा दर्जन बढी कसुरमा अनुसन्धान गरेर मुद्दा चलाउने तयारी भइरहेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्ने समेतका भ्रामक समाचारहरू सम्प्रेषण गरी सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री राखी घृणा, द्वैष फैलाउने, अपमान गर्ने किसिमको कार्य गरेको हुँदा निज दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गतको कसूर गर्ने व्यक्ति पक्राउ परेका प्रसाईलाई बुधबार अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका प्रसाईंलाई मंगलबार नै साईबर ब्युरोमा पुऱ्याइएको थियो। उनीमाथि साइबर अपराधका साथसाथै संगठित अपराध, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, किर्ते, ठगी, आपराधिक लाभसहितका आधा दर्जन बढी कसुरमा अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरी स्रोतको भनाइ छ।
हालै काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस पठाउनका लागि सम्बन्धन प्राप्त झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि ‘केस’ छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा समेत म्याद थपेर थप अनुसन्धान गर्ने गरी प्रहरीले तयारी थालेको बुझिन्छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटीले पनि प्रसाईंंविरुद्ध विभिन्न ‘केेस’मा जाहेरी परेको पुष्टि गरे। प्रहरीले कानुन अनुसारको अनुसन्धान र कारबाही गर्ने उनको भनाइ छ । प्रहरीले विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेका प्रसाईंविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्दा ९० दिनसम्म हिरासतमा राख्न पाउँछ। त्यसैले उनीमथि सम्पत्ति शुद्धीकरणको कसुरमा समेत म्याद थपेर ९० दिन हिरासतमा राख्ने सम्भावना बढेको हो।
प्रसाईंविरुद्ध राष्ट्र बैंकमार्फत अर्को मुद्दा लगाउने आधार समेत खोज्न थालिएको छ। प्रसाईंको साथमा रहेका अधिकांश उपकरण र प्रमाण प्रहरीले जफत गरिसकेकाले थुप्रै कुराहरु बाहिर आउने प्रहरीको विश्वास छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस