३ जिल्लाका सिडिओ विवादमा तानिए
काठमाडौं। सुशासन, कानुनको पालना र कार्यान्वय, शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्ने जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारी नै विवादमा तानिन थालेका छन्। पछिल्लो समय काठमाडौं, पर्सा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विवादमा तानिएका हुन्। अहिले काठमाडौंका सिडिओ जयनारायण आचार्य विवाद र चर्चामा छन्। शाखा अधिकृत हुँदा भारतबाट ल्याएर पेस गरेको शैक्षिक प्रमाणपत्र सर्वोच्च अदालतको बृहत्त पूर्ण इजालसले नक्कली भएको ठहर गरेपछि उनी विवादमा परेका हुन्। आचार्यको यहीँ कारण सरुवा हुने सम्भावना बढेको छ।
महोत्तरीका सिडिओ लालबाबु कवारी पनि विवादमा परेका छन्। कवारीको मातहतमा काम गरिरहेका नीयब सुब्बा अशोककुमार यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेपछि सिडिओ समेत शंकाको घेरामा परेका हुन्। सवारी ज्यान कसुर मुद्दामा कृया खर्च तथा क्षतिपूर्ति बापतको रकम लिन जाँदा घुस/रिसवत लिएको भेटेपछि सुब्बा यादवलाई अख्तियारले रंगेहात समातेको हो।
गृह मन्त्रालय स्रोतका अनुसार अहिले सिडिओ कवारीलाई मन्त्रालयले बोलाएको छ। उनी अहिले जिल्ला छाडेर काठमाडौं आएका छन्। कवारी सप्तरीको सिडिओ हुँदा पनि विवादमा तानिएका थिए। त्यसैले गोरखा जिल्लाको सिडिओमा हाजिर हुन पाएका थिएनन्। आफ्नै गृह जिल्ला महोत्तरीको सिडिओ बनेका कवारी आफू मातहतको कर्मचारीलाई घुस रकमसहित अख्तियारले रंगेहात समातेपछि विवादमा तानिएका हुन्।
रुपन्देहीबाट पर्सा पुगेका सिडिओ गणेश अर्याल पनि विवादमा तानिएका छन्। बुटवलको आम्दा अस्पतालमा भएको घटनामा ‘अस्पतालमा आगो लगाइदिन्थे’ भनेर अभिव्यक्ति दिएपछि विवादमा परेका हुन्। सिडिओ अर्याललाई जिम्मेवारीबाट हटाउन नेपाल चिकित्सक संघले गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराइसकेको छ। विवादित सिडिओहरूलाई के गर्ने भन्ने विषयमा गृह मन्त्रालयमा छलफल समेत भइरहेको मन्त्रालय उच्च स्रोतले बतायो।
क्याटेगोरी : समाचारट्याग : #गणेश अर्याल, #जयनारायण आचार्य, #लालबाबु कवारी
तपाईको प्रतिक्रिया दिनुहोस